राष्ट्र बैंकले जलेका नोट साट्न कडाई गर्ने भएको छ। यसको लागि नेपाल राष्ट्र बैंक नोट तथा सिक्का नियमावली, २०५९ मा संशोधन गरेर नयाँ व्यवस्था गर्ने भएको हो।
राष्ट्र बैंकका डेपुटि गभर्नर बम बहादुर मिश्रले भने, ‘नोट साट्न नै रोक्न मिल्दैन, तर नोट सम्वन्धित ब्यक्तिको भए नभएको हेर्ने र सो पैसाको स्रोत के हो भनेर समेत यकिन भएपछि मात्रै साट्ने भएका छौं।
डेपुटि गभर्नर मिश्रले यसको लागि कार्यविधि समेत बनाइने र आवश्यकताको आधारमा नेपाल राष्ट्र बैंक नोट तथा सिक्का नियमावली, २०५९ मा संशोधन समेत हुने जानकारी दिए।
भदौ २४ गतेको प्रदर्शनमा सार्वजनिक सम्पत्तिसँगै धेरै नेता र व्यवसायीको निजी घर, उद्योगमा तोडफोड र आगजनी भयो। आगो निभेपछि कतिपय नेता, व्यवसायीको घरमा जलेको अवस्थामा पैसा फेला परेको छ। कतिपयको घरमा विदेशी मुद्रा पनि पाइएको छ।
त्यो पैसा राष्ट्र बैंकले साटिदिन्छ भन्ने सोचेर सर्वसाधारणहरू नेताका घरघर पुगेर जलेका नोट जम्मा गर्न थालेका छन्।
सामान्य अवस्थामा, कसैले च्यातिएको वा जलेको नोटको नम्बर देखिने गरी आधाभन्दा बढी भाग लिएर गयो भने, राष्ट्र बैंकले त्यस्तो नोट साटिदिने गरेको छ।
केही हजारका नोट छन् भने पनि राष्ट्र बैंकले साटिदिन्छ।यस्ता जलेका वा च्यातिएका अलि धेरै नोट साट्न जाँदा भने प्रहरीको रिपोर्ट नै मागिन्छ।
आगलागी वा नोट नस्ट कसरी भयो भन्ने घटनाको विवरण प्रहरीलाई जनाएको हुनुपर्छ। सोही रिपोर्टका आधारमा राष्ट्र बैंकले साटिदिदै आएको छ।
अहिले धेरै नोट जलेको देखिएकोले सम्बन्धित व्यक्ति नै आएपनि यस्तो नोटको स्रोत खोजिने भएको हो।
यो पनि: के प्रदर्शन क्रममा जलेका नोटहरू साटिन्छन्?