हाल दोस्रो बजारबाट सेयर खरिद गरेको पाँच दिनपछि मात्रै लगानीकर्ताको डिम्याट खातामा आउँछ। डिम्याट खातामा सेयर नआएसम्म त्यो सेयर बिक्री गर्न पाइँदैन।
बजार भने सार्वजनिक बिदाबाहेक एक सातामा ५ दिन मात्रै खुल्छ। त्यसकारण अहिले सेयर किनेको एक सातापछि मात्रै बिक्री गर्न पाउने अवस्था छ।
त्यो खाली रहेको पाँच दिनको अवधिमा बजार धेरै उथलपुथल हुन सक्छ।
लामो अवधिका लागि लगानी गर्ने लगानीकर्तालाई यसले त्यति धेरै असर नपार्ला। तर कारोबार गरिरहने वा उतारचढावबाट फाइदा लिन चाहनेलाई उपयुक्त अवसर छैन। उतारचढावका बेला थप हानी हुनबाट बच्न चाहनेलाई पनि सुविधा कम छ।
एक दिनभित्रै सेयर किन्ने/बेच्ने र त्यसको उतारचढावबाट फाइदा लिन चाहनेलाई व्यवस्था गर्नेबारे नेप्सेले अध्ययन गरिरहेको छ।
एक दिनभित्रै सस्तो मूल्यमा सेयर किन्ने र महँगोमा बिक्री गर्ने अथवा महँगोमा बिक्री गरेपश्चात सस्तोमा खरिद गरेर आफ्नो दायित्व पूरा गर्ने उद्देश्य लिएकालाई यस्तो व्यवस्थाले फाइदा हुनेछ।
यसलाई उदाहरणका रूपमा हेरौं, बजारमा कारोबार हुँदै गर्दा १२ बजे ए कम्पनीको मूल्य ४५० रुपैयाँ छ, त्यतिबेलै एक कारोबारीले १ हजार कित्ता खरिद गर्छ।
२ बजे प्रतिकित्ता ४५५ रुपैयाँ पुग्दा उसले बेच्यो भने ५ हजार रुपैयाँ नाफा लिन्छ। तर २ बजे मूल्य ४४५ रुपैयाँमा झरेमा उसले ५ हजार रुपैयाँ नै नोक्सान ब्यहोर्छ। उसले अर्को दिन सेयर बेच्छु भन्न पाउँदैन। एकै दिनको समयमा कारोबार सम्पन्न हुनुपर्छ।
एकैदिनको बजार उतारचढावमा नाफा लिन खोज्नेका लागि यो व्यवस्था फलदायी हुन सक्नेछ। त्यतिमात्रै होइन, आफूसँग हुँदै नभएको सेयर पनि सापटी लिएर बेच्न पाइने र पछि सापटीका रूपमा सेयर नै तिर्ने व्यवस्था गर्न सकिने/नसकिनेबारे समेत अहिले अध्ययन भइरहेको छ।
‘अहिले हामीले यसबारे विभिन्न देशहरूको स्थिति बुझेर अध्ययन गरिरहेका छौं,’ नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने।
सेयर सापटी दिन चाहने र लिन चाहनेले आफ्नो अर्डर पोष्ट गर्छन् र सो अर्डर कार्यान्वयनमा आएपछि सापटी लिनेले बेच्न पाउँछन्।
‘सेयर सापटी दिनेले निश्चित ब्याजदर वा रकम प्रतिफलका रूपमा पाउने व्यवस्था कतिपय मुलुकमा छ’ पराजुलीले सेतोपाटीसँग भने।
सापटी लिँदा नै निश्चित अवधि तोकिएको हुन्छ। सो अवधि परिपक्व भएपछि सेयर फिर्ता गर्नुपर्ने हुन्छ। सामान्यतः पछि सेयरको मूल्य सस्तो भएका बेलामा खरिद गरी सापटी तिर्छु भन्नेहरूलाई यो उत्तम विकल्प हो।
भविष्यमा सेयर महँगो भए पनि उसले सापटी लिएको सेयर भुक्तानी गर्नुपर्छ। यसरी सेयर सापटी लिनेले धितो भने राख्नुपर्ने व्यवस्था गर्न सकिन्छ।
कतिपयले लामो अवधिसम्म सेयर नबेच्ने निश्चित गरेर बसेका हुन्छन्, उनीहरूले सेयर सापटी दिएरसमेत लाभ लिन सक्ने छन्।
‘निष्क्रिय रहेको सेयर पनि कारोबारमा आओस् भन्ने यसको उद्देश्य हो’ पराजुलीले भने। लगानीका लागि नभई मूल्य उतारचढावबाट नाफा लिन चाहनेका लागि यो विकल्प उपयुक्त हुन्छ।
कम्पनीको लाभांश लिने वा पदाधिकारी बन्ने वा चुन्ने उद्देश्य यस्ता कारोबारीको हुँदैन।