नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा सन्तोष कोइराला चयन हुने भएका छन्।
बैंकर अशोक शेरचनले उम्मेदवारी फिर्ता लिएसँगै कोइराला अध्यक्षका लागि चयन हुने भएका हुन्। शेरचनले अध्यक्षको उम्मेदवारी फिर्ता लिएको पुष्टि संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले गरेका छन्।
१४ वर्षदेखि बैंकर्स संघमा सहमतिमै अध्यक्ष चयन हुँदै आएको छ। अन्तिम पटक २०६७ माघमा संघको अध्यक्षको लागि निर्वाचन भएको थियो।
अध्यक्षको कार्यकाल दुई वर्षको हुन्छ। हाल संघमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी अध्यक्ष छन्।
आगामी पुस ३ गते संघको वार्षिक साधारण सभा छ।
कोइराला हाल उपाध्यक्ष छन्। उनी अध्यक्ष हुने भएपछि सो पदमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मी आउने भएका छन्।
त्यस्तै, रिक्त सदस्य पदमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डे आउने भएका छन्।
एक कार्यकाल पूरा गरेका एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सदस्यमा निरन्तरता दिने भएका छन्।