सुपारीको पातबाट प्लेट

सुपारीका पातबाट बनेको प्लेट। तस्बिर सौजन्यः लिफ प्लस


पुरानो बानेश्वरस्थित गोल्डेन गेट क्याम्पसमा काठमाडौंका बिधान पोखरेल, हेटौंडाका कोबित बानियाँ र दाङका स्वाभिमान आचार्यको भेट भयो।

यो भेट गराएको थियो आल्मोनाई एसोसिएसनले। आल्मोनाई कलेज सकेर गएका विद्यार्थीको पुनः भेटघाट गराउने संगठन हो। एकै ब्याचका नभए पनि स्वाभिमान, कोबित र बिधानले कक्षा १२ गोल्डेन गेटमा पढेका हुन्। पछि तीनै जनाले इञ्जिनियरिङ पढे।

स्वाभिमान मेकानिकल, बिधान इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स र कोबित इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इञ्जिनियर हुन्।

‘हामी सबैले आ–आफ्नो इन्जिनियरिङ कन्सलटेन्सी खोलेका थियौं। कमाई राम्रै थियो। युरोप, अमेरिका जान नसक्ने पनि थिएनौं। सबै चिज भएर पनि हामी अधुरा जस्ता थियौं,’ स्वाभिमानले सेतोपाटीसँग भने।

तीन जनाको यही अपूरो अनुभूतिले भेट बाक्लिँदै गएको उनी बताउँछन्।

‘आफू र परिवारको निम्ति कमाउने मात्र नभएर समाजको हितमा काम गर्ने सोच थियो,’ उनले भने, ‘एक दिन खाजा खाँदै गर्दा त्यो सोचले बाटो देख्यो।’

‘टपरी। खाजा पसल, भोजहरूमा टपरी निकै प्रयोग हुन्छ। तर, त्यसमा भएको सिन्काका कारण झन्झटिलो हुन्छ भन्ने हामीले अनुभूति गर्यौं,’ स्वाभिमानले भने।

आफूहरूलाई मात्र त्यस्तो लागेको हो कि अरूलाई पनि भन्ने उनीहरूले बुझ्न जरूरी थियो। दिमागमा बत्ती बलेपछि त के चाहिन्थ्यो, तीन युवा टपरी कारखाना धाए। त्यस्ता टपरी चलाउने होटलहरूमा पुगे। खाने मान्छेलाई सोधे।

‘धेरै सोधखोज र अनुभव सुनेपछि निष्कर्ष निकाल्यौं। सिन्काकै कारण यस्ता टपरी विदेश निर्यात हुन सकेको छैन। चुहिने, एउटा हातले समातेर खान नमिल्ने जस्ता कमजोरीका कारण मान्छेले रुचाउँदैनन्,’ स्वाभिमानले सम्झँदै भने।

अब यही समस्या हल गर्नुपर्छ– तीनै जनाले निर्णय गरे।

‘कसरी?’

‘हामीले धेरैभन्दा धेरै मान्छेसँग सुझाव माग्यौं। इन्टरनेट चहार्यौं। सालको पातबाट बन्ने टपरी अनुसन्धान गर्यौं। सिन्का नभए कसरी जोड्ने भन्ने सोच्यौं। यही क्रममा अर्को उपाय फुर्यो। सालको पात नै प्रयोग नगर्दा के होला?,’ स्वाभिमानले भने।

वैकल्पिक पातबाट कसरी टपरी बनाउने? तारान्तर इन्टरनेटमा खोज्न थाले। फेला पारेः भारतको तामिलनाडुमा सुपारीको पातबाट टपरी/प्लेट बनाइन्छ।

सुपारीका पातबाट बनेको प्लेट। तस्बिरः लिफ प्लस

अब के चाहियो। कोबित र स्वाभिमान हुँइकिए तामिलनाडु।

त्यहाँ उनीहरूले सुपारीका पातबाट प्लेट बनाएको हेरे। बनाउने मेसिन वितरकलाई भेटे। उनले सहयोग गर्ने बताए।

तरिका त थाहा भयो। अब कच्चा पदार्थ खाँचो पर्यो।

झापा, मोरङ र सुनसरी लगायतका पूर्वी जिल्ला सुपारी खेतीका निम्ति प्रसिद्ध छन् भन्ने उनीहरूलाई थाहा थियो। अध्ययनपछि त्यहाँ करिब ३६ लाख सुपारीका बोट भएको थाहा पाए। एउटा बोटबाट वर्षमा ८ देखि ९ वटा पात झर्छ। सबैतिर गरी वार्षिक ३ करोडभन्दा धेरै पात खेर गइरहेको हिसाब गरे। यस्ता पात गाईवस्तुले खाने कुँडो पकाउन बाहेक अरूमा उपयोग हुँदैन।

उनीहरु झापा हानिए। किसानसँग पात किन्छौँ भने। खेर गइरहेको पात बिक्री हुने भएपछि किसानले पनि खुसी हुँदै दिने भए।

सबै काम भयो। अब झापाबाटै सहयोग गर्ने कोही चाहियो।

यहीँनिर आइपुगे हरि दाहाल।

‘हामीलाई झापाबाटै सहयोग गर्ने साथी चाहिएको थियो। म एक प्रोजेक्ट सिलसिलामा झापा पुगेकोबेला हरि दाइसँग भेट भएको थियो। उहाँ सुपारी कृषक हुनुहुन्छ,’ स्वाभिमानले भने।

तीन जनाको टोली अब ४ जनाको भयो।

बायाँबाट दायाँ- स्वाभिमान आचार्य , विधान पोखरेल, कोबित बानियाँ र हरि दाहाल। तस्बिर सौजन्यः स्वाभिमान

‘म पहिलेदेखि नै कृषि प्रवर्द्धन अभियानमा छु। झन् इञ्जिनियरहरूले नै कृषि प्रवर्द्धनको काम गर्ने भनेपछि हामीले नगर्ने कुरै आएन,’ हरिले भने, ‘यो त कृषकलाई प्रत्यक्ष फाइदा हुने काम हो।’

अनि सुरु भयो– लिफ प्लस प्राइभेट लिमिटेड।

हरिकै नेतृत्वमा झापाका तीन ठाउँमा पात जम्मा गर्ने स्थान बनाइयो। कार्मचारी पनि राखे। उनीहरूले कृषकबाट पात किन्ने र लिफ प्लसलाई बेच्ने सहमति भयो।

यता स्वाभिमान, बिधान र कोबितले ८ लाख रुपैयाँ जुटाए। भारतबाट मेसिन ल्याए।

‘हेटौंडामा कारखाना खोल्यौं। वातावरण सम्बन्धि अरु पनि काम गर्नुपर्छ भनेर यसलाई (रिसर्च एण्ड प्रोडक्सन सेन्टर) को रुपमा अघि बढाइरहेका छौं,’ स्वाभिमानले भने।

कोबितले हेटौंडा कारखानाको जिम्मा लिएका छन्। बिधान किसानसँग भेट्न झापा छन्। हरि बजार व्यवस्थापनमा खटिएका छन् भने स्वाभिमान काठमाडौं अफिस सम्हालिरहेका छन्।

कारखानामा काम गर्ने सबै महिला कर्मचारी छन्।

‘काम जोखिम छैन। दिदीबहिनीहरूले रोजगार अवसर पाउनुहोस् भन्ने हाम्रो सोचाइ हो,’ उनले भने।

हेटौंडा कारखानामा कर्मचारी काम गर्दै । तस्बिरः लिफ प्लस

कारखाना र अफिस खोल्ने सबै काममा उनीहरूले ३३ लाखभन्दा बढी खर्च गरिसकेका छन्। पात गुणस्तर हेरेर किसानलाई एउटा पातको डेढ देखि २ रुपैयाँसम्म दिन्छन्।

किसानले खसेका पातका झुत्राझाम्रा फालेर घरमै जम्मा गरेर राख्छन्। सयवटा जति भएपछि संकलन गर्ने मान्छे बोलाउछन्। थोरै हुनेको हकमा १०–२० वटा हुने बित्तिकै संकलन गर्न जाने व्यवस्था भएको हरिले जानकारी दिए। संकलन केन्द्रमा पात ल्याएपछि लाई ‘सेड हाउस’ मा सुकाएर ढुसी नलाग्ने गरी भण्डारण गरिन्छ। ती पात हेटौंडा कारखाना ल्याइने स्वाभिमान बताउँछन्।

उनका अनुसार प्लेट बनाउनुअघि १५ मिनेट पानीमा भिजाइन्छ। त्यसपछि कुनै केमिकल नहाली ब्रसले सफा गरिन्छ। ब्रस गर्न सकेपछि १ देखि २ घण्टासम्म पानी सुक्न दिइन्छ।

उक्त पात प्लेट बनाउने मेसिनमा राखिन्छ। जसले २ सय ५० डिग्री सेन्टिग्रेड तापक्रममा बेस्सरी थिचेर पातलाई प्लेट आकार दिन्छ। त्यो तापक्रमले पातमा भएका किटाणु पनि मर्ने स्वाभिमानको भनाइ छ।

अहिले ५ प्रकारका प्लेट उत्पादन गरिरहेका छन्। सबै प्लेटको नाम छ– तिलिचो, एभरेष्ट, राइनो, डाँफे र गुराँस। अहिले २० हजार वटाको परीक्षण उत्पादन गरी भण्डारण गरिएको छ। खण्डे थाल र काँटा, चम्चा पनि उत्पादन गर्ने उनीहरूको योजना छ। प्लेट बनाउँदा उभ्रिएको पातबाट काँटा र चम्चा बनाइने उनले जानकारी दिए। काम सफल भए बर्सेनी खेर जाने पातबाटै किसानले ५ देखि ६ करोड रुपैयाँ पाउने र २ हजारभन्दा बढीले रोजगारी पाउने उनको दावी छ।

‘अहिले महिनामा करिब ३० हजार प्लेट उत्पादन गरिरहेका छौं। वार्षिक ६ करोड वटा बनाउने योजना हो। पातको संख्या बढे प्लेट उत्पादन पनि बढ्छ,’ पात व्यवस्थापन जिम्मा लिएका हरिले थपे। सुपारी धार्मिक रुपमा चोखो मानिने भएकाले विवाह, ब्रतबन्ध, श्राद्ध जस्ता काममा पनि प्रयोग गर्न सकिने उनको भनाइ छ।

प्लेट बनाउन संकलन गरिएको पात। तस्बिरः लिफ प्लस

‘अहिले व्यवसायिक बिक्री सुरु भइसकेको छैन। हामी चारै जना विभिन्न होटल तथा रेष्टुरेन्टमा प्लेटका नमुना पुर्याइरहेका छौं,’ उनले भने, ‘क्यानडा, बेलायतका रेष्टुरेन्टमा पनि कुरा गरिरहेका छौं।’

बालुवाटारस्थित क्याफे दि टल्लिनका संचालक सुधांशु बिक्रम राणाले यी प्लेट प्रयोग गरिसकेका छन्। उनले यो निकै सहज भएको बताए।
‘प्लेट प्रयोग गर्यौं। बजारमा पाइने अरू टपरीभन्दा निकै गुणस्तरीय छ। सहज पनि। कम्पनीसँग मूल्यको कुरा मिल्यो भने हाम्रो रेस्टुरेन्टको ‘स्पेशल आइटम’ यसैमा दिने सोच बनाएका छौं,’ राणाले सेतोपाटीसँग भने।

कति पर्छ मूल्य ?

प्लेटका गुणस्तर आधारमा ‘गोल्ड र प्रिमियम’ छुट्याइएको स्वाभिमान बताउँछन्।

उनका अनुसार एक प्याकेटमा २५ वटा हुन्छन्।

पाँच इन्च गोलाइ भएको गुराँस गोल्ड प्लेटको  १ सय २० र प्रिमियमको २ सय रुपैयाँ तोकिएको छ।

छ इन्च गोलाइ भएको डाँफे गोल्डको  १ सय ५० र प्रिमियमको २ सय ५०‍ रुपैयाँ तोकिएको छ।

आठ इन्च गोलाइको‍ राइनो गोल्डको २ सय र प्रिमियमको ३ सय ७५ पर्छ।

दश इन्च तिलिचो गोल्डको ३ सय र प्रिमियमको ५ सय रुपैयाँ पर्छ।

यी प्लेटमा कम्पनीले अर्को सुविधा पनि दिएको छ– ब्रान्डिङ। कुनै होटल वा रेष्टुरेन्टको मागअनुसार उनीहरूको कम्पनीको नाम त्यसमा प्रिन्ट गरिदिने स्वाभिमानले जानकारी दिए।

प्रयोग भइसकेका प्लेट के गर्ने भन्ने पनि उनीहरू अनुसन्धान गरिरहेका छन्। ‘पुनः प्रयोग गर्न त मिल्दैन, तर पुनः प्रशोधनबारे अध्ययन गरिरहेका छौं,’ स्वाभिमानले भने, ‘प्रयोग भएका प्लेट र कारखानाबाट निस्केका पातका टुक्रा ब्रिकेट वा भुसेचुलो लगायतमा प्रयोग गर्न मिल्छ कि भनेर अध्ययन गरिरहेका छौं। निश्चित भने छैन,’ उनले भने।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.