नेपाल बैंकर्स संघमा १४ वर्षपछि निर्वाचनबाट अध्यक्षको चयन हुने भएको छ।
पुस ३ गते हुने संघको साधारण सभाले अध्यक्ष चयन गर्ने छ।
विगतदेखि सर्वसम्मतिमा अध्यक्ष चयन हुने गरेकोमा यसपटक चुनाव हुने देखिएको हो।
अध्यक्ष पदको लागि हुने चुनावमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले उम्मेदवारी दर्ता गराएका छन्।
हाल शेरचन संघमा सदस्य छन् भने कोइराला उपाध्यक्ष छन्।
अन्तिम पटक २०६७ माघमा संघको अध्यक्षको लागि निर्वाचन भए पनि त्यसयता सहमतिमा अध्यक्ष चयन हुँदै आएको छ।
अध्यक्षको कार्यकाल दुई वर्षको हुन्छ। हाल संघमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी अध्यक्ष छन्।