अहिले सेयर बजारमा लगानी गर्न कति रूपैयाँ चाहिएला?
सेयर बजारमा पस्ने सोचमा हुनुहुन्छ भने अहिले तपाईंसँग १६–१७ सय रूपैयाँ भए पनि सुरू गर्न सकिने अवस्था छ।
अहिले पनि सेयर बजारमा दुई सय रूपैयाँ मूल्यभन्दा कममा प्रतिकित्ता सेयर पाइने एक दर्जन कम्पनी छन्। यी सेयर बजारकै सबभन्दा सस्ता कम्पनी हुन्।
पहिले चर्चा गरौं, सबभन्दा दुई सस्ता कम्पनीको।
अहिले शिवश्री हाइड्रोपावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य एक सय ५५ रूपैयाँ छ। सेयर बजारमा एक पटक सेयर किन्दा सामान्यतया कम्तीमा १० कित्ता सेयर किन्नुपर्छ। दस कित्ताभन्दा कम सेयरको किनबेच अडलट कारोबार अन्तर्गत हुन्छ। तर दस कित्ता सेयर भएमा सजिलै किनबेच हुन सक्छ।
शिवश्री हाइड्रोपावरको १० कित्ता सेयर किन्न ब्रोकर कमिसन लगायत शुल्कसहित १६ सयदेखि १७ सय रूपैयाँ भए पुग्नेछ।
मूल्य सस्तो छ भन्दैमा सेयरमा अन्धाधुन्ध लगानी गर्न भने हुँदैन। कम्पनीको वित्तीय अवस्था, यसअघिको मूल्य प्रवृत्ति र प्रभाव पार्न सक्ने अन्य कारण भने हेर्नुपर्छ।
शिवश्री हाइड्रोको कुरा गर्दा, एक वर्षयताको उच्च मूल्य ३१३ रूपैयाँ हो। कम्पनीले हालै एक सेयर बराबर एक हकप्रद सेयर दिएकाले समायोजनपछि मूल्य थप घट्दै अहिलेको स्थानमा आएको हो।
हकप्रद दिएसँगै कम्पनीको सेयर आपूर्ति भने बढ्नेछ। यसले मूल्य घटाउन दबाब पनि दिन सक्नेछ।
केही समयदेखि नोक्सानमा रहेको शिवश्री गत आर्थिक वर्ष २०८१/८२ मा एक करोड रूपैयाँ नाफामा थियो। चालु आर्थिक वर्ष २०८२/८३ मा भने तीन लाख रूपैयाँ नोक्सानमा छ।
यसको एक अर्ब रूपैयाँ सञ्चित नोक्सानी छ। प्रतिसेयर आम्दानी ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ३० रूपैयाँ छ।
तीन अर्ब ५० करोड रूपैयाँ आवधिक कर्जा रहेको शिवश्रीले हकप्रदबाट उठेको रकम ऋण तिर्न समेत प्रयोग गर्ने उल्लेख गरेको छ। यसले आगामी दिनमा ब्याज खर्च लगायत कटौती हुन सक्छ।
अब कुरा गरौं, हिमाल दोलखा हाइड्रोको।
यो कम्पनीको एक वर्षयताको उच्च मूल्य २२६ रूपैयाँ हो। अहिले कम्पनीको सेयर प्रतिकित्ता १७५ रूपैयाँमा कारोबार भइरहेको छ।
यसको १० कित्ता सेयर किन्न १८ सयदेखि १९ सय रूपैयाँ भए पुग्छ।
करिब दुई वर्षदेखि कारोबारमा आएको हिमाल दोलखाको हालसम्म एक पटक हकप्रद सेयर दिएको छ। यो दुई वर्षको अवधिमा प्रकाशित वित्तीय विवरण अनुसार कम्पनी धेरैजसो समय नोक्सानमा देखिँदै आएको छ।
गत आर्थिक वर्ष २०८१/८२ मा चार करोड ६५ लाख रूपैयाँ नोक्सानमा थियो।
चालु आर्थिक वर्ष २०८२/८३ मा भने एक करोड ६२ लाख नाफामा छ।
हिमाल दोलखाको ६१ करोड रूपैयाँ सञ्चित नोक्सानी छ। प्रतिसेयर आम्दानी दुई रूपैयाँ ३३ पैसा र प्रतिसेयर नेटवर्थ ७७ रूपैयाँ ९५ पैसा छ।
यसले केही समयअघि ९७.२ मेगावाटको केबिएनआर इसुवामा रणनीतिक लगानी गर्न लागेको उल्लेख गरेको थियो। हाल हिमाल दोलखासँग ४.५ मेगावाटको माइ खोला स्मल हाइड्रो र ८ मेगावाटको माइ स्कल क्यासकेड आयोजना सञ्चालनमा छन्।
यस्तै अन्य कम्पनीहरूको पनि वित्तीय विवरण हेरेर लगानीकर्ताहरूले लगानी सुरू गर्न सक्छन्।
|
कम्पनी
|
प्रतिकित्ता सेयर मूल्य (रूपैयाँमा)
|
|
शिवश्री हाइड्रो
|
१५५
|
|
हिमाल दोलखा हाइड्रो
|
१७५
|
|
अपर तामाकोसी हाइड्रो
|
१७४.१
|
|
बलेफी हाइड्रो
|
१७७
|
|
कुमारी बैंक
|
१७८.४
|
|
आँखुखोला जलविद्युत
|
१८६.९
|
|
प्रभु बैंक
|
१८२.९
|
|
नेशनल हाइड्रोपावर
|
१८५
|
|
हिमालयन बैंक
|
१८७.१
|
|
सिटिजन्स बैंक
|
१९०
|
|
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक
|
१९०.२
|
|
लिबर्टी इनर्जी
|
१९४
|