हवाई सम्पर्कमा संघीय राजधानीसँग जोडियो ‘कर्णाली’


कर्णाली प्रदेश अब संघीय राजधानीसँग सिधा हवाई सम्पर्कमा जोडिएको छ।

आइतबारदेखि प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरस्थित सुर्खेत विमानस्थलदेखि काठमाडौंसम्म सिधा हवाई सेवा सञ्चालनमा आएको छ।

आइतबारदेखि नेपाल एयरलाइन्सले सुर्खेत–काठमाडौं हवाई उडान सुरू गरेको हो। सुर्खेत–काठमाडौं हवाई सेवा नहुँदा यसअघि कर्णालीका नागरिकहरू हवाईजहाजमा काठमाडौं जानुपरेमा नेपालगञ्जको राँझा विमानस्थलबाट जानुपर्ने बाध्यता थियो।

नेपाल एयरलाइन्सले अबदेखि हप्ताको एकदिन आइतबार उडान गर्ने जनाएको छ।

हरेक साताको आइतबार बिहान सवा ७ बजे काठमाडौं–सुर्खेत र बिहान नौ बजे सुर्खेत–काठमाडौं उडान गरिने नेपाल एयरलाइन्सका सुर्खेत स्टेशन म्यानेजर चेतन तिमिल्सेनाले जानकारी दिए। प्रदेश सरकारले कर्णाली–रारा पर्यटन वर्ष सुरू गर्न लागेसँगै भित्रिने पर्यटकहरूलाई लक्षित गरी उडान बढाउन पनि सकिने उनले बताए।

हवाई यात्राका लागि हाल सुर्खेत–काठमाडौं ७ हजार ४ सय रुपैयाँ भाडा तोकिएको छ भने काठमाडौं –सुर्खेत ७ हजार ५ सय रुपैयाँ तोकिएको छ। हाल दुईवटा इञ्जिन भएको ‘वाई १२ ई’ नामक १८ सिटे जहाजले सेवा दिने जनाइएको छ।

यसअघि पनि बुद्ध एयरको ४७ सिटे विमानले सुर्खेत विमानस्थलमा उडान परीक्षण गरिसकेको छ। बुद्ध एयरले आगामी वैशाख १ गतेबाट दैनिक रूपमा सुर्खेत–काठमाडौं नियमित उडान गर्ने जनाएको छ।

हाल सुर्खेत विमानस्थलदेखि डोल्पा, मुगु, जुम्ला, हुम्ला, कालिकोटलगायतका हिमाली जिल्लाहरूमा एउटा इञ्जिन भएको ट्विन–अटर जहाजहरूबाट हवाई सेवा सञ्चालन हुँदै आएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.