१७ अंकले नेप्से उक्लिँदा विशाल बजारका लगानीकर्ताले सबैभन्दा धेरै कमाए


नेप्से परिसूचक आइतबार १७ अंकले उक्लिएको छ। १७. ६३ अंकको वृद्धिपछि १५४७ अंकमा नेप्से अडेको छ। यस दिन कारोबार रकममा पनि सुधार आएको छ।

१५९ कम्पनीको ७८ करोड ३७ लाखको सेयर किनबेच भएको छ। बजारको पुँजीकरण १७ खर्ब ९६ अर्ब कायम भएको छ।

बैंकिङ, विकास बैंक, व्यापार, जलविद्युत, बिमा र उत्पादन समूह बढेका छन् भने होटल, फाइनान्स र अन्य समूह घटेका छन्।

बैंकिङ २५, व्यापार १८, विकास बैंक ८, जलविद्युत ४, बिमा ४३ र उत्पादन समूह १८ अंकले बढेका छन्। होटल १४, फाइनान्स १ तथा अन्य समूह ०.५ अंकले घटेका छन्।

नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै रकमको कारोबार भएको छ। कम्पनीको संस्थापकतर्फको १७ करोड ८५ लाख तथा साधारणतर्फको ३ करोड ८० लाखको कारोबार भयो। कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक पनि कारोबारका आधारमा अगाडि रहे।

विशालबजार कम्पनीका लगानीकर्ताले नै यस दिन पनि सबैभन्दा धेरै मूल्य कमाए। कम्पनीको मूल्य प्रतिकित्ता २२३ अर्थात ९.९ प्रतिशतले बढेर २४५६ कायम भएको छ। कम्पनीको सेयर डिम्याट नहुँदा लामो समयसम्म कारोबार नभएकोमा तोकिएको परिणाममा सेयर डिम्याट भइसकेपछि हालै कारोबार खुला भएको हो। जसले गर्दा मूल्य उचालिएको छ।

प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले ९. ७ प्रतिशत नाफा कमाए। मिथिला लघुवित्तका लगानीकर्ताले ५. ७ प्रतिशत मूल्य गुमाए।
यसैबीच तिनाउ विकास बैंकका लगानीकर्तालाई बैंकले १० प्रतिशत बोनस तथा ५ प्रतिशत नगद लाभांश दिने भएको छ। मञ्जुश्री फाइनान्सले एक सय बराबर ५ कित्ताका दरले हकप्रद जारी गर्ने भएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.