पाँच दिनसम्म ग्राहकहरूले बैंकमा रहेको निक्षेपमध्ये दुईदेखि १० प्रतिशत बराबर रकम निकाले भने २० मध्ये एउटा वाणिज्य बैंकले त्यसपछि तत्काल रकम फिर्ता दिन नसक्ने अवस्था देखिएको छ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको बैंक तथा वित्तीय संस्थाहरूको गत आर्थिक वर्षसम्मको वित्तीय स्थिरताको अवस्था प्रतिवेदनले यस्तो देखाएको हो।
यदि कुनै बैंकको मुद्दती निक्षेपबाहेकको खातामा रहेको १५ देखि २० प्रतिशत बचत रकम निकालियो भने एउटा वाणिज्य बैंकलाई यस्तै समस्या पर्नेछ।
बैंकबाट २० प्रतिशत बराबरको निक्षेप रकम झिकिएका १५ बैंकलाई समस्या पर्न सक्छ।
अध्ययनले बैंकहरू निक्षेप संकलनमा केही सीमितमा केन्द्रीकृत भइरहेको समेत अध्ययनमा देखिएको थियो।
कुनै दुई बैंकका दुई संस्थागत निक्षेपकर्ताले आफ्नो निक्षेप झिकेको अवस्थामा ती बैंकलाई समस्या पर्ने अध्ययनमा देखिएको छ।
राष्ट्र बैंकले बैंकहरूको नाम भने सार्वजनिक गर्दैन।
आफ्ना तीन ठूला संस्थागत निक्षेपकर्ताले रकम झिक्दा तीन बैंकलाई तरलताको समस्या पर्ने पाइएको छ।
त्यस्तै, पाँच वटा संस्थागत निक्षेपकर्ताले रकम झिक्दा सात बैंकलाई समस्या पर्नेछ।