भुजुङ्ग हाइड्रोपावरले पुस ३ गतेदेखि आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेकाहरूको लागि आइपिओ जारी गर्ने भएको छ।
कम्पनीका अनुसार प्रत्यक्ष प्रभावित क्षेत्र लमजुङको क्व्होलासोथार गाउँपालिका–४ का बासिन्दाका लागि ६ लाख कित्ता र अप्रत्यक्ष प्रभावित सोही गाउँपालिकाका अन्य वडा–१ देखि ९ सम्मका बासिन्दाका लागि ४ लाख कित्ता सेयर छुट्याइएको छ।
यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीका १ लाख कित्ता सेयर निष्काशन छुट्याइएको छ। यो समूहका आवेदकले सी–आस्वा प्रणालीमार्फत सम्पूर्ण स्वीकृत बैंक तथा वित्तीय संस्थाबाट आवेदन प्रक्रिया पूरा गर्न सक्नेछन्।
आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन मिल्नेछ।
प्रभावित क्षेत्रका लागि पुस १७ गतेसम्म निष्काशन बन्द हुन सक्नेछ भने ढिलोमा माघ २ गतेसम्म जारी रहनेछ।
वैदेशिक रोजगारीमा नेपालीका लागि छिटोमा पुस ७ र ढिलोमा पुस १७ गते निष्काशन बन्द हुनेछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड छ।कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि १० लाख कित्ता सेयर जारी गर्नेछ।
कम्पनीले ७.५ मेगावाटको विद्युत उत्पादन क्षमता रहेको माथिल्लो मिदिम जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। २०८१ वैशाखदेखि आयोजनाबाट विद्युत उत्पादन भइरहेको छ।