केही समयदेखि सेयर बजारमा राधी विद्युत कम्पनी र ट्रेड टावर लिमिटेडको सेयर कारोबार बढ्न थालेको छ।
सोमबार पनि यी कम्पनीका सेयर सर्वाधिक कारोबार हुनेमध्ये सूचीभित्रै परे।
यस दिन ३१ करोड ५७ लाख रूपैयाँको कारोबार सहित राधी विद्युत धेरै कारोबार हुने दोस्रो कम्पनी बन्यो।
त्यस्तै, १४ करोड २५ लाख रूपैयाँको कारोबार सहित ट्रेड टावर धेरै कारोबार हुने दसौं कम्पनी बन्यो।
राधी विद्युतले ६९ प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा मंसिर २ गते आवेदन दिएको छ। हकप्रद प्रस्तावले समेत राधीको सेयरमा आकर्षण देखिएको हुन सक्छ।
हाल यसले ४.४ मेगावाटको राधी साना जलविद्युत आयोजना सञ्चालनमा छ।
राधीले आफ्नो सहायक कम्पनी कसुवा खोला हाइड्रोपावरले बनाउने भएको ४५ मेगावाट क्षमताको कसुवा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सोच सहित हकप्रद सेयर जारी गर्न लागेको हो।
यसले राधी साना जलविद्युत बनाउनक लिएको ४४ करोड रूपैयाँ ऋणमध्ये करीब चार करोड रूपैयाँ तिर्न बाँकी छ। लगभग यो ऋण मुक्त हुने अवस्थामा आएको छ।
यसले आर्थिक वर्ष २०८१/८२ का लागि कुनै लाभांश दिएन। त्यसअघिका पाँच वर्षमा औसत १२.३ प्रतिशत लाभांश दिएको छ।
तीन वर्षदेखि भने यस्तो लाभांश दर ५ प्रतिशत छ।
सर्वसाधारणमा यसले २०७४ सालमा सेयर जारी गरेको हो। सेयर जारी गरेयता यसको प्रति कित्ता मूल्य १३४० रूपैयाँसम्म पुगेको थियो।
यसले संस्थापक र प्रभावित क्षेत्रका बासिन्दाका लागि कायम हुने तीन वर्षको लकिङ खुल्ने समयमा एक कित्ता बराबर १.४ कित्ता हकप्रद सेयर जारी गर्ने घोषणा गरेपछि मूल्यले यो उचाइ भेटेको थियो।
सोही समय ३६ प्रतिशत उच्च बोनस लाभांश समेत दिएको थियो। यही कारण मूल्य उच्च पुगेको थियो।
आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा यसको विद्युत बिक्रीबाट भएको आम्दानी तीन करोड ८८ लाख रूपैयाँबाट बढेर चार करोड ६ लाख रूपैयाँ पुगेको छ।
तर अन्य आम्दानी नै ३५ करोड रूपैयाँ छ।
यसले युनिभर्सल पावर कम्पनी र दोर्दी खोला जलविद्युतको सेयरमा लगानी गरेको छ। यस्तो सेयर लगानी बिक्रीबाट थप आम्दानी भएको हो।
यही आम्दानीका कारण यो अवधिमा नाफा रकम तीन करोड रूपैयाँबाट बढेर २७ करोड रूपैयाँ पुगेको छ। वार्षिकीकरण गरिएको प्रति सेयर आम्दानी ६० रूपैयाँ ५८ पैसा छ। प्रति सेयर नेटवर्थ एक सय ३३ रूपैयाँ छ।
राधीको सेयर मूल्य पनि बढिरहेको छ। आइतबार र सोमबार यसको सेयरले साइड–बाई–साइड बुलिस मैनबत्ती बनाउने संकेत गरिरहेको छ।
आइतबार र सोमबार दुवै दिन मूल्य बढेर सेतो मैनबत्ती बनेको छ। आइबारको अन्तिम मूल्यभन्दा माथि रहेर सोमबार कारोबार सुरू भयो। सोमबारको सुरू मूल्य माथिबाट बजार खुलेर माथि नै रहेका यो साइड–बाई–साइड बुलिस मैनबत्ती संकेत हुनेछ।
यसले मूल्य थप बढ्ने संकेत गर्छ।
त्यस्तै, गत असारबाट सेयर कारोबारमा आएको ट्रेड टावरले नयाँ आयोजनाहरू अगाडि बढाइरहेका यसको सेयरमा आकर्षण बढेको देखिन्छ।
पछिल्लो समय बजारमा सूचीकरण हुन आएका नयाँ कम्पनीको मूल्य बढिरहेकाले ट्रेड टावरमा पनि आकर्षण देखिएको हो।
ट्रेड टावरको पूर्ण स्वामित्वमा क्रिस्टल हस्पिटालिटी नामको कम्पनी स्थापना छ। यसले क्रिस्टल पशुपति होटल सञ्चालन गर्ने भएको छ।
थापाथलीमा यसको व्यावसायिक भवन छ जहाँ ब्रिटिस कलेज, बैंक लगायतले भाडा लिएर कार्यालय राखेका छन्।
सेयर जारी गरेपछिको पहिलो आर्थिक वर्ष २०८१/८२ का लागि यसले कुनै लाभांश दिएन। सूचीकरण भएको केही समयमै यसको मूल्य १२६२ रूपैयाँसम्म पुगेर घटेको थियो।
आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा यसले होटलबाट दुई करोड पाँच लाख र अन्य क्षेत्रबाट दुई करोड ६३ लाख रूपैयाँ आम्दानी गरेको थियो।
यही आम्दानीका कारण यो अवधिमा नाफा रकम ७३ लाख रूपैयाँबाट घटेर १७ लाख रूपैयाँ भएको छ। वार्षिकीकरण गरिएको प्रति सेयर आम्दानी जम्मा ८६ पैसा छ। प्रति सेयर नेटवर्थ एक सय पाँच रूपैयाँ छ।
यसको मूल्य बढ्दो प्रवृत्तिमै छ।
आइतबार र सोमबार दुवै दिन यसको सेयरले लामो सेतो मैनबत्ती बनाएको छ। यसले मूल्य बढ्न सक्ने सम्भावना देखाएको छ।
तर यसमा लगानी रणनीति बनाउन भने मंगलबारको कारोबार हेर्नु सही हुन्छ।
मंगलबार सानो शरीर भएको डोजी मैनबत्ती आकृति बनेमा भने मूल्य घट्ने सम्भावना हुन्छ।
***