२०७९ माघमा बैंकहरूले औसत १३.०३ प्रतिशत ब्याजदरमा कर्जा दिइरहेका थिए। सो समय सेयर धितोमा जाने कर्जामा सबैभन्दा धेरै औसत ब्याजदर १४.५८ प्रतिशतसम्म थियो।
अहिले बैंकिङ प्रणालीमा भएको अधिक तरलताको लाभ भने यही सेयर धितोमा जाने कर्जाले पाइरहेको छ।
अहिले बैंकहरूले सेयर धितो कर्जामा औसत ९.१३ प्रतिशत रहेको राष्ट्र बैंकले प्रकाशित गरेको गत कात्तिकसम्मको तथ्यांकले देखाउँछ।
अन्यत्र क्षेत्रबाट कर्जाको माग कम भएसँगै यो क्षेत्रलाई बैंकहरूले प्राथमिकतामा राखेको देखिन्छ।
अहिले बैंकहरूले प्रडक्ट शीर्षकाको आधारमा दिने कर्जामा सबैभन्दा कम ब्याजदर ८.०४ प्रतिशत छ। बैंक तथा वित्तीय संस्थाले विपन्न वर्ग कर्जामो यो ब्याजदर दिइरहेका हुन्।
यसपछि अल्पकालीन चालु पुँजी वा मागमा आधारित कर्जाको ब्याजदर छ। यो शीर्षकमा बैंकहरूले ८.७३ प्रतिशत ब्याज लिइरहेका छन्। यसपछि कम ब्याजदर हुने कर्जा भनेकै सेयर धितोमा जाने कर्जा हो।
क्यास क्रेडिट कर्जा ९.२१ प्रतिशत, बिल खरिद कर्जामा ९.२२ प्रतिशत, आवधिक (टर्म) कर्जामा ९.३९ प्रतिशत, आवासीय घर कर्जा ९.४२ प्रतिशत, सवारी कर्जा ९.५८ प्रतिशत र घरजग्गा कर्जा (रियल स्टेट) ९.६० प्रतिशतमा दिइरहेका छन्।
अन्यमा ९.६७ प्रतिशत र अधिविकर्ष (ओभरड्राफ्ट) १०.०६ प्रतिशत ब्याजदरमा दिइरहेका छन्।
क्षेत्रगत आधारमा कृषि क्षेत्र र यससँग सम्बन्धित व्यवसायले सबभन्दा कम ब्याजमा कर्जा पाइरहेका छन्।
यो क्षेत्रले ८.२२ प्रतिशतदेखि ८.९० प्रतिशत ब्याजदरमा कर्जा पाइरहेका छन्। माछापालन, कृषि, वन तथा पेय पदार्थ उत्पादन, खानी लगायतका क्षेत्रले यो दरमा कर्जा पाइरहेका हुन्।
उपभोग, 'अन्य', निर्माण क्षेत्र र धातुबाट बन्ने उत्पादन, इलेक्ट्रोनिक उत्पादन तथा एसेम्बिलिङ क्षेत्रले सबैभन्दा धेरै ब्याजदर तिरिरहेका छन्। यी क्षेत्रले ९.४५ देखि ९.९५ प्रतिशतसम्म ब्याजदर तिर्नु परिरहेको छ।
ब्याजदर सस्तो भइरहे पनि कर्जा भने बढ्न सकेको छैन। समग्रमा असोजको तुलनामा कर्जा लगानी घटेको छ। असोज महिनामा बैंकिङ प्रणालीबाट ४६ खर्ब ३१ अर्ब ८० करोड कर्जा लगानी भएकोमा कात्तिकमा घटेको हो।
कात्तिकमा कर्जा लगानी ४६ खर्ब ३१ अर्ब ४५ करोडमा सीमित भएको छ।
क्षेत्रगत आधारमा निर्माण क्षेत्र, माछा पालन, थोक तथा खुद्रा बिक्रेतामा जाने, होटेल क्षेत्र र 'अन्य' क्षेत्रमा जाने कर्जा सामान्य घटेको हो।
शीर्षकगत आधारमा अधिविकर्ष कर्जा, क्यास क्रेडिट, विपन्न वर्ग र 'अन्य' शीर्षकको कर्जा समान्य घटेको हो।