नेपाल क्लियरिङ्ग हाउसले ४० प्रतिशत लाभांश दिने


नेपाल क्लियरिङ्ग हाउसको छैठौं वार्षिक साधारण सभाले लगानीकर्तालाई कुल ४० प्रतिशत लाभांश दिने निर्णय गरेको छ। कम्पनीले २० प्रतिशत बोनस तथा २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी १८ करोड हुनेछ। कम्पनीमा १० प्रतिशत नेपाल राष्ट्र बैंकको, ८० प्रतिशत बैंक तथा वित्तीय संस्थाहरुको र १० प्रतिशत एससिटी (स्मार्ट च्वाइस टेक्नोलोजिज)को सेयर स्वामित्व रहेको छ। सर्वसाधारणमा सेयर जारी नभएकाले यो लाभांशको निर्णय उनीहरुका लागि भने अर्थहीन बनेको छ।

साथै सभाले वाणिज्य बैंक समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्न उमंग शर्मा (प्रतिनिधि सिटिजन्स बैंक), अनुपमा खुञ्जेली (प्रतिनिधि मेगा बैंक) र उज्जवल राजभण्डारी (प्रतिनिधि हिमालयन बैंक)लाई निर्विरोध निर्वाचित गरेको छ।

त्यस्तै विकास बैंक र वित्त कम्पनी समूहहरुबाट संचालक समितिमा प्रतिनिधत्व गर्न प्रद्युम्न पोखरेल (प्रतिनिधि मुक्तिनाथ विकास बैंक) र सुनील पन्त (प्रतिनिधि आइसीएफसी फाइनान्स) लाई निर्विरोध निर्वाचित गरेको छ।

गत आवमा कम्पनीले संचालन नाफा २१ करोड १० लाख र खुद नाफा १३ करोड १९ लाख आर्जन गरेको छ।

हाल ८३ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ३ हजार १८० शाखाहरुबाट खिचिएका चेकहरु कम्पनीको एनसिएचएल इसीसी प्रणालीमार्फत राफसाफ हुँदै आएको छ। गत आर्थिक वर्षको तुलनामा आ.व. २०७३/७४मा चेक राफसाफमा ३६ प्रतिशतले वृद्धि भई कुल ९९ लाख ५१ हजार २६९ चेक राफसाफ भएको छ।
उक्त आवमा दैनिक औसत २३ अर्ब रकम बराबरको राफसाफ हुने गरेको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.