ग्लोबल आइएमई बैंकको १७औं वार्षिक साधारणसभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ।
उक्त साधारण सभाले आर्थिक वर्ष २०७९/८० को कुल मुनाफाबाट सेयरधनीहरूलाई प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर गरी जम्मा ९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ।
साधारण सभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०७९/८० को कुल मुनाफाबाट बैंकले सेयरधनीहरूलाई प्रस्ताव गरेको बोनस सेयर तथा नगद लाभांश दिने प्रस्तावलाई पारित गरेको छ।
बैंकले आर्थिक वर्ष २०७९/८० मा सञ्चालन मुनाफा १२ अर्ब ६९ करोड रूपैयाँ र कर पछिको मुनाफा ६ अर्ब ६९ करोड रूपैयाँ आर्जन गरेको थियो। प्रस्तावित बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड रूपैयाँ ८७ लाख पुग्नेछ।
साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक नेपाल सरकार एवम् नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको परिपालना गर्दै सेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए।
यसैगरी, उक्त सभाले संस्थापक सेयरधनी समूहबाट ३ जना र सर्वसाधारण सेयरधनी समूहबाट ३ जना समेत जम्मा ६ जना सञ्चालकको निर्वाचन गरेको छ।
संस्थापक सेयरधनीहरूमध्येबाट चन्द्रप्रसाद ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त निर्वाचित भएका छन् भने सर्वसाधारण सेयरधनीतर्फबाट नारायणप्रसाद पौडेल, मदनलाल जोशी र कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन्।