तिहारपछि सेयर बजार बढ्ने विश्लेषण सोभन्दा अघि नै भइरहेको थियो। तिहार सकिएको छ। मंगलबारबाट सेयर बजारमा नियमति कारोबार हुन थाल्नेछ।
तिहारअघि झै अहिले पनि भोली मंगलबारबाट हुने कारोबारसँगै बजार बढ्ने अनुमान गरिएका छन्। सेयर बजार बढ्ने चर्चा किन भइरहेको छ भनेर हामीले केहीसँग कुराकानी गरेका छौं। सेयर बजार बढ्न सक्ने करीब पाँच आधार उनीहरूले दिएका छन्।
पहिलो कारण
आउँदै गरेको मौद्रिक नीतिको पहिलो त्रैमाशिक समिक्षा थप लचिलो हुनसक्ने अनुमान लगानीकर्ताहरूको छ।
‘यसपटक मौद्रिक नीति ल्याउँदा गभर्नर लचिलो देखिनु भयो, पहिलो त्रैमाशमा पनि केही खुकुला नीतिहरू आउन सक्ने अनुमान गरिएको छ,’ सेयर लगानीकर्ता संघका अध्यक्ष ताराप्रसाद फुलेलले भने।
व्यक्तिगत लगानीकर्तालाई सेयर कर्जामा कायम गरिएको सीमा हटाउने पक्षमा गभर्नर महाप्रसाद अधिकारीलाई मनाउने प्रयास भइरहेको बुझिएको फुलेल बताउँछन्।
अधिकारी आफ्नो कार्यकालको अन्तिम वर्षमा रहेकाले उनी लचक हुन सक्ने अनुमान गरिएको छ। हाल सेयर धितो कर्जामा व्यक्तिगत सीमा करोड रूपैयाँ रहेको छ। उनले कतिपय कर्जाको जोखिम प्रावधान पनि घटाउन सक्ने अनुमान लगानीकर्ताहरूमा छ।
दोस्रो कारण
घट्दो ब्याजदर र कर्जा लगानीमा हुन नसकेको सुधारले पनि सेयर बजारमा पुँजी प्रवाह हुन सक्ने बजारसम्बद्धहरूको विश्लेषण छ।
‘चाडबाडको कारण मानिसहरू ब्यस्त थिए, अब भने घट्दो ब्याजदरको लाभ लगानीकर्ताहरूले उठाउन सक्ने देखिन्छ,’ सेयर ब्रोकर प्रियराज रेग्मी भन्छन्।
लगानीको विकल्प नभएकोले पनि अन्ततः पुँजी सेयर बजारमा भित्रन सक्ने उनको अनुमान छ।
बैंक तथा वित्तीय संस्थाको प्रडक्ट शीर्षक अनुसारको कर्जामध्ये सबैभन्दा धेरै वृद्धि हुने दोस्रोमा सेयर धितो कर्जा छ। राष्ट्र बैंकले सार्वजनिक गरेको भदौंसम्मको तथ्यांक अनुसार सेयर धितो कर्जा अघिल्लो वर्षको दुई महिनाको तुलनामा १०.७ प्रतिशतले वृद्धि भएको छ।
यो अवधिमा ९९ अर्ब ७६ करोड रूपैयाँ बराबर सेयर धितो कर्जा गएको छ। सबभन्दा धेरै आयातमा जाने कर्जा १७ प्रतिशतले बढेको छ।
त्यस्तै, भदौंमा आइपुग्दा कर्जाको औसत ब्याजदर ९.५२ प्रतिशत छ। करिब डेढ वर्षअघि कर्जाको औसत ब्याजदर १३.०३ प्रतिशतसम्म पुगेको थियो।
तेस्रो कारण
लगानीकर्ता तथा व्यवसायीहरूले हरेक त्रैमाश अन्त्यमा सरकारलाई कर बुझाउँनु पर्छ। साउनदेखि असोजसम्मको पहिलो त्रैमाशको दबाबमा रहेका लगानीकर्ताहरू अहिले यसबाट मुक्त भइसकेका छन्। अब पुस मध्य नहुँदासम्म लगानीकर्ताहरूले यस्तो दबाब हुँदैन्।
त्रैमाश अन्त्यमा सेयर धितो लिएर लगानी गरेकाहरूको मूल्य घट्दा बैंकहरूले समेत सम्पर्क गरेर धितो बढाउन लगाउँछन्।
अहिलेलाई यो दबाबको अवधि पनि सकिएकोले लगानी बढ्न सक्ने अनुमान उनीहरूको छ।
चौथो कारण
तिहार अघिदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकार ढल्ने हल्ला चलेको थियो। अहिले भने यस्तो हल्ला हराएर गएको छ। विपक्षी दल माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक कार्यक्रमहरूमा आफू सरकार ढाल्ने गतिविधिमा नलाग्ने बताउन थालेपछि पनि लगानीकर्ताहरू ढुक्क देखिएका हुन्।
छिटोछिटो सरकार फेरबदलको घटनाले अस्थिरता निम्तने भएकोले यसअघि लगानीकर्ताहरू चिन्तित देखिएका थिए।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन लागिएको र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी काण्डले पनि सरकार फेरबदल हुनसक्ने घटनालाई बल दिइरहेको थियो। यी विषय मत्थर हुँदै गएपछि लगानीकर्ताहरूमा बजार बढ्नेमा आशा बढेको उनीहरू बताउँछन्।
पाँचौं कारण
नेप्सेमा सूचीकृत कम्पनीहरूको पहिलो त्रैमासिक प्रतिवेदनमा सुधार देखिदै गएकोले पनि बजारमा यसले सहयोग नै पुग्ने अपेक्षा उनीहरूको छ। बैंकहरूको वित्तीय विवरणमा सुधार देखिएको छ। केही जलविद्युतहरुमा क्षति पुगेपनि बाँकीको विवरण राम्रो आउन सक्ने अनमान गरिएको छ।
यही कारण लगानीकर्ताहरूमा तिहारपछि बजार बढ्ने मत बलियो बन्दै गएको र बजार भित्रने सोचमा रहेको फुलेल बताउँछन्।
सबै तिर बजार बढ्छ भन्ने माहौल बनेपछि यसै कारणले पनि बजार बढ्ने अनुमान उनीहरूको छ।