साउनमा महँगीको वृद्धिदर घट्यो, काठमाडौंमा सबैभन्दा कम


नयाँ आर्थिक वर्षको पहिलो महिना साउनमा महँगीको वृद्धिदर घटेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो महिनाको वित्तीय स्थितिअनुसार असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फिती २. ७ प्रतिशत रहेकोमा साउनमा यो घटेर २.३ प्रतिशतमा कायम भएको छ।

अघिल्लो वर्षको तुलनामा भने यो ज्यादै न्यून हो। अघिल्लो वर्षको साउनमा यो दर ८. ६ प्रतिशत थियो। साउनको मुद्रास्फितिदर छिमेकी राष्ट्र भारतको भन्दा १. १ प्रतिशत कम भएको राष्ट्र बैंकले उल्लेख गरेको छ।

गत वर्षको आधार मूल्य उच्च रहेकाले समीक्षा अवधिमा मुद्रास्फितीमा कमी आएको राष्ट्र बैंकले जनाएको छ।  क्षेत्रगत रुपमा हेर्दा सबैभन्दा धेरै मुद्रास्फिती अर्थात मूल्यबृद्धि हिमालमा ५.६ प्रतिशत रहेको छ भने काठमाडौंमा सबैभन्दा कम १. ३ प्रतिशत रहेको छ। यो दर तराईमा २.८ प्रतिशत र पहाडमा २. २ प्रतिशत रहेको छ।

खाद्यतर्फको मुद्रास्फितिदर १ प्रतिशत ऋणात्मक रहेको राष्ट्र बैंकले जनाएको छ। जवकि गत वर्षको यस अवधिमा यो दर ९. ३ प्रतिशत धनात्मक थियो।

साउनमा गैर खाद्य मुद्रास्फिति दर ४. ९ प्रतिशत रहेको छ। गत वर्ष यस अवधिमा यो दर ८.१ प्रतिशत थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.