कुनै समय थियो, सेयर बजारमा सूचीकृत कम्पनीहरूमा धेरै हिस्सा बैंक तथा वित्तीय संस्थाहरूको हुन्थ्यो। लगानीकर्ताले आफ्नो लगानी विविधीकरणको लागि धेरै क्षेत्रका कम्पनीहरू नै पाउँदैनथे।
अहिले भने लगानी विविधीकरणको लागि बजारका लगानीकर्ताले अलगअलग क्षेत्र पाइरहेका छन्। यही कारण सेयर बजार परिसूचक नेप्सेमा बैंकहरूको वर्चस्व क्रमिक रूपमा कम हुँदै जान थालेको छ।
सेयर बजार पुँजीकरणको आधारमा यस्तो हिस्सा कम हुँदै गएको देखिएको हो। सामान्य भाषामा भन्नुपर्दा सूचीकृत कम्पनीहरूको हालको मूल्यलाई बजारमा कायम सेयरले गुणन गरेपछि बजार पुँजीकरण निकालिन्छ। यसैलाई बजारको आकार समेत मानिन्छ।
सेयर बजारमा सूचीकृत कम्पनीहरूलाई नेप्सेले विभिन्न १२ समूहमा विभाजन गरेको छ। समूह अनुसार पनि समूहगत बजार पुँजीकरण निकालिएको हुन्छ।
धेरै समयसम्म सेयर बजारमा बैंक तथा वित्तीय संस्थाहरूको मात्रै ७० प्रतिशतभन्दा धेरै हिस्सा रहन्थ्यो। अहिले भने त्यस्तो समीकरण फेरिएको छ।
अहिले बैंक तथा वित्तीय संस्थाहरूको मात्रै हिस्सा ५३.२६ प्रतिशतमा सीमित भएको छ।
अर्थात् गत माघ अन्त्यमा कुल सेयर बजार पुँजीकरण ४४ खर्ब ५८ अर्ब रूपैयाँ बराबरको थियो। यसमा बैंक तथा वित्तीय संस्थाहरूको मात्रै २३ खर्ब ७४ अर्ब रूपैयाँ बराबर छ। यस्ता संस्थामा वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, लघुवित्त, जीवन र निर्जीवन बीमा कम्पनीहरू समेत पर्छन्।
वाणिज्य बैंकहरूपछि जलविद्युत समूहको हिस्सा सबैभन्दा धेरै १६.७२ प्रतिशतसम्म पुगेको छ। यो समूहको बजार पुँजीकरण सात खर्ब ४५ अर्ब रूपैयाँ छ।
जलविद्युत क्षेत्रका कम्पनीहरूले आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि अनिवार्य सेयर निष्कासन गर्नुपर्ने व्यवस्था छ। यही कारण पनि सेयर बजारमा यो क्षेत्रको उपस्थिति बढ्दै गएको हो। अहिले नेप्सेमा ९० भन्दा बढी जलविद्युत कम्पनी सूचीकृत छन्।
त्यस्तै, धितोपत्र बोर्डमा १८ अर्ब बराबरको सेयर जारी गर्न ४२ जलविद्युत कम्पनीहरू पाइप लाइनमा छन्। यी कम्पनी आएसँगै यो क्षेत्रको हिस्सा थप बढ्दै जाने देखिन्छ। मूल्य बढेको कारणले मात्र नभई कम्पनीहरूको संख्या बढ्दै जाँदा समेत यसमा बजार पुँजीकरण बढ्दै जाने हुन्छ।
अहिले नयाँ वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, लघुवित्त, जीवन बीमा र निर्जीवन बीमा कम्पनीहरूको अनुमति खुलेको छैन। केही लघुबीमा कम्पनीहरूले पनि सेयर जारी गर्ने तयारीमा छन्। तर, पनि यो क्षेत्र सेयर बजारमा खुम्चिँदै जाने देखिएको छ।
तीन वटा लघुबीमा कम्पनीले ६७ करोड बराबरको सेयर जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएका छन्। हालै तीन वटा अन्य लघुबीमा कम्पनीले सेयर जारी गर्ने अनुमति पाएका छन्।
त्यस्तै, पछिल्लो समय उत्पादनमूलक क्षेत्रमा पनि कम्पनीहरू थपिने भएका छन्। हाल दुई खर्ब ३७ अर्ब बराबरको सेयर पुँजीकरण रहेको यो समूहमा २२ अर्ब बराबरका सेयर जारी गर्न १५ कम्पनी धितोपत्र बोर्डमा अनुमतिको पर्खाइमा छन्।
हाल भने बजारमा यो समूहमा १० वटा कम्पनी सूचीकृत छन्।
सेयर बजारमा अब हिस्सा बढ्न सक्नेमा 'अन्य' समूह पनि देखिएको छ। यो समूहको बजार पुँजीकरण चार खर्ब दुई अर्ब बराबर छ। निकै लामो समय नेपाल टेलिकम एउटै कम्पनीले यो समूहलाई नै उतारचढाव गर्ने गर्दथ्यो। अहिले भने यो समूहमा रहेका ७ वटामध्ये ६ वटाको कारोबार सक्रिय रूपमा हुन्छ।
यो समूहमा नेपाल टेलिकम, नेपाल रि इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्सको मात्रै तीन खर्बभन्दा धेरै बजार पुँजीकरण छ। धितोपत्र बोर्डमा यो समूहमा रहने ११ कम्पनी तीन अर्ब ३९ करोड बराबरको सेयर जारी गर्ने अनुमति मागेर पाइपलाइनमा छन्।
लगानी क्षेत्रको हाल बजार पुँजीकरण तीन खर्ब ३६ अर्ब छ। यो समूहले समग्र बजारमा ७.५५ प्रतिशत हिस्स ओगट्छ। अहिले नेप्सेमा यो समूहमा सात वटा कम्पनी सूचीकृत छन्।
आगामी दिनमा दुई अर्ब ८४ करोड बराबरको सेयर जारी गर्न तीन कम्पनी अनुमतिको पर्खाइमा छन्।
