नेपाल राष्ट्र बैंककी कामु गभर्नर निलम ढुंगाना तिम्सिनाले अर्थतन्त्र विस्तारै लयमा आउन थालेको दाबी गरेकी छिन्।
राष्ट्र बैंकको ७०औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै ढुंगानाले यस्तो बताएकी हुन्।
'विगतमा आर्थिक गतिविधिमा आएको शिथिलताका कारण बैंक तथा वित्तीय संस्थाको कर्जा असुली केही प्रभावित हुन गई निष्क्रिय कर्जा अनुपात बढेकोमा आर्थिक गतिविधिमा सुधार भएसँगै निष्क्रिय कर्जा अनुपातमा समेत सुधार हुने अपेक्षा छ,' उनले भनिन्।
उनले मुद्रास्फीति लक्षित सीमाभित्रै रहेको, आयात तथा निर्यात व्यापारमा सुधार भएको एवम् बैंकिङ क्षेत्रबाट प्रवाहित कर्जा विस्तारले समेत गति लिन थालेको बताएकी छिन्।
'चालु आर्थिक वर्षको दोस्रो त्रैमासको आर्थिक वृद्धिको तथ्यांकले समेत यसको पुष्टि गरेको छ। पछिल्लो समय भएका कानुनी सुधारले लगानीको वातावरण सहज बनाएको छ। यसले समग्र आर्थिक गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा छ,' उनले भनिन्।
ढुंगानाले वित्तीय स्थायित्वका लागि अपनाइएका नियमनकारी व्यवस्थाको प्रभाव देखिँदै गएको र मौद्रिक, वित्तीय तथा विदेशी विनिमय नीतिमार्फत समष्टिगत आर्थिक स्थायित्व कायम राख्न नेपाल राष्ट्र बैंक कटिबद्ध रहेको बताएकी छिन्।