अब बीमा कम्पनीहरूले प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजीको अतिरिक्त पनि जोखिममा आधारित पुँजी राख्नु पर्ने भएको छ।
राजपत्रमा प्रकाशित बीमा नियमावली २०८१ मा यस्तो व्यवस्था गरिएको हो। नियमावलीमा भनिएको छ, प्राधिकरणले निर्धारण गरेको न्यूनतम चुक्ता पुँजीको अतिरिक्त बीमकले जोखिममा आधारित पुँजी कायम गर्नु पर्नेछ।
पुँजीमा दबाब पर्नेले यस्तो पुँजी राख्न चुक्तापुँजी समेत बढाउन पर्ने पनि हुनसक्ने प्राधिकरणका प्रवक्ता तथा निर्देशक सुशीलदेव सुवेदीले उल्लेख गरे।
'पुँजी राख्न सक्नेलाई समस्या नहुन सक्छ तर नसक्नेले चुक्तापुँजी बढाउनुपर्ने पनि हुनसक्छ,' सुवेदीले उल्लेख गरे।
हाल प्राधिकरणले जीवन बीमा कम्पनीको लागि ५ अर्ब र निर्जीवन बीमा कम्पनीको दुई अर्ब ५० करोड चुक्ता पुँजी तोकेको छ। कतिपय कम्पनीले यस्तो पुँजी पर्याउन बाँकी छ।
बीमा कम्पनीले प्रत्येक बीमा प्रकार (पोर्टफोलियो) को जोखिमको व्ययभार व्यहोर्नको लागि छुट्टाछुट्टै बीमा कोषमा रकम राख्नुपर्ने व्यवस्था छ।