१२ अंकले उक्लियो नेप्से


बुधबार सेयर बजारको परिसूचक करिब १२ अंकले बढेको छ। ११. ९ अंकले बढेर नेप्से १५६६ अंकमा कायम भएको छ। कारोबार रकम पनि सन्तोषजनक देखिएको छ। कुल १६४ कम्पनीको ८३ करोड ४३ लाखको सेयर किनबेच भएको छ।

यस दिन उत्पादनबाहेकका सबै समूहहरु बढेका छन्। सो समूह ४८ अंकले घटेको छ। बैंकिङ ११, होटल २२, विकास बैंक २०, जलविद्युत ३, फाइनान्स १, बिमा ५५ र अन्य समूह ९ अंकले बढेका छन्।

यस दिन कारोबारका आधारमा नेपाल इन्भेष्टमेन्ट बैंक अग्रस्थानमा रह्यो। कम्पनीले ४० प्रतिशत लाभांशको घोषणा गरेपछि कम्पनीको कारोबार बढेको हो। उसले आजै १५ प्रतिशत बोनस तथा २५ प्रतिशत नगद लाभांशको घोषणा गरेको हो। कम्पनीको ७ करोड ४ लाखको कारोबार भयो भने मूल्य बढेर प्रतिकित्ता ७६३ कायम भएको छ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड २४ लाखको कारोबार भयो। नेपाल लाइफ इन्स्योरेन्स, नविल बैंक र छिमेक लघुवित्त विकास बैंक कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र रहे।

महिला सहयात्रा माइक्रोफाइनान्स, आरएसडिसी लघुवित्तका लगानीकर्ताले १० प्रतिशत मूल्य कमाए। समग्र बजार बढ्दा पनि सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीम र ङादी पावरको मूल्य ८ प्रतिशतले घटेको छ। समूहगत उच्च कारोबार हुनेमा यस दिन पनि वाणिज्य बैंक अग्रस्थानमा रह्यो।

यसैबीच नबिल बैंकको साधारणसभाका लागि भदौ २७ गते बुक क्लोज हुने भएको छ। बैंकले ३० प्रतिशत बोनस तथा १८ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ। काष्टमण्डप, काक्रेविहार, महाकाली विकास बैंक तथा पश्चिमाञ्चल फाइनान्सलाई एक्वीजिसन गरेपछि कुमारी बैंकको १ करोड ३५ लाख ३९ हजार ३१० कित्ता सेयर सूचीकृत भएको छ।

नेको इन्स्योरेन्सको साधारणसभाका लागि भदौ २९ गते बुक क्लोज हुने भएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.