पर्यटनको प्रसस्त संभावना रहेको झापाको शिवसताक्षीमा ११ करोड लागतमा वाटरपार्क निर्माण हुनेभएको छ। सताक्षीधाम, दोमुखा, चिल्लागढ पोखरी जस्ता धार्मिक तथा पर्यटकीय क्षेत्र रहेको शिवसताक्षी नगरमा अर्को वाटर किङ्गडम पार्क थपिएपछि नगरवासीमा रोजागरीको अवसर थपिएको भन्दै उत्साहित भएका छन्।
झिलझिलेदेखि ५ सय मिटर दक्षिणमा स्थानीय राजकुमार संग्रौलाले अत्याधुनिक प्रकृतिको वाटर किङ्गडम पार्क प्रालि स्थापना गर्न लागेका हुन्।
निजी स्वामित्तमा रहेको दुई विगाह जग्गा क्षेत्रमा वाटर पार्क निर्माण हुने कम्पनिका सञ्चालक संग्रौलाले बताए। उनका अनुसार चिल्ड्रेन पार्क, वाटर पार्क, पार्टी प्यालेस, सवै उमेर समूहका लागि स्वीमिङ्ग पुल, डान्स वाटर पार्क लगायतका संरचना निर्माण हुने छन्।
जानकारका अनुसार संगौलाले निर्माण गर्न लागेको पानीकै मात्र शुद्ध वाटर पार्क सम्भवत नेपालमै पहिलो पटक निर्माण हुन लागेको हो।
संघीय सांसद एलपि साँवा लिम्वुले एक कार्यक्रमका बिच सो पार्कको सोमबार बिहान शिलान्यस गरेका छन्।
शिवसताक्षी नगरमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन संग्रौलाको योगदान रहने भन्दै सांसद साँवाले राजकुमार संगौला सफल उद्यमी भएको टिप्पणी गरे।
वाटर पार्क अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिने सञ्चालक संग्रौलाले बताए। पार्कमा पानीकै मात्र ८ वटा आईटम हुने छन्। स्वीमिङ्ग पुल, वेभ पुल, स्लाईड का ५ आईटम र सावर डान्स पनि पार्क भित्र रहने छन्।
पानीद्धारा सञ्चालन हुने संरचना निर्माणका लागि भारतीय कम्पनीलाई ठेक्का दिईएको छ भने अन्य संरचनाका लागि विके कस्ट्रक्सनलाई ठेक्का दिईएको छ।
ठेकेदार कम्पनीका अनुसार अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण हुने वाटरपार्क नेपालकै नमुना र नम्बर वान हुने दाबी छ।
वाटर पार्क भित्र दुई वटा भिन्ना भिन्नै आवास सहितको होटल सञ्चालन हुनेछन्। पार्क सञ्चालक संग्रौलाका अनुसार एउटा होटलमा साहाकारी भोजनालय सञ्चालन हुने छ भने अर्कोमा मांशाहारी हुनेछ।
अबको तीन महिनामा संचालन हुने उक्त वाटर पार्कमा ५० जनाले प्रत्यक्ष रोजगारी पाउने छन्।