शाइन रेसुंगा डेभलपमेन्ट बैंकले राष्ट्रिय टेन के रनको सद्भावना दूतमा कीर्तिमानी धावक बैकुण्ठ मानन्धरलाई नियुक्त गरेको छ।
बैंकको १७औं वार्षिकोत्सवको अवसरमा फागुन ११ गते एथलेटिक्समा लोकप्रिय विधाको रूपमा रहेको १० किलोमिटरको राष्ट्रियस्तरको दौड प्रतियोगिता आयोजना गर्दैछ।
बुटवलमा आयोजना हुने सर्वाधिक पुरस्कार राशीको सोही प्रतियोगितामा कीर्तिमानी धावक तथा ओलम्पियन मानन्धरलाई सद्भावना दूतमा नियुक्त गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए।
धावक मानन्धरले दौड संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा सद्भावना दूत नियुक्त गरेकोमा आयोजक शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई धन्यवाद दिएका छन्।
उनले आम मानिसको स्वास्थ्य जीवनशैलीका लागि हरेक दिन दौडने संस्कृतिको विकास गर्न सबैलाई आग्रह गरे।
प्रतियोगितामा सहभागी हुन ईच्छुक धावकहरुले बैंकको आधिकारिक वेबसाइट मा गएर नाम दर्ता गर्न सक्नेछन्।
बैंकको केन्द्रीय कार्यालय कालिकानगरबाट सुरू हुने दौड मणिग्राम चोक पुगेर पुनः बैंकका केन्द्रीय कार्यालयमा आई समापन हुनेछ।
प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स संघले स्वीकृति प्रदान गरेको बैंकले जनाएको छ।
राष्ट्रिय स्तरका धावक सहभागी रहने प्रतियोगितामा प्रथम हुने महिला र पुरुषतर्फ जनही १ लाख रूपैयाँ पुरस्कार राशी राखिएको छ।
त्यस्तै दोस्रो हुनेले जनही ४० हजार, तेस्रो हुनेले २० हजार, चौथो हुनेले १५ हजार र पाँचौं हुनेले जनही १० हजार रूपैयाँ प्राप्त गर्नेछन्।
यस्तै, स्थानीय धावकको सहभागीता बढाउन ५ किलोमिटरको दौडमा ५० वर्षसम्म र ५० वर्षभन्दा माथिको गरी दुई विधामा प्रतियोगिता राखिएको बैंकले जनाएको छ।
जसमा विजेता महिला पुरुष खेलाडीले जनही १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार, चौथोले २ हजार पाँच सय रूपैयाँ प्राप्त गर्नेछन्।