भारतीय लगानीकर्तालाइ नेपालमा लगानी बढाउन राणाको आग्रह


उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले भारतीय लगानीकर्ताहरुलाइ नेपालमा लगानी बढाउन आग्रह गरेकी छन्।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री के.पी. शर्मा ओलीको सम्मानमा भारतीय निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरूले नयाँ दिल्लीमा आयोजना गरेको नेपाल–भारत व्यवसायिक फोरम बैठकमा सम्वोधन गर्दै राणाले यस्तो आग्रह गरेकी हुन्।

भारतीय निजी क्षेत्रका प्रतिनिधि संस्थाहरू भारतीय उद्योग वाणिज्य महासंघ, भारतीय उद्योग परिसंघ र एसोचेमले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रमा नेपालको निजी क्षेत्रबाट राणाले नेतृत्व गरेकी छन्।

नेपाल र भारत दुवै प्राकृतिक स्रोत साधन र युवा जनशक्तिले भरिपूर्ण देश रहेकाले भरपुर उपयोग गर्नुपर्नेमा उनले जोड दिइन्। ‘अपार स्रोतहरुको अधिकतम उपयोग मार्फत सर्वसाधारणको जीवनस्तर उठाउन साझा उद्देश्य तथा रणनीतिक लक्ष्य निर्धारण गरी अघि बढ्नुपर्दछ’ राणाले भनिन् ‘भारतले हासिल गर्दै गएको आर्थिक समृद्धिबाट लाभ लिन नेपाल लालायित छ।’

अध्यक्ष राणाले नेपाल भारत बीचको आर्थिक तथा व्यवसायिक सम्बन्धलाई नयाँ शिराबाट अगाडि बढाउनु पर्नेमा जोड दिइन्। दुवै देशका निजी क्षेत्रबीच सुमधुर सम्वन्ध रहेकाले वदलिँदो परिस्थितिमा मिलेर क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा देखा परेका परिवर्तनहरूलाई आत्मसाथ गरी लाभ उठाउन सकिने उनको भनाइ छ।

नेपालका लागि भारतसँगको व्यापार घाटा अत्यन्त चिन्ताको विषय रहेको बताउँदै अध्यक्ष राणाले समृद्धिको चाहनालाई पुरा गर्न भारतीय लगानीकर्ताहरूलाई नेपालमा पर्याप्त लगानी बढाउन आग्रह गरिन्।

नेपालले यतिबेला उर्जा, पूर्वाधार र ठूला उत्पादनमुलक क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी खोजिरहेको उनले बताइन्। उर्जा उत्पादनमा अहिले ठूला परियोजना समेत अगाडि बढेकाले आगामी दिनमा धेरै उद्योगहरू संचालन भई उत्पादन क्षमतामा सुधार आउने अपेक्षामा आफूहरु रहेको राणाको भनाइ छ।

चुनौतीहरूका बीच नेपालमा रहेका भारतीय उद्योग प्रतिष्ठानहरूले धेरै लाभ उठाउन सकेको उदाहरण दिँदै उनले अबको लगानी पनि खेर नजाने विश्वास व्यक्त गरिन्।

प्रधनमन्त्रीको तीन दिने राजकीय भारत भ्रमणका साथ महासंघका अध्यक्ष राणाको नेतृत्वमा महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू उमेश लाल श्रेष्ठ र चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान लगायत सहभागी छन्।

त्यस्तै समितिका सदस्यहरू दिनेश श्रेष्ठ, ज्योत्सना श्रेष्ठ, आनन्द कुमार अग्रवाल वगारिया, भरतराज आचार्य, प्रकाश सिंह कार्की, विजयसिं वैध, विरगंज उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्मा, नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्य, नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नम्वर १ का उपाध्यक्ष राजेन्द्र राउत, व्यवसायी देश बन्धु वस्नेत र महासंघका सहायक निर्देशक अरुण श्रेष्ठ सम्मिलित महासंघको प्रतिनिधिमण्डल भारत भ्रमणमा छ।

भारतमा रहँदा महासंघको प्रतिनिधिमण्डल प्रधानमन्त्रीसँगको औपचारिक समारोहमा सहभागी हुनुको साथै नेपाल भारत बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तारका लागि भारतीय निजी क्षेत्रसँग समेत भेटवार्ता गर्नेछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.