हालै राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् सेयरमा लगानीका लागि एक व्यक्ति वा संस्थाले सेयर धितो राखेर बैंकबाट पाउने ऋणको अधिकतम् सीमा १२ करोड तोकिदिएको थियो।
यही व्यवस्थाका कारण सेयर बजार घटेको भन्दै लगानीकर्ताको समूहले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गर्यो। साेमबार मन्त्री शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरे र सेयर बजारमा देखिएको समस्या समाधान गर्न निर्देशन दिए।
गभर्नरलाई अर्थमन्त्रीले फोन गरेपछि बजारमा १२ करोडको ऋण सीमा हट्ने हल्ला चल्यो। त्यही हल्लाको प्रभाव बजारमा पर्यो।सोमबार नेप्से परिसूचक १६२ अंकले बढ्यो।
सेयर बजार बढिरहनु पर्ने, घट्नेगरी कुनै नीति नै आउन नहुने मानसिकता केही कारोबारी/लगानीकर्ताको छ। यही मानसिकताका कारण सोमबार केही समूहले राष्ट्र बैंकमा गई गभर्नरविरूद्ध नाराबाजीसमेत गरे।
विज्ञहरू भने नीतिगत व्यवस्थाले सेयर बजारको अंक घटबढभन्दा पनि अर्थतन्त्रलाई सही दिशामा लैजानु पर्ने बताउँछन्।
राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले सेतोपाटीसँग भने, ‘समग्र अर्थव्यवस्थालाई सही दिशामा लैजान मौद्रिक नीति केन्द्रित हुनुपर्छ, कुनै एउटा बैंकको हित वा सेयर बजारको अंकमात्रै बढाउनु पर्ने विषय यो होइन।’
१२ करोडको सीमाले साना लगानीकर्तालाई कुनै असर नपार्ने पनि उनले स्पष्ट पारे।
‘एउटा सामान्य लगानीकर्ताले त्यति धेरै ऋण पनि लिँदैन, त्यसकारण सीमित व्यक्ति होइन, आमसर्वसाधारणको हितका लागि राष्ट्र बैंकले कदम चाल्नुपर्छ, अहिलेको व्यवस्थाले मध्यम र साना लगानीकर्तालाई असर पार्दैन,’ क्षेत्रीले भने।
नेपाल बैंकर्स एसोसिएसनका अनुसार हाल सेयर लगानीका लागि १२ करोडभन्दा बढी ऋण लिएकाहरूको संख्या १६५ जनाको हाराहारीमा छ। ती व्यक्ति/संस्थालाई ऋण सीमामा झार्न राष्ट्र बैंकले १ वर्षको समयावधि दिएको छ।
राष्ट्र बैंकले कसैको दबाबमा निर्णय गर्न नहुने क्षेत्री बताउँछन्।
राष्ट्र बैंकले सेयर ऋणको सीमाबारे अहिले कुनै परिवर्तन नहुने प्रष्ट पारिसकेको छ। राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले सेतोपाटीसँग कुराकानी गर्दै भने ‘जारी भइसकेको मौद्रिक नीतिका सम्बन्धमा विगतमा आफ्नै इतिहास छ, मौद्रिक नीतिको प्रभाव कस्तो रह्यो भन्ने विषयलाई हामीले हरेक ३–३ महिनामा रिभ्यु गर्छौं, रिभ्यु गर्दा नै कतिपय विषय संशोधन हुन पनि सक्छन्, यथावत् रहन पनि सक्छन्।’
मौद्रिक नीति ल्याइसकेपछि जुनसुकै बेला छलफल गर्ने, परिवर्तन गर्ने विषय नभएको उनले बताए।
कतिपय लगानीकर्ताले भन्ने गरेका छन्- आफ्नो सम्पत्ति धितो राखेर चाहेजति ऋण किन नपाउने, जोखिम कसैले लिइदिनुपर्ने होइन।
यो तर्कमा सीमित व्यक्तिको मात्रै स्वार्थ गाँसिएको अर्काथरि लगानीकर्ता बताउँछन्।
नेपाल पुँजी बजार विकास अभियानका संयोजक तिलक कोइरालाले नियामकले कर्जा सीमा तोक्दा केही लगानीकर्ताले आन्दोलन गर्नु हास्यास्पद भएको बताए।
‘बचत परिचालन गर्ने एउटा माध्यम सेयर बजार हो, तर ऋणको सीमा तोकेकै भरमा बजार घट्नु भनेको अपरिपक्वता हो’ उनले भने।
अर्कोतर्फ बैंक भनेका पब्लिक कम्पनी हुन्। आम नागरिकले बचत गरेको पैसालाई कहाँ परिचालन गर्ने, केलाई प्राथमिकता दिने भन्ने विषय नितान्त नियामक राष्ट्र बैंकको क्षेत्राधिकार हो। सीमित व्यक्तिको समूहले आफ्नो स्वार्थका लागि मात्रै बैंकको पैसा परिचालन गर्न पाउनु पर्ने माग गलत रहेको पूर्वगभर्नर क्षेत्री बताउँछन्।
‘रोजगारी बढाउने, आयात प्रतिस्थापन गर्ने खालका उत्पादनमूलक उद्योग क्षेत्रका लागि नीति प्रोत्साहनमूलक हुनुपर्छ, अनुत्पादक क्षेत्रलाई खुम्च्याउनु पर्ने हुनसक्छ, त्यही व्यवस्था राष्ट्र बैंकले गर्न खोजेको देखिन्छ’ उनले भने।
ऋण सीमाको नीतिबारे कतिपय लगानीकर्ताले समर्थन जनाएका छन्। अर्थमन्त्री शर्माले यसबारे स्वायत्त निकायलाई दिएको निर्देशन नै गलत रहेको उनीहरूको बुझाइ छ।
‘तरलता व्यवस्थापन गर्ने, ब्याजदरलाई दिशानिर्देश गर्ने, ऋणको सीमा तोक्ने काम राष्ट्र बैंकको हो अर्थ मन्त्रालयको होइन’ पूर्वगभर्नर क्षेत्रीले भने।
राष्ट्र बैंकको बोर्डमै अर्थ मन्त्रालयबाट प्रतिनिधित्व हुन्छ। त्यही बोर्डले पारित गरेपछि मौद्रिक नीति आउने हो।
अर्थमन्त्री शर्माले गभर्नर अधिकारीसँग गरेको फोन सम्वादबारे मन्त्रालयले नै विज्ञप्ति सार्वजनिक गरेर भनेको छ ‘मन्त्रीले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई भन्नु भएको छ।’
अहिले पुँजी बजारमा कुनै समस्या नै छैन। मात्रै राष्ट्र बैंकको नीतिपछि बजार घटेको आक्रोश एउटा समूहमा छ। त्यही समूहले अर्थमन्त्रीलाई भेटेर दबाब दिँदै आएको छ।
अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले भने मन्त्री र गभर्नरबीच के कुराकानी भयो भन्ने विषयमा आफूलाई जानकारी नभएको बताए।
‘गभर्नरलाई मन्त्रीले फोन गर्दैमा हस्तक्षेप भन्न मिल्छ?,’ उनले भने, ‘बजारमा के भएको हो भन्नेबारे मन्त्रीज्यूले जानकारीमात्रै लिएको पनि हुन सक्छ।’
पुँजी बजारको विकासका लागि अर्थ मन्त्रालयले गर्नै पर्ने कामसमेत नगर्ने तर स्वायत्त निकायलाई आदेश दिनु उपयुक्त नभएको पुँजी बजार विकास अभियानका संयोजक कोइरालाको आराेप छ।
‘धितोपत्र बोर्डले हालै ब्रोकर संख्या थप्नु पर्ने सुझावसहितको निर्देशिका अर्थमा पठाएको छ, त्यसतर्फ उहाँहरूको चासो छैन, बजारको अंकमा मात्रै ध्यान दिने?,’ उनले प्रश्न गरे।
बजारको अंक कम्पनीको वित्तीय अवस्था, लाभांश दिने क्षमतालगायत कुरामा निर्भर हुने उनको भनाइ छ।
बजार बढेपछि घट्नु सामान्य सिद्धान्त हो, विगत एक वर्षलाई हेर्ने हो भने परिसूचक १५०८ बाट २९१४ पुगेको छ।
‘बजार सधैं बढ्नुपर्छ भन्ने मानसिकता त्याग्नुपर्छ, त्यस्तो मानसिकता राख्नेले लगानी नगर्नु नै ठीक हुन्छ,’ कोइरालाले भने।
यतिबेला हल्लाकै भरमा लगानी गर्नेहरूले राष्ट्र बैंकको कदमको विरोध जनाएका छन्।
‘नेप्से परिसूचक ५ हजार पुग्ने भन्दै किन्नेहरूको मूल्य बढेन, त्यसैले आत्तिएर आन्दोलनमा गए,’ लगानीकर्ता पिताम्बर खरेलले भने।
बजार घट्यो भन्दैमा आत्तिने वास्तविक लगानीकर्ता नै नभएको टिप्पणी गर्छन् कोइराला। ऋणको सीमाले मात्रै नभई बजार घट्नुमा धेरै कारण जोडिएको कोइरालाले बताए। निषेधाज्ञा खुलेपछि अन्य क्षेत्रमा लगानी परिचालन हुनु, तरलताको समस्या हुनु लगायतका विषयले पनि असर पारेको उनले बताए।
सीमित समूहले गरेको आन्दोलनमा अरू लगानीकर्ताका संगठनले साथ नदिने कोइरालाले बताए।
‘ब्रोकर कमिसन घटाउने, अरूलाई पनि लाइसेन्स दिने, अर्को स्टक एक्स्चेन्ज सञ्चालन गर्नेजस्ता पूर्वाधार बढाउनु पर्ने विषय अहिलेका प्राथमिकता हुन्,’ उनले भने।
अन्य देशमा पनि सेयर कर्जामा सीमा तोकिने गरेको तर राष्ट्र बैंकले कायम गरेको सीमा कम नरहेको उनले बताए।
सेयर धितोमा अत्याधिक ऋण जाँदा जोखिमसमेत बढ्न जान्छ। यही जोखिमलाई मध्यनजर गर्दै राष्ट्र बैंकले सेयर धितो राखेर अरू व्यवसायका लागि जति पनि ऋण पाइने तर सेयरमै लगानी गर्नका लागि १२ करोडको सीमा राखिएको स्पष्ट पारेको छ।
गत भदौ ११ गते मौद्रिक नीतिबारे आयोजित भर्चुअल छलफल कार्यक्रममा गभर्नर अधिकारीले नै भनेका थिए, ‘नियमित व्यवसाय गर्नेका लागि आफूसँग भएको सेयर धितोको रूपमा राखेर ऋण लिनका लागि १२ करोड सीमाको केही अर्थ छैन। सेयर धितो राखेर ऋण लिनुहुन्छ, त्यो पैसा फेरि सेयरमा लगाउनुहुन्छ, फेरि अर्को ऋण लिनुहुन्छ, यो खालको प्रवृत्ति ठीक छैन है भनेर सीमा राखेका हौं, सीमा पनि धेरै माथि नै राखेका छौं।’
सेयर धितोमा पछिल्लो १२० दिनको औसत मूल्यलाई आधार मानेर कुल सेयर मूल्यको ७० प्रतिशतसम्म ऋण पाइने गरेको छ।राष्ट्र बैंकका अनुसार एक वर्षमा सेयर धितोमा गएको कर्जा ११० प्रतिशतले बढेको छ। गत असार मसान्तसम्म १ खर्ब ६ अर्ब रुपैयाँ यस्तो कर्जा प्रवाह भएको छ।
सेयर लगानीमा अत्याधिक ऋण जाँदा भोलि अस्वभाविक रूपमा मूल्य बढ्न जाने जोखिम रहन्छ। मूल्य अस्वभाविक भएपछि यिनै ठूलाले बेच्न थाल्ने र साना लगानीकर्ता फस्ने जोखिमसमेत हुन्छ। त्यसकारण राष्ट्र बैंकको नीतिले साना लगानीकर्तालाई झन् सुरक्षित बनाउने पुँजी बजार विकास अभियानका संयोजक कोइरालाको भनाइ छ।