गाइभैँसीलाई खुवाउने चकलेट र राशन


नेपाली बजारमा युरोपियन पद्धतिलाई पछ्याउँदै गाईभैसीलाई खुवाउने चकलेट उत्पादन हुन थालेको छ।  मोरङको झोराहाटमा रहेको कृष्णदाना उद्योगले गाईभैसीलाई खुवाउने चकलेट उत्पादन गरी बजारमा ल्याएको हो।

गाईभैसीलाई खुवाउने यस चकलेटलाई युरिया मोलासिस मल्टी न्युट्रिएन ब्लक भनिन्छ।

बजारमा यो चकलेट आधा किलो र एक किलोमा उत्पादन हुन्छ।एक किलो चकलेटको मुल्य प्रतिकेजी १ सय १० रुपैयाँ तोकिएको छ।

गाइभैसीका साथै बाख्राहरुलाई पनि यो खुवाउन सकिने उद्योगका संचालक रोमन कट्टेलले जानकारी दिए। ‘गाइबस्तुलाई अतिरिक्त खुराकीका लागि हामीले चकलेट उत्पादन गरेका हौं,’ कट्टेलले भने ।

यसमा पीना, क्याल्सियम, आइरन, भुस मिसाइएको हुन्छ। उद्योगले अहिले प्रतिदिन २० टन चकलेट उत्पादन गर्दै आइरहेको छ।साथै उद्योगले चकलेटसँगै गाइबस्तुलाई खुवाउने राशन पनि उत्पादन गरेको छ।

टोटल मिक्स राशन दाना भएको र नभएको गरी २ थरी उत्पादन गरिएको कट्टेलले बताए।

दाना भएको राशन प्रतिकिलो २५ रुपैयाँ र नभएको १७ केजी रुपैयाँमा पाइने उनले बताए।

‘यो राशन खुवाएपछि गाइबस्तुलाई पानी मात्र खुवाए पुग्छ,’ उनले भने, ‘घाँस, परालको आवश्यकता पर्दैन ।’ परालमा क्याल्सियम, आइरन मिसाएर त्यो बनाइएको हुन्छ। यो राशन र चकलेट खुवाउँदा गाइबस्तु स्वस्थ्थ रहने, दुध बढी दिने उनले दाबी गरे ।

‘हाम्रो आफ्नै गाइफार्ममा गरिएको परीक्षणमा यस्तो पाइयो ,’ उनले भने। गत वैशाख महिनामा ३ करोड लगानीमा स्थापना भएको उद्योग ३ विगाह क्षेत्रफलमा फैलिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.