पछिल्लो समय नेपाल पुनर्बीमा कम्पनीहरूले लगानीकर्तालाई आकर्षित गरिरहेको छ।
यो साता मात्रै हिमालयन रिइन्स्योरेन्सको चार दिनमा तीन अर्ब ८४ करोड रूपैयाँको सेयर किनबेच भयो। त्यस्तै, यही अवधिमा नेपाल रिइन्स्योरेन्सको भने तीन अर्ब ४२ लाख रूपैयाँको सेयर कारोबार भयो।
यो साता हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य १०.२६ प्रतिशतले बढेको छ। अघिल्लो साता बिहीबार नौ सय ३४ रूपैयाँमा सेयर कारोबार भएकोमा यस साता बिहीबार एक हजार २९ रूपैयाँ ९० पैसा पुगेको छ।
नेपाल रिइन्स्योरेन्सको अघिल्लो साता बिहीबार एक हजार ७७ रूपैयाँमा कारोबार भएकोमा २२.७२ प्रतिशतले बढेर एक हजार तीन सय २१ रूपैयाँ ७० पैसामा कारोबार भयो।
यी कम्पनीहरूले नियामक निकाय बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी २० अर्ब पुर्याउन बाँकी रहेकोले पनि यही आशामा मूल्य बढिरहेको हो।
अहिले हिमालयन रिइन्स्योरेन्सको चुक्ता पुँजी अहिले १० अर्ब ४० करोड रूपैयाँ पुगेको छ। कम्पनीले आर्थिक वर्ष २०७९–८० मा ४ प्रतिशत बोनस सेयर दिएको थियो।
कम्पनीले ८० प्रतिशत हकप्रद सेयर दिने तयारी गरिरहेको थियो। त्यस्तै, कम्पनीले हकप्रद सेयर जारी गरेपछि पनि चुक्ता पुँजी एक अर्ब रूपैयाँ अपुग हुन्छ। त्यसैले कम्पनीले हकप्रद अगावै आर्थिक वर्ष २०८०–८१ मा लाभांश घोषणा गर्दा बोनस सेयरलाई प्राथमिकता दिन सक्छ।
तर, आइपिओ जारी गर्दा नै प्रिमियम मूल्यमा जारी गर्न दिइएको भन्दै यस बिरूद्ध अदालतमा मुद्दा परेको छ। यही कारण कम्पनीले हकप्रद वा सेयर प्रिमियमबाट पुँजी वृद्धिको प्रक्रिया अगाडि बढाउन सकेको छैन।
कम्पनीसँग तीन अर्ब १८ करोड बराबरको सेयर प्रिमियम रकम छ। सामान्यतः प्रिमियम रकम समेत बोनस दिन प्रयोग गर्न सकिन्छ। तर, प्रमियममा सेयर जारी गरेको विषयमै अदालतमा मुद्दा परेकोले तत्काल यो रकमको प्रयोग गर्न सकिने अवस्था देखिएको छैन।
पछिल्लो समय प्रिमियम रकमबाट बोनस सेयर दिनुअघि पनि कर तिर्नुपर्ने व्यवस्था गरिएको छ। यस्तो व्यवस्था विरूद्ध केही समयअघि वाणिज्य बैंकहरू सर्वोच्च अदालत गएका भए पनि अदालतले बैंकहरूले दायर गरेको रिट नै खारेज गरिदिएको थियो।
त्यसैले अदालतमा परेको मुद्दामा कम्पनीले जिते पनि कर कटाएर मात्रै कम्पनीले प्रिमियम रकमबाट भने बोनस सेयर दिन सक्नेछ।
हिमालयन रिले गत आर्थिक वर्षमा एक अर्ब २८ करोड नाफा कमाएको थियो। चालु आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमास (साउनदेखि पुस)सम्ममा कम्पनीको नाफा ६१ करोड पुगेको छ।
यो अवधिमा कम्पनीको कुल आम्दानी दुई अर्ब ४६ करोडबाट बढेर तीन अर्ब चार करोड पुगेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ११ रूपैयाँ ७४ पैसा, प्रतिसेयर नेटवर्थ एक सय ६१ रूपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य दुई सय ३५ रूपैयाँ छ।
हिमालय रिइन्स्योरेन्सको सेयर मूल्य हालसम्मकै उच्च विन्दु एक हजार ६० नजिक छ। यो विन्दु प्रतिरोधको रूपमा समेत देखा परेको छ।
कम्पनीले चुक्ता पुँजी बढाउनु पर्ने अवस्था रहेकोले बजार बढेमा यो कम्पनीको सेयर मूल्यले समेत नयाँ उचाई बनाउन सक्ने सम्भावना भने रहन्छ।
त्यस्तै, नेपाल रिइन्स्योरेन्सको चुक्तापुँजी अहिले १३ अर्ब ४२ करोड रूपैयाँ छ। कम्पनीले आर्थिक वर्ष २०७९–८० मा ४.७५ प्रतिशत बोनस सेयर दिएको थियो। कम्पनीमा नेपाल सरकारको समेत ४४ प्रतिशत सेयर स्वामित्व छ।
कम्पनीमा सरकारले थप लगानीको विषयमा निर्णय गरी नसकेकोले चुक्ता पुँजी वृद्धिको लागि कम्पनी पहल अगाडि बढाउन सकेको छैन।
कम्पनीले २० अर्ब चुक्ता पुँजी पुर्याउन ६ अर्ब ५८ करोडले पुँजी थप्नु पर्छ। कम्पनीको पुँजीमा ४९ प्रतिशतले वृद्धि भएमा यो रकम पुग्छ। कम्पनीले पनि आर्थिक वर्ष २०८०–८१ मा लाभांश घोषणा गर्दा बोनस सेयरलाई प्राथमिकता दिन सक्छ।
कम्पनीले गत आर्थिक वर्ष २०८०–८१ को अन्तिम त्रैमास (वैशाखदेखि असार)सम्मको वित्तीय विवरण समेत सार्वजनिक गरिसकेको छैन। गत आर्थिक वर्ष २०८०–८१ को चैतसम्ममा ६ अर्ब ५३ करोड रूपैयाँ नाफा थियो।
सो समयको कम्पनीको प्रतिसेयर आम्दानी चार रूपैयाँ तीन पैसा, प्रतिसेयर नेटवर्थ एक सय ४७ रूपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य दुई सय ३३ रूपैयाँ छ।
कम्पनीको सेयर मूल्यले एक हजार तीन सय ८४ रूपैयाँको विन्दुमा प्रतिरोध परीक्षण गर्न थालेको देखिन्छ। कम्पनीले करिब तीन वर्षअघि दुई हजार १० रूपैयाँमा हालसम्मकै उच्च मूल्य बनाएको छ।
कम्पनीले चुक्ता पुँजी बढाउनु पर्ने अवस्था रहेकोले बजार बढेमा अहिलेको तहबाट मूल्य थप बढ्ने सम्भावना भने रहन्छ।