संघीय राजधानीसँग सिधा हवाई सम्पर्क, परीक्षण उडान सफल

 कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित विमानस्थलमा अवतरित बुद्ध एअरको ४७ सिटे जहाज ।


कर्णाली प्रदेश र संघीय राजधानी काठमाडौंबीच अब सिधा हवाई सम्पर्क हुने भएको छ। जसअन्तर्गत बुधबार कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित विमानस्थलमा बुद्ध एअरको ठूलो विमानले परीक्षण उडान गरेको छ। बुधबार ४७ सीटे ‘नाईन एन एआइएन’ विमान अवतरण गरिएको हो।

संघीय राजधानी र प्रदेशबीचको सिधा हवाई सम्पर्कको विषय कर्णाली प्रदेशको सरकार विस्तार हुनु अघिदेखि विभिन्न समयमा उठ्दै आएको थियो । प्रदेश सरकारले पूर्णता पाएपश्चात मुख्यमन्त्री महेन्द्रबहादुर शाही काठमाडौं पुगेर यस विषयमा छलफल गरेका थिए ।

अवतरणका लागि यहाँको भौगोलिक अवस्थाको अध्ययन तथा उडान र अवतरणका क्रममा आउन सक्ने समस्याका बारेमा बुझ्न परीक्षण उडान गरिएको हो।

बुधबार बिहान उक्त विमान उडान भरेर दुई जना क्याप्टेनसहित १६ जनाको टोली वीरेन्द्रनगर आइपुगेको थियो। क्याप्टेनहरु नन्जनकुमार शर्मा र आङ्गेलो शेर्पाले विमान सुर्खेत अवतरण गराएका हुन्। वीरेन्द्रनगरमा तीन चक्कर लगाएर अध्ययन समेत गरेको थियो । क्याप्टेन शर्माले कम्तिमा पनि ४० जना यात्रुहरु काडमाडौंबाट ल्याउन र लैजान सकिने बताएका छन्।

‘२५ डिग्री भन्दा कम तापक्रम भए हामी ४७ जनालाई सहजै ल्याउन सक्छौं,’ सफल परीक्षण उडानपश्चात उनले भने, ‘तर ३० डिग्री भन्दा माथि तापक्रम भए ४० जनाको हाराहारीमा उडान भर्न सकिन्छ।

नागरिक उड्डयन प्राधिकरण सुर्खेतका प्रमुख दिनेश पन्तले उक्त जहाज अवतरण गराउन विमानस्थल तयार रहेको प्रतिक्रिया दिए। त्यसका लागि आवश्यक भौतिक पुर्वाधार तयारी अवस्थामा रहेको र थप पुर्वाधारहरुको विकास गर्र्दै लेजाने तयारी भएको उनले बताए । सुरक्षाका हिसाबले समेत विमानस्थल अब्बल रहेको प्रमुख पन्तले बताए ।

सुर्खेत विमानस्थलमा  १२३५ मिटर लामो रन–वे छ । जसको चौडाई ३० मिटर छ।

२०७५ वैशाख १ गतेदेखि सुर्खेत–काठमाण्डौँ नियमित उडान हुने जनाइएको छ

बुद्ध एअरका निर्देशक खगेन्द्र बस्नेतका अनुसार सुर्खेतदेखि काठमाडौंको भाडादर ६ हजार ५ सयदेखि ११ हजार ५ सयसम्म तोकिने छ।

बुधबार कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला मन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावललगायतले विमान चालक टोलीलाई विमानस्थलमा स्वागत गरेका थिए।

बुद्ध एअरको यो उडानले कर्णाली प्रदेशको राजधानीसँग प्रत्यक्ष सम्बन्ध जोडन र पर्यटनको विकासमा टेवा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने आर्थिक मामिला मन्त्री ज्वालाले बताए । निरन्तरका उडानले पर्यटकको चाप बढ्ने र त्यसबाट कर्णाली प्रदेशको आयस्रोतमा समेत वृद्धि हुने अपेक्षा उनको छ ।

होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष तर्कबहादुर शाहीले बुद्ध एअरको विमान सफल अवतरण भएकोमा सबैलाई बधाई दिए । उनले संघीय राजधानीसंगको सिधा हवाई सम्पर्कले कर्णाली प्रदेशको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.