भदौ २४ गतेको प्रदर्शनमा सार्वजनिक सम्पत्तिसँगै धेरै नेता र व्यवसायीको निजी घर, उद्योगमा तोडफोड र आगजनी भयो।
आगो निभेपछि कतिपय नेता, व्यवसायीको घरमा जलेको अवस्थामा पैसा फेला परेको छ। कतिपयको घरमा विदेशी मुद्रा पनि पाइएको छ।
त्यो पैसा राष्ट्र बैंकले साटिदिन्छ भन्ने सोचेर सर्वसाधारणहरू नेताका घरघर पुगेर जलेका नोट जम्मा गर्न थालेका छन्।
के साँच्चै यस्ता नोट राष्ट्र बैंकले सजिलै साटिदिन्छ त?
सामान्य अवस्थामा, कसैले च्यातिएको वा जलेको नोटको नम्बर देखिने गरी आधा भाग लिएर गयो भने, राष्ट्र बैंकले त्यस्तो नोट साटिदिने गरेको छ।
केही हजारका नोट छन् भने पनि राष्ट्र बैंकले साटिदिन्छ। तर नोट जल्नुको उचित कारण माग्छ।
यस्ता जलेका वा च्यातिएका अलि धेरै नोट साट्न जाँदा भने प्रहरीको रिपोर्ट नै मागिन्छ। आगलागी वा नोट नस्ट कसरी भयो भन्ने घटनाको विवरण प्रहरीलाई जनाएको हुनुपर्छ। सोही रिपोर्टका आधारमा राष्ट्र बैंकले साटिदिन्छ।
मुलुकी अपराध (संहिता) ऐनले नोटमा क्षति पुर्याउनेलाई सजायको व्यवस्था गरेको छ। नोट केरमेट गरे, जलाए तथा नोटमा विभिन्न किसिमले हानि-नोक्सानी पुर्याए २ महिनासम्म कैद र ५ हजा रूपैयाँसम्म जरिवाना व्यवस्था छ।
त्यसैले जलेका, च्यातिएका नोट साट्न जाँदा उचित कारण दिन नसके, मागिए बमोजिम प्रहरी रिपोर्ट दिन नसके समस्या हुन सक्छ। नियतवश नोटमा क्षति पुर्याएकोमा उल्टै सजाय हुन सक्ने राष्ट्र बैंकको उच्च स्रोतले जनाएको छ।
अहिले प्रदर्शन क्रममा जलेका नोटहरू के गरिन्छन् भन्ने विषय भने अहिले निर्क्यौल भएको छैन।
जलेका वा च्यातिएका अमेरिकी डलर वा विदेशी मुद्रा भने राष्ट्र बैंकले कुनै अवस्थामा साट्दैन। डलरमा सामान्य क्षति हुँदा पनि अमेरिकी केन्द्रीय बैंकले नसाट्ने भएकाले नेपालमा त्यस्ता नोट नसाटिने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्।
नोट छाप्न राष्ट्रको ठूलो लगानी लाग्छ। त्यसैले पनि नोटमा क्षति पुर्याउनेलाई कारबाही हुने व्यवस्था गरिएको हो।
अहिले एउटा नोट छाप्न करिब १ रूपैयाँ ४० पैसादेखि ४ रूपैयाँ ६८ पैसा लागत लाग्छ।
दुरूपयोगकै कारण नोट चाँडै पुरानो हुने र नयाँ नोट छाप्नपर्ने भएकाले मुलुकलाई वार्षिक करोडौं रूपैयाँ लागत परिरहेको छ।
नोट छाप्न सुनचाँदी, विदेशी मुद्रा, विदेशी धितोपत्र, सिक्का र नेपाल सरकारको ऋणपत्रलाई समेत धरौटीका रूपमा राख्नुपर्छ।