ग्लोबल आइएमई बैंक लिमिटेडको आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी 'ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन' कार्यक्रम सम्पन्न भएको छ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापकहरू सहित विभिन्न संस्थाको प्रतिनिधीहरूको उपस्थिती रहेको थियो।
बैंकले प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई लक्षित गर्दै सम्भावित नवीनतम प्रविधिमा आधारित बैंकिङ सेवाहरू विकासका लागि यो प्रतियोगिता सञ्चालन गरेको हो।
यस प्रतियोगितामा २१ टोलीहरूलाई अनलाइन पेपर प्रिजेन्टेसनका लागि छनौट गरीएको थियो।
प्रतियोगी टोलीहरू विभिन्न स्थान काठमाडौं, महेन्द्रनगर, पोखरा, वीरगञ्ज, काभ्रे, धरानबाट सहभागी भएका थिए।
सहभागी टोलीहरूमध्ये टिम क्याल्कुलुसले उक्त प्रतियोगिताको प्रथम पुरस्कार स्वरुप १ रूपैयाँ लाख जित्न सफल भएको छ।
साथै, डब्लुडिके, लार्के पास, टिम जनकपुर, फ्रडेक्स टोलीहरूले क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ पुरस्कारबाट पुरस्कृत भएका छन्।
दोस्रो हुने टोली डब्लुडिकेले ७५ हजार, तेस्रो हुने लार्के पासले ५० हजार, चौथो र पाँचौ हुने क्रमशः टिम जनकपुर र टिम फ्रडेक्सले १५–१५ हजारको पुरस्कार प्राप्त गरेका छन्।
साथै, वेष्ट प्रिजेन्टेसन बिधाअन्तर्गत बैंकले डिजिविट्सलाई १५ हजारको पुरस्कारबाट पुरस्कृत गरेको छ।
प्रतियोगिताका विजेता टोलीहरूलाई उक्त कार्यक्रमका प्रमुख अतिथि, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले पुरस्कार रकम हस्तान्तरण गरे।
नेपालमा पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ह्याकाथन सञ्चालन गरेकोमा डेपुटी गभर्नर बम बहादुर मिश्रले आयोजक ग्लोबल आइएमई बैंकलाई धन्यवाद दिए।
यस किसिमका प्रतियोगिताले युवा तथा विद्यार्थीहरूलाई अवसर प्रदान गर्नुका साथै बैंकका सेवा तथा सुविधाहरूमा नवीनतम प्रविधिको प्रयोग अझ प्रभावकारी भई सेवाको पहुँच विस्तार हुने विश्वास नेपाल राष्ट्र बैंकले लिएको डेपुटी गभर्नर मिश्रले जानकारी दिए।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस ह्याकाथनले डिजिटल बैंकिङमा आउने सम्भावित सेवाहरु र यसको चुनौतीहरूको समाधानको लागि सहयोग पुग्नुका साथै नवीनतम सेवाहरुको विकासमा सहयोग पुग्ने विश्वास बैंकले लिएको जानकारी दिए।
यस प्रतियोगिताको उत्कृष्ट टोलीहरूलाई बैंकले सहकार्य गर्ने अवसर प्रदान गर्ने समेत जानकारी प्रदान गरे।
बैंक प्रविधि अनुकूल वित्तीय सेवाहरू प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको र डिजिटल बैंकिङ सेवाहरूलाई थप प्रभावकारी बनाउन नवीनतम धारणाहरूलाई प्रोत्साहित गर्न यस ह्याकाथनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ।
प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरूले बैंकले तोकेका विभिन्न विषयहरूमा केन्द्रित रही आफ्ना धारणाहरु प्रस्तुत गरेका थिए।
प्रतियोगितामा सहभागिता हुन विभिन्न टोलीहरूले बैंकको वेबसाइट मार्फत आवेदन दरखास्त गरेका थिए।
यस ह्याकाथन प्रतियोगिता दुई चरणमा सञ्चालन भएको थियो। जसअन्तर्गत पहिलो चरणमा कोडिङ र दोस्रो चरणमा अनसाइट ह्याकाथन भएको हो।
बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २२१ शाखा रहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।