सेयर बजारमा हेलिकप्टर कम्पनी पनि आउने तयारी गरिरहेका छन्।
प्रभु हेलिकप्टर लिमिटेडले ६१ करोड २५ लाख रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको हो।
कम्पनीले गत चैत २० गते धितोपत्र बोर्डमा सेयर निष्कासनको अनुमति माग्दै आवेदन दिएको छ। कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल रहेको छ।
सन् २०१५ मा मुक्तिनाथ एयरलाइन्स प्रालिलाई प्रभु ग्रुपले लिएसँगै प्रभु हेलिकप्टर लिमिटेडको नामबाट सञ्चालनमा आएको हो।
सन् २०२२ मा पब्लिक कम्पनीको रूपमा यो रूपान्तरण भएको हो।
कम्पनीको सञ्चालन आम्दानी घटबढ देखिँदै आएको छ।
२०७८/७९ कम्पनीको कर अघिको सञ्चालन आम्दानी २२ करोड रहेकोमा २०७९/८० मा यस्तो आम्दानी ४१ करोड पुगेको थियो। तर २०८०/८१ मा यो २६ करोडमा सीमित भएको छ।
२०७९/८० को पहिलो त्रैमासमै कम्पनीको दुईमध्ये एक हेलिकप्टर ग्राउण्डेड भएर उडान प्रतिबन्ध लागेको थियो। त्यही वर्षको तेस्रो त्रैमासमा कम्पनीले सो हेलिकप्टर बिक्री गरेको थियो।
कम्पनीले एयसबस खरिद गर्ने तयारी गरिरहेको केही महिनाअघिको केयर नेपालको रेटिङ प्रतिवेदनमा उल्लेख छ।
७० प्रतिशत ऋण र ३० प्रतिशत स्वःपुँजीबाट एयरबस खरिद गर्ने उद्देश्य लिइएको हो।
केही वर्षअघिसम्म रहेको सञ्चित नोक्सानीबाट बाहिरिन यसअघि सञ्चालकहरूले यसअघि लगानी थपेका थिए। कम्पनीले केही समयअघि ६४ करोड बराबरको ऋण लिने तयारी गरेको थियो।
कम्पनीको ब्याज, ह्रासकट्टी र कर अघिको नाफा मार्जिन उच्च छ।
२०७८/७९ मा यो दर २७.४८ प्रतिशत, २०७९/८० मा ५४.०८ प्रतिशत र २०८०/८१ मा ४७.९७ प्रतिशत छ।
यो दर जति उच्च भयो त्यति राम्रो हो। यो कम्पनीको ब्याजदर धान्न सक्ने क्षमता पनि राम्रो छ।
२०८०/८१ मा यो दर १.९७ गुणा छ।
कम्पनीको अध्यक्षमा देवी भट्टचन छन् र प्रबन्ध निर्देशकमा सुवास अमात्य छन्।