कोभिड–१९ को असरका बाबजुद वाणिज्य बैंकहरुको नाफा बढेको छ।
साउनदेखि चैत मसान्तसम्म नौ महिनामा २७ वाणिज्य बैंकहरूले कुल ५० अर्ब ७४ करोड रुपैयाँ खुद नाफा (कर छुट्याएपछि) कमाएका छन्।
समग्रमा बैंकहरूको नाफा गत वर्षको यसै अवधिको तुलनामा ६ अर्ब ७ करोड रूपैयाँ अर्थात १३.५ प्रतिशत बढेको छ। गत वर्ष यसै अवधिमा ४४ अर्ब ७० करोड रूपैयाँ खुद नाफा कमाएका थिए।
नाफाका आधारमा नबिल बैंकले सबैलाई जितेको छ। नबिलले नौ महिनामै तीन अर्ब ६७ करोड रूपैयाँ खुद नाफा कमाएको छ। नबिलसँगै ग्लोबल आइएमई, राष्ट्रिय वाणिज्य र एनआइसी एसिया तीन अर्बभन्दा बढी कमाउनेमा परेका छन्।
२७ मध्ये छ बैंकको नाफा घटेको छ। एभरेष्ट, हिमालयन, स्टान्डर्ड चार्टर्ड, एनसिसी, एसबिआई र सेन्चुरीको नाफा घटेको हो। बाँकी २१ बैंकको नाफा बढेको छ।
वृद्धिदरका आधारमा एनएमबी सबभन्दा अगाडि छ। बैंकले ८८ प्रतिशत नाफा बढेको विवरण देखाएको छ। घट्नेमा सेन्चुरी बैंकको सबभन्दा धेरै, ६१ प्रतिशत घटेको छ।
कोभिडका बाबजुद कसरी बढ्यो बैंकहरूको नाफा?
कोभिडका बाबजुद बैंकहरूको नाफा बढ्नुमा राष्ट्र बैंकले ऋणीलाई भनेर दिएको सहुलियत पनि हो।
कोभिड प्रभावित उद्योगी-व्यवसायीलाई साँवा तथा ब्याज भुक्तानीका लागि कर्जा पुनर्तालिकीकरण र पुनर्संरचना गर्न पाउने र तिर्ने अवधि पनि थप दिइएको थियो।
‘राष्ट्र बैंकले ऋणीलाई दिएको पुनर्संरचनाका कारण केही हदसम्म बिजनेस र नाफा बढाउन टेवा पुगेको हो,’ सेतोपाटीसँगको कुराकानीमा राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरणकुमार श्रेष्ठले भने।
नउठेको ऋणमा जम्मा ५ प्रतिशत ‘प्रोभिजन’ गरे पुग्ने व्यवस्था गरियो। समयावधिअनुसार नउठेको ऋणमा शत प्रतिशतसम्म प्रोभिजन गर्नुपर्ने व्यवस्था छ। भाखा नाघेको छ महिनापछि ५० प्रतिशत र एक वर्षपछि शत प्रतिशतसम्म प्रोभिजन गर्नुपर्छ। प्रोभिजन बढ्दा नाफामा प्रत्येक्ष असर पार्छ।
ऋणीले समयमै तिर्न नसकेको कतिपय साँवा तथा ब्याजलाई पुँजीकृत गरियो, केही पुनर्तालिकीकरण गरियो। यसले एकातिर बैंकको बिजनेस बढ्यो, अन्य शुल्क आर्जन बढ्यो, अर्कोतिर देखिनेगरी निष्क्रिया कर्जा बढ्न पाएन, जसले नाफामा टेवा पुगेको छ।
बैंकहरूको बिजनेस बढाउनमा अर्को सहुलियत पनि फाइदामुलक देखियो। ऋणीहरूलाई चालु पुँजी कर्जाको अधिकतम २० प्रतिशतसम्म र आवधिक कर्जाको अधिकतम १० प्रतिशतसम्म थप कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरिएको थियो।
समग्रमा बैंकहरूको बिजनेस नै बढ्दा नाफामा उल्लेख्य टेवा पुगेको श्रेष्ठको भनाइ छ।
‘यो आर्थिक वर्षमा हाम्रो बिजनेस वृद्धिदर राम्रो छ, बिजनेस नै बढेपछि नाफा स्वभाविक बढ्छ नै,’ उनले भने।
बैंकहरूको मुख्य बिजनेस भनेको कर्जा प्रवाह हो। कर्जाको वृद्धिदर यो वर्ष उच्च देखिन्छ।
गत वर्ष चैत मसान्तसम्म २७ बैंकहरूले कुल २८ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा यो चैत मसान्तसम्म आउँदा ३५ खर्ब ७३ अर्ब रुूपैयाँ पुगेको छ। समग्रमा एक वर्षमा २५ प्रतिशतले कर्जा बढेको छ। निक्षेपभन्दा पनि कर्जाको वृद्धिदर बढी हो। सो अवधिमा निक्षेप भने २३ प्रतिशतले बढेको छ।
त्यस्तै बैंकहरूले निक्षेपमा ग्राहकलाई दिने ब्याजदर पनि बढाएनन्, बरू उल्टै घटाए। यसले खुद ब्याज आम्दानी बढ्न टेवा पुग्यो।
‘पहिलेजस्तो व्यक्तिगत मुद्दतीमा १०–१२ प्रतिशत ब्याज दिएर निक्षेप तान्नुपर्ने अवस्था आएन। बरु त्यसअघि उच्च ब्याज दिएर लिइएको रकमको अवधि परिपक्व हुँदै गयो। पछि त्यही पैसा न्यून ब्याजमा निक्षेपका रुपमा ग्रहण भयो जसले खुद ब्याज आम्दानी नै बढाउन मद्दत पुग्यो,’ सिइओ श्रेष्ठले भने।
हाल वाणिज्य बैंकहरूले मुद्दती खातामा जम्मा ८ प्रतिशतसम्म र केहीले स्किममार्फत साढे ८ प्रतिशतसम्म ब्याज दिन थालेका छन्। डेढ वर्षअघि (२०७५ मंसिर, पुसमा) बैंकहरूले १२ प्रतिशतसम्म मुद्दती निक्षेपमा ब्याज दिएका थिए। यसको समयावधि सकिँदै जाँदा बैंकको ब्याज खर्च घट्न जान्छ।
अर्कोतर्फ केही बैंकको मर्ज तथा एक्विजिसनपछिको एकीकृत वित्तीय विवरण आउँदा पनि नाफा बढी देखिएको हो।
कुन बैंकको नाफा कति ?
बैंक
|
नाफा (साउन–चैत ०७७)
|
नाफा (साउन- चैत ०७६)
|
वृद्धिदर (प्रतिशतमा)
|
नबिल
|
३ अर्ब ६७ करोड
|
३ अर्ब १५ करोड
|
१६
|
ग्लोबल आइएमई
|
३ अर्ब ५७ करोड
|
२ अर्ब ७० करोड
|
३२
|
राष्ट्रिय वाणिज्य
|
३ अर्ब २७ करोड
|
३ अर्ब ३ करोड
|
७
|
एनआइसी एसिया
|
३ अर्ब
|
२ अर्ब ५० करोड
|
२०
|
इन्भेष्टमेन्ट
|
२ अर्ब ८४ करोड
|
२ अर्ब ४९ करोड
|
१४
|
प्राइम कमर्सियल
|
२ अर्ब ८१ करोड
|
२ अर्ब ३ करोड
|
३८
|
एनएमबी
|
२ अर्ब ५१ करोड
|
१ अर्ब ३३ करोड
|
८८
|
नेपाल
|
२ अर्ब २६ करोड
|
१ अर्ब ९९ करोड
|
१३
|
प्रभु
|
२ अर्ब १० करोड
|
१ अर्ब ४६ करोड
|
४३
|
कृषि विकास
|
२ अर्ब ७ करोड
|
२ अर्ब ४ करोड
|
१
|
सिद्धार्थ
|
२ अर्ब ६ करोड
|
१ अर्ब ३३ करोड
|
५४
|
मेगा
|
१ अर्ब ९७ करोड
|
१ अर्ब ४५ करोड
|
३५
|
सानिमा
|
१ अर्ब ८५ करोड
|
१ अर्ब ६१ करोड
|
१४
|
कुमारी
|
१ अर्ब ८० करोड
|
१ अर्ब १ करोड
|
७८
|
नेपाल बंगलादेश
|
१ अर्ब ६३ करोड
|
१ अर्ब
|
६३
|
सिटिजन्स
|
१ अर्ब ५४ करोड
|
१ अर्ब ९ करोड
|
४१
|
एभरेष्ट
|
१ अर्ब ५० करोड
|
२ अर्ब ३५ करोड
|
(३६)
|
माछापुच्छ्रे
|
१ अर्ब २९ करोड
|
१ अर्ब १६ करोड
|
११
|
हिमालयन
|
१ अर्ब २८ करोड
|
१ अर्ब ३१ करोड
|
(२)
|
लक्ष्मी
|
१ अर्ब २८ करोड
|
१ अर्ब ८ करोड
|
१८
|
स्टान्डर्ड चार्टड
|
१ अर्ब १८ करोड
|
१ अर्ब ८० करोड
|
(३४)
|
बिओके
|
१ अर्ब १६ करोड
|
८७ करोड
|
३३
|
सनराइज
|
१ अर्ब १३ करोड
|
९३ करोड
|
२१
|
एनसिसी
|
१ अर्ब १० करोड
|
१ अर्ब १६ करोड
|
(५)
|
एसबिआई
|
८७ करोड
|
१ अर्ब ४३ करोड
|
(३९)
|
सिभिल
|
५० करोड
|
३६ करोड
|
३८
|
सेन्चुरी
|
३५ करोड
|
९१ करोड
|
(६१)
|