नेपाल बैंकर्स एसोसिएसन (संघ) को ३८ औं साधारण सभाले सन्तोष कोइरालालाई अध्यक्षमा निर्विरोध चयन गरेको छ।
बैंकर अशोक शेरचनले उम्मेदवारी फिर्ता लिएसँगै कोइराला अध्यक्ष चयन भएका हुन्।
१४ वर्षदेखि बैंकर्स संघमा सहमतिमै अध्यक्ष चयन हुँदै आएको छ।
अन्तिम पटक २०६७ माघमा संघको अध्यक्षको लागि निर्वाचन भएको थियो।
अध्यक्षको कार्यकाल दुई वर्षको हुन्छ। हाल संघमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी अध्यक्ष छन्।
आगामी पुस ३ गते संघको वार्षिक साधारण सभा छ।
कोइराला हाल उपाध्यक्ष छन्। उनी अध्यक्ष हुने भएपछि सो पदमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मी आउने भएका छन्।
त्यस्तै, रिक्त सदस्य पदमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डे आउने भएका छन्।
एक कार्यकाल पूरा गरेका एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सदस्यमा निरन्तरता दिने भएका छन्।
बुधबार संघले एक कार्यक्रम गर्दै आफ्नो ३८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो। कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका निवर्तमान अध्यक्ष सुनिल केसीले आफ्नो कार्यकालमा भएका मूख्य गतिविधिको जानकारी दिए। सबैको सहयोग एवं सदभावका लागि उनले धन्यवाद पनि दिए।
'नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियामै उत्कृष्ट छ। यसका लागि नेपाल राष्ट्र बैंकको भूमिका र अभिभावकत्वका लागि धन्यवाद,' उनले भने।
कार्यक्रममा इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आइएफसी) का दक्षिण एसियाका लागि क्षेत्रीय अर्थशास्त्री कमलिका दासले वर्तमान विश्व अर्थ व्यवस्थाबारे जानकारी दिए। विश्व अर्थ व्यवस्थामा देखिएका मुख्य चुनौती र समाधानका उपायबारे पनि उल्लेख गर्दै उनले आफ्नो प्रस्तुति दिए।
'दक्षिण एसियाली राष्ट्रको आर्थिक वृद्धि अन्य देशभन्दा तुलनात्मक रूपमा राम्रो देखिएको छ,' उनले भने, 'यो क्षेत्रमा प्रवाह हुने विप्रेषणले निजी उपभोग बढाएको र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्याएको छ।'
संघको वार्षिक साधारण सभाको अवसरमा प्रत्येक वर्ष बैंकिङ क्षेत्रमा उल्लेखनीय योगदान दिने व्यक्तित्वलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिँदै यस वर्ष राजन सिंह भण्डारीलाई सम्मान–पत्र प्रदान गरिएको छ। भण्डारीले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अध्यक्ष, नेपाल बैंकर्स संघको अध्यक्ष, नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक लगायत अन्य विभिन्न ओहोदामा रही आर्थिक, मौद्रिक, बैंकिङ तथा वित्तीय क्षेत्रको विकास र सुधार कार्यक्रमलाई अगाडि बढाउन र समन्वय गर्न योगदान पुर्याएका छन्।
यसै गरी गएको एक वर्षमा बैंकिङ क्षेत्रबाट बिदा भएका रत्नराज बज्राचाय र किरण कुमार श्रेष्ठलाई उनीहरूको योगदानको कदर गर्दे सम्मान पत्र प्रदान गरियो।
वार्षिक कार्यक्रमका प्रमुख आतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सम्बोधन गर्दै नेपालको बैंकिङ क्षेत्र अन्य क्षेत्रभन्दा धेरै नै पारदर्शी रहेको बताए। नेपाल राष्ट्र बैंकले ल्याउने सुधारका नीतिहरू बैंकिङ क्षेत्रलाई अप्ठ्यारो बनाउन नभई सबल बनाउने दिशामै केन्द्रित हुने उनले बताए।
कार्यक्रमको अन्त्यमा नेपाल बैंकर संघका नवनिर्वाचित अध्यक्ष सन्तोष कोइरालाले संघ सबैको साथ र सहयोगको साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।