रसिलो महका लागि ज्यानकै बाजी


म्याग्दीका अक्करे भीरहरूमा यतिबेला मह शिकारको याम शुरु भएको छ। मह शिकारीहरू डोरीको सहायताले भीर मौरीको गोला भएको देख्दै डरलाग्दो भीरमा झुण्डिएर मह काढिरहेका छन्। तल बसेर हेर्दा अत्यन्तै त्रास र रोमाञ्चक लाग्ने यो दृश्यले मुटको धड्कन बढाउँछ।

भीर मह खाँदा जति स्वादिलो र रसिलो हुन्छ, यसलाई निकाल्न भने अत्यन्तै जोखिम मोल्नुपर्ने हुन्छ।

म्याग्दीको हिस्तान, चिमखोला, मुदी गुर्जा दोसल्ले, शिखलगायतका गाउँका भीरहरुमा भीरमौरीले गोला लगाएका छन्। तिनै गोलाहरु काट्नका लागि मह शिकारीहरु डोरी (परङ) मा झुण्डिएर मह शिकार गरिरहेका छन्।

बसन्त र शरद ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ। वसन्त ऋतुमा बेशी र शरदमा लेकमा पुगेर भीरमह निकाल्ने गरिन्छ।

मह निकाल्नका लागि भीरको माथिल्लो भाग र तल्लोभागमा दुई समूहमा शिकारीहरु बाँडिएका हुन्छन्। एक समूहले भिरको माथीबाट तल भुईसम्म डोरी (स्थानीय भाषामा परङ) झुन्डाउँछन् भने  भीरको तलपट्टि रहेको अर्को समूहले  मह थाप्ने र स्याहार्ने गर्छन्।

यसरी भीरमा आफ्नो ज्यानको बाजी लगाएर निकालिने महबाट शिकारीहरुले आकर्षक आम्दानी पनि गरिरहेका छन्। स्वास्थ्यलाई एकदमै फाईदाजनक मानिने भीरमहको माग जति स्थानीय बजारमा छ, त्यो भन्दा दोब्बर अन्तर्राष्ट्रिय बजारमा छ । विभिन्न किसिमका औषधि बनाउन यसको प्रयोग बढी भएको पाईएको छ ।

‘महको चाका वरिपरी माहुरी घेरिएर बसेका हुन्छन्, विशेष प्रकारको धुवाँ लगाईदिएपछि मौरी भाग्छन्, त्यतिबेला मह निकाल्ने शिकारीले विशेष ध्यान पुर्‍याउनुपर्छ,’ मह शिकारी अनिल घर्तीले भने, ‘जब परङ मार्फत गएका सिकारीले गोलामा धुँवा झोस्न सुरु गर्छ, माहुरीले टोक्ने डरले वरपरका सबै सिकारी रूख र ओडारमा लुक्छन्। माहुरीहरु अन्यत्रै भागेपछि मात्र उनीहरु बाहिर आउँछन् अनि मह निकाल्न सजिलो हुन्छ।’

मुख्य शिकारीले विशेष प्रकारको हतियार प्रयोग गरि निकालेको मह एउटा भाँडालाई डोरीको सहायताले भुईसम्म ल्याउने गरिन्छ।

‘मह निकाल्न सकियो भने बजारको खासै समस्या हुँदैन, व्यापारीहरु जँगलमै आईपुग्छन्। बजारमा महको प्रतिलिटर दुई हजार रूपैयाँमा जति पनि बिक्री हुन्छ।

‘अन्तर्राष्ट्रिय स्तरमा यसको माग उच्च छ, यहाँबाट कोरियामा धेरै मह जाने गरेको छ, अब यसलाई थप व्यवसायीकरण बनाउँदै लैजानुपर्छ,’ समूहका अगुवा अनिल घर्तिले भने, ‘हामी जिल्लाको अधिकांश ठाउँमा महको शिकार गर्न जान्छौँ, जहाँ मह निकाल्छौं त्यहाँको आमा समूह वा क्लबलाई केही रकम दिन्छौँ अनि उहाँहरुको अनुमतिमा हामीले मह निकाल्छौँ।’

१३ वर्षदेखि मह शिकार गर्दै आएका घर्तिले आफ्नो ५ जनाको समूह रहेको भन्दै आम्दानीको मुख्य स्रोत नै यही भएको बताए। ‘सानो डोरीको सहायताले अडिनुपर्छ, पुरै हातले काम गर्ने हो, त्यसका लागि मुटु दह्रो र हातहरू बलियो बनाउनुपर्छ,’ उनले भने, ‘हामी पनि पुर्खाहरुले गरेको हेरेर सिकेका हौँ।’

यस्तो जोखिम मोलेर निकालेको मह बजारमा १ हजारदेखि १ हजार २ सय रुपैयाँ प्रतिलिटर विक्रि हुने गर्दछ । स्वादिलो,स्वास्थ्यका लागि हितकर र शक्तिवर्धक हुनुका साथै धार्मिक कार्यका लागि पनि प्रयोग हुने भएकाले भीरमहको माग उच्च हुने गरेको मह व्यापारीहरुले बताएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.