१६ करोड रूपैयाँ बराबरको आइपिओ जारी गर्न पियोर इनर्जीले धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ।
फागुन दुई गते कम्पनीले बोर्डबाट स्वीकृति पाएको हो। आइपिओ जारी गरेसँगै कम्पनीको चुक्ता पुँजी ८० करोड रूपैयाँ पुग्ने छ।
कम्पनीको सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ।
कम्पनीको मुख्य लगानीकर्ता गोल्यान समूह र रिनर्गो डेभलपमर्स हो। बाँकेको रनियापुर गाउँपालिकामा कम्पनीले सोलारमाध्यमबाट २० मेगावाट विद्युत उत्पादन गर्ने गरी सञ्चालनमा ल्याएको छ।
कम्पनीले त्यहाँ जडान गरेको दुईवटा सोलार प्लान्टबाट १०-१० मेगावाट विद्युत उत्पादन भइरहेको छ।
यसबाट उत्पादित विद्युत 'टेक अर पे' मा आधारित छ। अर्थात् नेपाल विद्युत प्राधिकरणले विद्युत लिन नसकेको अवस्थामा पनि पैसा तिर्नैपर्छ। यसबाट उत्पादन विद्युत सात रूपैयाँ ३० पैसा प्रतिघण्टा प्रतिकिलोवाटको दरमा खरिद गर्ने सम्झौता प्राधिकरणसँग भइसकेको छ।
सरकारले यस्ता सोलार प्रोजेक्टलाई हाल १० वर्षसम्म पूर्ण कर छुट र त्यसपछिको पाँच वर्षसम्म ५० प्रतिशत छुट दिने घोषणा गरेको छ। अप्रिल २०२७ सम्म उत्पादन गर्ने आयोजनाले यस्तो सुविधा पाउँछन्।
यो आयोजनाको लागत दुई अर्ब २४ करोड अनुमान गरिएकोमा केही बढेर दुई अर्ब ४२ करोड पुगेको थियो। आयोजनाको प्रतिमेगावाट लागत १२ करोड १० लाख रूपैयाँ कायम भएको छ।
कम्पनीले २०७९–८० मा दुई करोड ९० लाख रूपैयाँ सञ्चालन आम्दानी गरेको छ।