सेयर बजारमा होटल तथा पर्यटन क्षेत्रका निकै कम कम्पनी सूचीकृत छन्। यो समूहमा सात वटा कम्पनी मात्र छन्।
आज हामी यी सातमध्ये दुइटा केबलकार कम्पनीको कुरा गर्दैछौं।
मंगलबार समग्र बजार घट्दा यी कम्पनीको सेयर मूल्य बढेको छ। यी हुन् — कालिन्चोक दर्शन लिमिटेड र चन्द्रागिरि हिल्स लिमिटेड।
२०७९ चैतबाट सेयर कारोबार भएको कालिन्चोक दर्शन लिमिटेडको सेयर भाउ एक वर्ष नपुग्दै १३८० रूपैयाँसम्म पुग्यो। यही मूल्य यसको हालसम्मको उच्च मूल्य बन्न पुगेको छ।
मंगलबार कालिन्चोकको सेयर मूल्य १० प्रतिशत बढेर सर्किट ब्रेक लागेको छ। भाउ ८१ रूपैयाँ बढेर ८९१ रूपैयाँ पुगेको हो।
यसले चालु आर्थिक वर्ष २०८२–८३ को दोस्रो त्रैमास (साउनदेखि पुस) सम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेको छ।
कालिन्चोकको नाफा साढे दुई गुणा बढेको छ। यो अवधिमा यसले एक करोड १९ लाख रूपैयाँ नाफा कमाएको हो। यसअघि यस्तो नाफा ४७ लाख रूपैयाँ थियो।
व्यवसायबाट हुने आम्दानी १४ प्रतिशतले बढेको छ। यसअघि यस्तो आम्दानी तीन करोड आठ लाख रूपैयाँ रहेकामा यस पटक तीन करोड ५४ लाख रूपैयाँ छ। कर्मचारी खर्चबाहेक अन्य खर्च घटाएपछि नाफामा गुणात्मक वृद्धि देखिएको हो।
गत असोजमा भने कालिन्चोक ३३ लाख रूपैयाँ नोक्सानमा थियो। असोजमा आएको बाढीका कारण दोलखा, कालिन्चोकमा रहेको यो स्थानसम्म पुग्ने बाटाघाटा अवरूद्ध हुँदा व्यवसाय घटेको बताइएको छ।
यही माघ १७ गते यसको लकिङ पिरियड खुलेको छ। संस्थापक र प्रभावित क्षेत्रका बासिन्दाले समेत अब सेयर बेच्न सक्छन्।
सेयरको आपूर्ति बढ्ने अवस्थामा पनि मूल्य भने बढेर मंगलबार सर्किट ब्रेक लागेको हो।
कालिन्चोकले हकप्रद जारी गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेकाले पनि आकर्षण देखिएको हुन सक्छ। यसअघि जारी गर्ने भनिएको हकप्रद जारी गर्न नसकिएको भन्दै पुसमा भएको कालिन्चोकको साधारण सभाले एक बराबर एक अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो।
यो सेयर निस्कासनका लागि कालिन्चोक धितोपत्र बोर्डमा पुगिसकेको छैन।
यस्तो हकप्रद जारी गरेर उठ्ने पैसा ऋण तिर्न, कालिन्चोक, कुरी र भक्तपुरमा होटल सञ्चालन गर्ने उल्लेख गरेको छ। भक्तपुरको सूर्यविनायकमा जग्गा किनिसकिएको र होटलको नक्सा पास भइसकेको समेत साधारण सभाको माइनुटमा उल्लेख छ।
कालिन्चोकले हालसम्म गत वर्ष २०८१–८२ मा ५ प्रतिशत बोनस दिएको छ। सोमबार र मंगलबार दुवै दिन यसको सेयर मूल्यले हरियो लामो मैनबत्ती आकृति बनाएको छ।
यसले मूल्यलाई लिएर लगानीकर्ताहरू सकारात्मक रहेको र थप बढ्ने संकेत गर्छ। हाललाई ९३१ रूपैयाँमा यसलाई सामान्य प्रतिरोध छ।
त्यस्तै चन्द्रागिरि हिल्सको सेयर २०७७ माघ अन्त्यबाट कारोबारमा आएको हो।
कारोबारमा आएको एक महिनामै यसको भाउ प्रति कित्ता २८०० रूपैयाँसम्म पुगेको थियो।
चन्द्रागिरि हिल्समा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा व्यवसायी चन्द्र ढकाल, उनका भाइ हेमराज ढकाल, उत्तम कुमार नेपाल र सेयर लगानीकर्ता अम्बिका प्रसाद पौडेलको मुख्य लगानी छ।
मंगलबार चन्द्रागिरि हिल्सको मूल्य २.६५ प्रतिशत बढेर ८९१ रूपैयाँमा कारोबार भएको छ। यसले चालु आर्थिक वर्ष २०८२–८३ को दोस्रो त्रैमास (साउनदेखि पुस) सम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेको छैन।
पहिलो त्रैमास (साउनदेखि असोज) मा एक करोड २४ लाख रूपैयाँ नोक्सानमा छ। भदौ २३ र २४ को प्रदर्शनको क्रममा चन्द्रागिरि केबलकारको तल्लो बेसस्टेसनमा क्षति भएको थियो। यसबाट करिब ५० करोड बराबरको नोक्सानी हुन पुगेको थियो। केही समय यसको सञ्चालन नै रोकियो। अहिले भने केबलकार सेवा सञ्चालनमा आइसकेको छ।
व्यवसायबाट हुने आम्दानी नै २९ प्रतिशतले घटेको छ। यसअघि यस्तो आम्दानी १९ करोड ५८ लाख रूपैयाँ रहेकोमा यस पटक १३ करोड ८७ लाख रूपैयाँ छ। चन्द्रागिरिको केबलबार सञ्चालनमा आइसकेकाले नाफामा सुधार हुने देखिन्छ।
यसले हालसम्म गत वर्ष २०८१–८२ मा पाँच प्रतिशत बोनस दिएको छ। चन्द्रागिरिले पनि एक बराबर एक अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव असोज २९ गते सम्पन्न साधारण सभाबाट पारित गरेको छ। सेयर निष्कासनको चन्द्रागिरि धितोपत्र बोर्डमा अनुमति माग्न पुगिसकेको भने छैन।
यसले सहायक कम्पनी चन्द्रागिरि हिल्स प्याराग्लाइडिङमा ५ लाख, मल्टिपोखरा डेभलपमेन्टमा १८ करोड रूपैयाँ लगानी गरेको छ। त्यस्तै, लुम्बिनी केबलकारमा ११ करोड ५२ लाख र मौलाकाली केबलकारमा ३ करोड रूपैयाँ लगानी गरेको छ।
गत कात्तिक २० गतेयता यसको सेयर मूल्य निश्चित मूल्यअन्तरमा रहेर तलमाथि गर्दै साइडवेज मुभमेन्टमा छ।
मंगलबार दुवैतर्फ लामो धागो र सानो शरीर भएको मैनबत्ती आकृति बनेको छ। मूल्य बढ्छ भन्ने र घट्छ भन्ने दुवै पक्ष बराबर हावी भएका छन्। मूल्य बढे पनि गत बिहीबारको उचाइ भेट्न सकेको छैन।
दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएसँगै सेयरको प्रवृत्ति पनि स्पष्ट हुने सम्भावना छ।