केही दिनअघि मानवअधिकारकर्मी मोहना अन्सारीले एउटा ट्विट गरिन्, 'केवाइसी आतंक बन्द गर! एक जना आमैले नबिल बैंकमा रूँदै भन्नुभयो- बालाई प्रेसर छ, अस्पतालमा छाडेर आएको छु। लौन के गरूँ? यो केवाइसीका कारण खाता नै फ्रिज गर्यो।’
केवाइसी विवरण अद्यावधिक नगर्नेको खाता बैंकहरूले फ्रिज गर्ने गरेका छन्।
वर्षौंदेखि कारोबार नभएको निक्षेप खाता र ग्राहकको पूर्ण विवरण समेत नभएको अवस्थामा यस्ता खाता फ्रिज हुन्छन्। बैंक खाता फ्रिज भइसकेपछि तपाईंले रकम झिक्न पाउनुहुन्न।
अन्सारीको ट्विटले कसैको समस्या दर्शाएको थियो। यस्तो समस्या जुनसुकै बेला तपाईं-हामीले नै बेहोर्नुपर्न सक्छ। त्यसकारण यदि बैंकहरूले केवाइसी अपडेट गर्न बोलाउँदा पनि तपाईंले बेवास्ता गर्दै आउनुभएको छ वा तपाईंको सम्पर्क नम्बर, ठेगानाजस्ता अत्यावश्यक विवरण नै परिवर्तन भइसकेको अवस्थामा तपाईंले बैंकमा गई विवरण अद्यावधिक गर्नुपर्छ।
हरेक बैंकमा खाता खोल्दा नै केवाइसी फारम भर्न दिइन्छ। तर फारममा भरिएका सम्पर्क नम्बर, ठेगाना, इमेल लगायत विवरण परिवर्तन हुँदा बैंकले तपाईंलाई पहिचान गर्न सक्दैन। हरेक बैंकले ग्राहकको पहिचान विवरण राख्नुपर्ने व्यवस्था छ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल हरेक नागरिकले आफ्नो केवाइसी विवरण बैंकमा अद्यावधिक गराउनुपर्ने बताउँछन्। उनले भने, ‘बैंकहरूले भोलि ग्राहक खोज्दा भेटिनुपर्ने अवस्था हुनुपर्छ। त्यसमा सहयोग गर्नु ग्राहकको कर्तव्य हो।’
बेलाबेलामा विभिन्न वित्तीय अपराधका घटनाक्रम निम्तिने गरेका छन्। त्यस्ता घटना निरुत्साहित गर्न पनि केवाइसी विवरण अद्यावधिक हुनुपर्ने उनले बताए। आफ्नो खाता सुरक्षित राख्न ग्राहकलाई पनि यो महत्वपूर्ण रहेको उनको भनाइ छ।
नबिल बैंकका सूचना अधिकृत सुरेश त्रिपाठीका अनुसार लामो समयसम्म कुनै कारोबार नभएको, ग्राहकको कतिपय विवरण परिवर्तन भएको वा केवाइसी फारममा विवरण छुटेको अवस्थामा अद्यावधिक गरिँदै आएको छ।
बैंकले म्यासेजबाट मात्रै नभई सम्पर्क नै गरेर केवाइसी अद्यावधिक गर्न बोलाउने गरेको उनले बताए।
‘हामीले म्यासेज पनि पठाउँछौं, फोन सम्पर्क पनि गर्छौं। तर कतिपय अवस्थामा ग्राहकले लामो समयसम्म बेवास्ता गरेको पनि पाइन्छ,’ उनले भने, ‘त्यस्तो अवस्थामा खाता फ्रिज हुन्छ। तर ग्राहक सम्पर्कमा आइसकेपछि फेरि नयाँ विवरण लिएर खाता एक्टिभ गरिन्छ।’
खाता खोलेर कतिपयको फोन नम्बर नै परिवर्तन हुँदा पनि ग्राहकले प्रत्यक्ष रूपमा जानकारी नपाएको हुन सक्ने उनले बताए। इमेलमार्फत र सार्वजनिक सूचनामार्फत समेत केवाइसी विवरण अद्यावधिक गर्न बोलाइने गरेको उनको भनाइ छ।
ग्राहकको खाता फ्रिज भए पनि रकम भने सुरक्षित नै हुने उनले स्पष्ट पारे।
‘केवाइसी अद्यावधिक गरेर राख्नुपर्ने, अद्यावधिक नभएको अवस्थामा फ्रिज गर्न राष्ट्र बैंकले पहिलेदेखि नै भन्दै आएको कुरा हो.’ उनले भने, ‘नबिलले मात्रै होइन, हरेक बैंकहरूले यो गर्दै आएका छन्।’
यद्यपि खाता फ्रिज भइसकेपछि ग्राहकले समस्या देखाएमा केही विवरण रुजु गरेर बैंकले रकम नरोक्ने पनि उनले स्पष्ट पारे।
‘समस्या नै परेको अवस्थामा अस्थायी रूपमा फ्रिज खाता सञ्चालन गरिदिई भएको रकम झिक्न दिन्छौं,’ उनले भने।
साना साना विवरण छुटेको अवस्थामा ग्राहकले भनेकै आधारमा पनि आफूहरूले अद्यावधिक गरिदिने गरेको उनले जानकारी दिए।
खाता फ्रिज भएको वर्षौंपछि पनि ग्राहकले पहिचान खुल्ने विवरणका आधारमा रकम झिक्न सक्छन्। राष्ट्र बैंकले लामो समयसम्म खाता फ्रिज भएको अवस्थामा खातामा रहेको रकम खिच्नेगरी कार्यविधि बनाउने तयारी गरेको छ। तर कार्यविधिले पूर्णता पाइसकेको छैन। त्यस्तो रकम कसरी परिचालन गर्ने, बीचमा ग्राहक पैसा लिन आएमा कुन कुन विवरणबाट भुक्तानी गर्ने लगायत विषय कार्यविधिमा समेटिने छन्।
केवाइसी विवरण अद्यावधिक गर्न हाल कुनै समस्या नरहेको र बैंकले पनि त्यसमा सहजीकरण गर्नुपर्ने राष्ट्र बैंकका प्रवक्ता ढकालको भनाइ छ।
‘कतिपयले अनलाइनबाटै विवरण भर्न सक्ने व्यवस्था गरेका छन्, वा फोनमार्फत पनि जानकारी दिन सकिन्छ,’ उनले भने।
विकसित राष्ट्रहरूमा राष्ट्रिय कार्डमार्फत हरेक बैंक तथा वित्तीय संस्थाले ग्राहकको पहिचान राख्न सक्छन्। यहाँ एउटा बैंकमा खाता खोलिसकेपछि अर्को बैंकमा खाता खोल्दा पनि फेरि केवाइसी विवरण भर्नुपर्ने बाध्यता छ। अर्थात जुन जुन बैंक वा वित्तीय संस्थामा खाता खोले पनि लामो केवाइसी फारम भर्नुपर्ने झन्झट छ।
यस्तो झन्झट नहोस् भन्न एकीककृत केवाइसी विवरण राख्ने राष्ट्र बैंकको लक्ष्य छ।
‘एकीकृत विवरण राख्न थालिसकेपछि बैंकपिच्छे केवाइसी फारम भर्नुपर्ने बाध्यता हुँदैन। केवाइसीको विवरण राख्ने सम्बद्ध निकायबाट नै बैंकहरूले विवरण लिन सक्छन्,’ ढकालले भने।
एकीकृत विवरण कुन निकायले राख्ने भन्ने टुंगो लागेको छैन। निकाय तय भइसकेपछि मात्रै आवश्यक संयन्त्र विकास गरिनेछ। मौद्रिक नीतिमा समेत राष्ट्र बैंकले एकीकृत केवाइसी विवरण राख्ने व्यवस्था मिलाइने भनेर सम्बोधन गरेको छ। तर काम अघि बढ्न सकेको छैन।
वर्षौंदेखि खाता प्रयोग नभएको र सो खाता आवश्यक नै नठानेको अवस्थामा ग्राहकले बैंकमा गई बन्द गराउन सक्छन्। हाल बैंकिङ पहुँच ६५ प्रतिशतको हाराहारीमा रहँदा बैंक तथा वित्तीय संस्थामा भने कुल जनसंख्या भन्दा ४३ लाख बढीको निक्षेप (बचत) खाता छ।
हाल क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा कुल ३ करोड ४६ लाख ७१ हजार वटा निक्षेपकर्ताको खाता छन्। तथ्यांक विभागका अनुसार कुल जनसंख्या ३ करोड ३ लाख छ।