आइतबार सेयर बजारमा विभिन्न रेकर्ड बन्यो।
सेयर बजार परिसूचक नेप्से ६ महिना यताकै उच्च विन्दुमा आइपुग्यो, दैनिक सेयर कारोबार रकम पनि ६ महिनायता कै उच्च भयो।
आइतबार नेप्से परिसूचक एकैदिन ७५.२४ अंकले बढेर २८९०.२८ विन्दुमा आएको हो।
नेप्से भदौ ९ गतेयताकै उच्च विन्दुमा आएको हो। भदौ ९ गते नेप्से परिसूचक बजार बन्द हुँदा २८९४ विन्दुमा थियो।
कारोबार रकम पनि भदौ पछिकै उच्च भयो। आइतबार बजारमा १४ अर्ब २५ करोड रूपैयाँको कारोबार भएको हो। यसअघि गत भदौ ११ गते १८ अर्ब ६४ करोड रूपैयाँको कारोबार भएको थियो।
तर, बजारमा यसबाहेक नयाँ रेकर्ड समेत बनेको छ।
आइतबार कुल बजार पुँजीकरण हालसम्मकै उच्च ४७ खर्ब ९९ अर्ब रूपैयाँ पुगेको हो। यसअघि गत साउन ३१ गते बजार पुँजीकरण ४७ खर्ब ६५ अर्ब रूपैयाँ पुगेको थियो।
बजार पुँजीकरण भन्नाले बजारमा सूचीकृत रहेका सेयरहरूको कुल मूल्य हो।
पछिल्लो समय संस्थागत निक्षेपकर्ताहरूले बैंकमा परिपक्व भएको निक्षेप झिकेर पनि सेयर बजारमा हाल्न थालेको ब्रोकरहरू बताउँछन्।