हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।
अस्पतालले सर्वसाधारणका लागि ११ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्न बोर्डलाई निवेदन दिएको हो।
अस्पतालले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा १८८ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २८८ रुपैयाँमा ११ लाख २५ हजार कित्ता आइपिओ जारी गर्न स्वीकृत माग्दै बोर्डमा निवेदन दिएको हो।
गत आर्थिक वर्षको असारमा प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड बनेको अस्पतालले जारी पुँजीको १५ प्रतिशत आइपिओ निष्कासन गर्ने भन्दै निवेदन दिएको हो।
अस्पतालले सेयर निष्कासनका लागि ब्रिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ भने सेयर अण्डरराइटिङ एसबीआई मर्चेन्ट लिमिटेडले गर्नेछ।
यसैमध्येबाट बढीमा ५ प्रतिशत सेयर कर्मचारीका लागि जारी गरिने साधारण सभाले निर्णय गरेको छ। बाँकी ८५ प्रतिशत सेयर स्वामित्व भने संस्थापक समूहको हुने अस्पतालले जनाएको छ। अस्पतालले १० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने बताएको छ।
ह्याम्स अस्पतालले स्वास्थ्य क्षेत्रमै पहिलो पटक आइपिओ जारी गर्न लागेको हो। आइपिओ निष्कासनका लागि कम्पनीले क्रेडिट रेटिङ पनि गराइसकेको छ। रेटिङ एजेन्सी इक्रा नेपालले आइपिओ निष्कासनका लागि इक्रा एनपी त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ।