एनआईसी एसियाको बोनस सेयर पारित, अध्यक्षमा तुलसीराम अग्रवाल


एनआईसी एसिया बैंकको २०औं वार्षिक साधारण सभाले २० प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गरेको छ।

आज बबरमहलमा सम्पन्न सभाले चुक्ता पूँजीको २० प्रतिशत बोनस र सोमा लाग्ने कर प्रयोजनका लागि ७ करोड ४ लाख बराबरको लाभांश पारित गरेको हो।

सभाले बैंकको प्रबन्धपत्र र नियमावलीलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार हुने गरी संशोधन गर्ने, बैंकको अधिकृत पूँजी, जारी पूँजी र चुक्तापूँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पनि पारित गरेको छ।

संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकमा जगदीश प्रशाद अग्रवाल, तुलसीराम अग्रवाल र रामचन्द्र संघई नियुक्त भएका छन्। त्यस्तै सर्वसाधारण शेयरधनीको तर्फबाट राजेन्द्र प्रसाद अर्याल, विनोद कुमार प्याकुरेल र आदित्यकुमार अग्रवाल सर्वसम्मतिले चयन भएका छन्। स्वतन्त्र सञ्चालकमा गणेशमान श्रेष्ठलाई नियुक्त गरिएको बैंकले जनाएको छ।

साधारण सभालगत्तै बसेको नवनिर्वाचित सञ्चालक समितिको बैठकले सञ्चालक समितिको अध्यक्षमा तुलसीराम अग्रवाललाई सर्बसम्मतीले चयन गरेको छ। अध्यक्ष अग्रवालले आजैदेखि पदभार ग्रहण गरेका छन्।

बैंकका हाल करिब ५ लाख ७० हजार भन्दा बढी निक्षेप ग्राहक, २८ हजार भन्दा बढी कर्जा ग्राहक र ३ लाख ३० हजार भन्दा बढी डिजिटल बैंकिङ्ग ग्राहकलाई १२५ वटा शाखा तथा विस्तारित काउन्टर मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.