शुक्रबारदेखि पूर्वको ठूलो व्यापारिक केन्द्र विर्तामोडमा शुरूहुने अन्तर्राष्ट्रिय व्यापार महोत्सवको तयारी पूरा भएको छ।
आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले बुधबार पत्रकार सम्मेलन गरी महोत्सवको ९५ प्रतिशत तयारी पुरा भएको जानकारी दिएको हो। महोत्सव माघ ११ गतेदेखि २३ सम्म सञ्चालन हुँदैछ ।
महोत्सवको आकर्षणका रूपमा माउन्टेन एयरको हेलिकप्टर ल्याइने बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताए।
हेलिकप्टरमार्फत पुष्पवृष्टी गराउँदै महोत्सव उद्घाटन गर्ने आयोजक समितिको तयारी गरेको छ। तीन वटा प्याकेजका रुपमा हेलिकप्टर सञ्चालन गरिने बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम कार्कीले वताए।
हेलिकप्टर मार्फत ५ मिनेटको प्याकेजमा बिर्तामोड अवलोकन गर्न सकिने छ। जसमा विद्यार्थीहरुको सहभागिताको अपेक्षा गरिएको छ । १० देखि १२ मिनेटको प्याकेजमा झापाभित्रै ३६ किलोमिटर उडान गराइनेछ।
आयोजक समितिले बिर्तामोडदेखि ताप्लेजुङस्थित पाथीभरादवीको मन्दिरसम्मका लागि तेस्रो प्याकेजको पनि तयारी गरेको छ। ६ जना सिट क्षमताको हेलिकप्टर महोत्सवको मुख्य आकर्षण हुने आयोजक समितिले जनाएको छ।
महोत्सवले व्यापारलाई अन्तर्राष्ट्रियकरण गर्न कोशेढुंगा सावित हुने आयोजक समितिको विश्वास छ। २ लाखभन्दा बढी मानिस सहभागी हुने अपेक्षा लिइएको महोत्सव आयोजक समितिका संयोजक एवम् बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीले बताए। ‘महोत्सव उद्योगी व्यवसायीको मात्र नभएर समग्र झापाली नागरिकको गौरव बन्ने हामीले विश्वास लिएका छौं,’ शिवाकोटीले भने ।
महोत्सव अवधिमा विभिन्न संघसंस्थाको सहयोगमा आँखा शिविर, दन्त शिविर, छाला रोगसम्बन्धी शिविर, प्राथमिक उपचार सेवा, एम्बुलेन्स सेवा, रक्तदान कार्यक्रमलगायत स्वास्थ्यसम्बन्धी जनचेतनामुलक कार्यक्रम हुनेछन्। त्यसका लागि छुट्टै उपसमिति गठन भएका छन्।
महोत्सव व्यवस्थापन सम्झौता काठमाडौंस्थित विविध एक्सपो कम्पनीसँग भएको छ। बाल उद्यान निमार्ण सम्झौता राजधानी एमुज्मेन्ट राइडसँग गरिएको छ।
महोत्सवका लागि २ सय १० वटा स्टल बुकिङ भएको उपाध्यक्ष पार्वता खरेल विमलीले बताइन्। महोत्सवका दिन स्थानीय संघसस्थाका व्यानरसहित प्रभातफेरि कार्यक्रम गर्ने तयारी छ ।
नेपाल लगायत छिमेकी देशका लगानीकर्ता, उत्पादक तथा वितरक र निर्यातकर्तालाई एउटै मञ्चमा भेला गराउने महोत्सवको मुख्य उद्देश्य हो।
महोत्सवमा बंगलादेश, पाकिस्तान र भारतका प्रदर्शकहरुको पनि सहभागिता रहनेछ। मेलामा राष्ट्रियस्तरका कलाकारले आफ्नो कला प्रस्तुत गर्ने छन्।
जुम्लाको मार्सी चामलदेखि पाकिस्तानको लेदर प्रोजक्टसम्मका उत्पादन महोत्सवमा पाइनेछ। १ करोड ५ लाख रुपैयाँको लागतमा महोत्सव सम्पन्न हुने आयोजक समितिले अपेक्षा गरेको छ।
महोत्सवमा प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र रहने छ।
प्रदर्शनी कक्षमा अलग–अलग परिसर बनाएर अटोमोवाइल्स, बैंक तथा वित्तीय संस्था, मोवाइल इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, दैनिक उपभोग्यका वस्तुहरु, हस्तकला तथा तयारी पोशाक तथा जुत्ता चप्पल प्रदर्शनमा रहनेछन् ।
महोत्सव सफल बनाउन मूल समिति तथा विभिन्न १० वटा उपसमिति बनाइएको छ । महोत्सव स्थलमा सीसी टिभीबाट २४ घण्टा सुरक्षाको व्यवस्था मिलाइएको संघले जनाएको छ ।