सुरक्षाको लागि सुन, चाँदीजस्ता बहुमूल्य धातु बैंकको लकरमा राख्नुभएको छ? त्यसो हो भने खुसीको खबर छ।
यस्ता बहुमूल्य धातु ‘लकर’मा राखेवापत् अहिलेसम्म पैसा तिरिरहेकाहरूलाई अब बैंकले उल्टै पैसा दिने भएको छ। किनकी सरकारले नगदजस्तै सुन चाँदी बैंकमा राख्दा मूल्य बराबरको ब्याज दिने नयाँ नियम ल्याएको छ।
अर्थमन्त्री युवराज खतिवडाले बुधबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
बैंकमा राखिने सुन र चाँदीको कमोडिटी मार्केटले तय गरेको बजार मूल्यलाई आधार बनाएर सर्वसाधारणलाई निश्चित दरमा ब्याज दिइने छ।
‘कमोडिटी मार्केटको प्रचलित मूल्य हेरेर डेरिभेटिभ क्याल्कुलेसनमार्फत् समायोजन गरी निश्चित दरको ब्याज दिन सकिन्छ,’ राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भने।
बैंकहरूलाई पनि कतिसम्म सुन तथा चाँदी निक्षेप स्वीकार गर्न सक्ने भन्ने सम्बन्धमा सीमा निर्धारण गरिने उनले जानकारी दिए।
‘एउटा बैंकले कतिसम्म सुन वा चाँदी निक्षेप राख्ने, ब्याजदर कतिसम्म दिन सक्ने, राखेको सम्पत्ति सञ्चालन कसरी गर्नेलगायतका विषयमा पछि बन्ने कार्यविधिमा तय हुने हो,’ उनले भने।
अहिले नेपालमा बैंकहरूले नगदलाई मात्रै निक्षेपका रूपमा स्वीकार गर्दै आएका छन्। अब सुनचाँदीजस्ता बहुमूल्य धातु पनि निक्षेपका रूपमा राख्न सकिने व्यवस्था हुँदा बैंकिङ क्षेत्रको विकासले नयाँ फड्को मार्ने उनले दाबी गरे।
यो व्यवस्थाले चोरी हुने लुटिनेजस्ता अपराधिक गतिविधिमा पनि कमी आउने जानकार बताउँछन्।
‘लकर सेवासम्वन्धी जानकारी वा पहुँच नहुँदा धेरैले बहुमूल्य धातु घरमै राख्ने गरेका छन्, जसले चोरी डकैतीका घटना हुने गरेका छन्’ नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले भने ‘निक्षेपका रूपमा सुनचाँदी राख्ने चलन बढेमा अपराधिक घटना न्यूनीकरणमा सघाउ पुग्छ।’
भूकम्प वा अन्य विपत्तिका बेला पनि हराउने डर नहुने उनले बताए।
विश्वका अन्य देशहरुमा पनि यस्तो व्यवस्था रहेको स्मरण गर्दै उनले थपे ‘बैंकमा जुन गुणस्तरको, जति सुन राखिएको छ, त्यसको विस्तृत विवरण उल्लेख गरी बैंकहरुले सर्टिफिकेट दिन्छन्, तोकिएको निश्चित अवधिपछि त्यही गुणस्तर र परिमाणको सुन निक्षेपकर्ताले लिन्छ।’
यसरी राखिएको धातु निक्षेपको ब्याजदर नगदमा जस्तो धेरै नहुने उनले बताए।
‘ब्याज १-२ प्रतिशत मात्रै हो, धेरै हुँदैन, शुल्क नतिरी सुरक्षित रूपमा राख्न पाउनुलाई नै ठूलो उपलब्धी मान्नुपर्छ,’ उनले भने।
अर्कोतर्फ यो व्यवस्थाले सुनचाँदीजस्ता धातुको भविष्यमा हुन सक्ने मूल्यवृद्धिको चिन्ता पनि नरहने उनले बताए।
‘छोराछोरीको बिहे गर्नु पर्नेछ, दुई वर्षपछि महँगिएला भन्ने लागेमा अहिले तोलाको ६० हजार रहेको सुन खरिद गरेर निक्षेपका रूपमा सुरक्षित गर्न सकिने भयो,’ उनले उदाहरण सुनाए, ‘२ वर्षपछि तोलाको ६५ हजार पुगे पनि चिन्ता रहेन, अहिले किनेकै सुन बैंकबाट निकाल्ने हो।’
निक्षेपका रूपमा सुनचाँदी बैंकले जम्मा गरेपछि आवश्यक परेका बेला व्यवसायीले समेत सापटीका रूपमा लिन सक्नेगरी व्यवस्था गर्न सकिने उनले बताए।
‘यदी बैंकले २ प्रतिशत ब्याज दिनेगरी सर्वसाधारणबाट लिएको सुन हामीलाई निश्चित अवधिसम्म सापटी दिई ४ वा ५ प्रतिशतसम्म लिन सक्ने भए, बैंकको व्यवसाय पनि बढ्ने भो,’ उनले भने।
यद्यपी कार्यविधि बनेपछि बैंकले लिएको सुनचाँदी परिचालनका सम्बन्धमा स्पष्ट हुने उनको भनाइ छ। यो व्यवस्थाले सुनचाँदीको बजार विकासमा समेत टेवा पुग्ने व्यवसायी बताउँछन्।