नेपाल राष्ट्र बैंकले गभर्नर डा.विश्वनाथ पौडेलका लागि भाडामा घर दिन चाहनेले प्रस्ताव दिनसक्ने अवधि थपेको छ।
अब घर भाडामा दिन चाहनेले कात्तिक १६ गतेसम्म प्रस्ताव पेश गर्न सक्ने भएका छन्।
चाडपर्वको विदाको कारण समय अपुग हुने सक्ने भन्दै समय थपिएको राष्ट्र बैंकले सूचनामा उल्लेख गरेको छ।
भदौ २४ गतेको आन्देलनको क्रममा गभर्नर पौडेलको ललितपुर, भैंसेपाटी स्थित घरमा आगजनी भएको थियो। राष्ट्र बैंकले अहिले उनको बसोबासको लागि ललितपुरमै घर भाडामा खोजेको हो।
बैंकले इच्छुक व्यक्ति, फर्म वा कम्पनीहरूबाट प्रस्ताव आह्वान गरेको हो। गभर्नर पौडेलले जलेको भैंसेपाटिको घर योजना आयोगको उपाध्यक्ष हुनुअघि नै छात्रवृत्ति र देश विदेशमा काम गरेर साढे पाँच आना जग्गामा बनाएको बताएका थिए।
आन्दोलनकारीले उनको चितवनमा स्थित पुर्ख्यौली घरमा समेत तोडफोड गरेका थिए।
अहिले भाडामा लिन खोजिएको घर कम्तीमा १६ आनादेखि अधिकतम २४ आनासम्मको भू–क्षेत्रमा बनेको हुनुपर्नेछ।
त्यस्तै, कम्तीमा एक हजार वर्गफुट पिलिन्थ क्षेत्रफलमा बनेको र २.५ देखि ३ तलासम्मको हुनुपर्छ। घरमा कम्तीमा ४ वटा बेडरुमा भएको र यसमध्ये १ वटा मास्टर बेडरूम अनिवार्य हुनुपर्नेछ। घरमा लिभिङ हल, किचन, डाइनिङ हल स्टोर रुम समेत हुनुपर्नेछ।
घरमा कम्तीमा ६ वटा कार वा जिप पार्क गर्न मिल्ने ठाउँ हुनुपर्नेछ।
सुरक्षाकर्मी बस्न छुट्टै भवन भएको, सुरक्षित कम्पाउन्ड वाल भएको र कालोपत्रे सडकसँग सिधा जोडिएको हुनुपर्नेछ।
त्यस्तै विजुली, ढल निकास र खानेपानीको राम्रो व्यवस्था भएको हुनुपर्नेछ।
इच्छुक व्यक्ति, फर्म वा कम्पनीले नेपाल राष्ट्र बैंकको सम्बन्धित विभागबाट घर भाडा प्रस्ताव सम्बन्धी कागजात प्राप्त गरी आवश्यक विवरण भरि प्रस्ताव पेस गर्न सकिने उल्लेख छ।।