ट्रेड टावर लिमिटेडले आज (सोमबार) देखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो।
कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रूपैयाँको ४८.६९६ प्रतिशत अर्थात् ३९ करोड ७१ लाख ६९ हजार ३०० रूपैयाँ बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
सोमध्ये कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ करोड ९७ लाख १६ हजार ९३० रूपैयाँ बराबरको ३ लाख ९७ हजार १६९.३० कित्ता आइपिओ निष्कासन गर्न लागेको हो।
कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
कम्पनीको उक्त आइपिओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन्।
इक्रा नेपालले कम्पनीलाई 'इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस' प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर 'मेरो सेयर' अनलाइन प्रयोग गरी सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।