व्यवस्थापन पक्ष र नाफामा समेत अब्बल देखिँदै आएको इन्भेष्टमेन्ट बैंकको ६ महिनामै निश्क्रिय कर्जा १५१ प्रतिशतले बढ्यो।
असोज मसान्तसम्म १. २१ प्रतिशत निश्क्रिय कर्जा रहेको बैंकको चैत मसान्तसम्म आउँदा बढेर ३. ०४ प्रतिशत पुग्यो। निश्क्रिय कर्जामा उच्च वृद्धि देखिँदा अन्ततः बैंकको नाफा नै घट्न पुग्यो, लगानीकर्ता झस्किए।
एक्कासी बैंकको निश्क्रिय कर्जा उच्च देखिँदा, धेरैलाई आश्चर्य लाग्यो। इन्भेष्टमेन्टको मात्रै होइन, अन्य बैंकहरुको पनि निश्क्रिय कर्जा छोटो अवधिमा अत्याधिक बढ्न सक्ने जोखिम देखिएको छ।
निश्क्रिय कर्जा कम देखाउन बैंकहरुले आन्तरिक रुपमा गलत अभ्यास गर्दै आएका छन्। यस्तो अभ्यास गर्नै नमिल्ने अवस्था आएपछि मात्रै बैंकहरुको निश्क्रिय कर्जा ह्वात्तै बढ्न सक्ने छ।
ऋणीले लामो अवधिसम्म ऋण नतिर्दा पनि बैंकहरुले व्याज र जरिवाना समेत जोडेर नवीकरण गर्दिने गरेका छन्। नवीकरणका क्रममा व्याज र शुल्क बुझाउनेगरी पुनः ऋण रकम थपिदिने र त्यही रकम लिएर बैंकहरुले अघिल्ला अवधिको व्याज र शुल्क बुझाएको देखाउने गरेका छन्।
यसले अघिल्लो ऋणलाई ‘ग्रिन’ अर्थात हरियो बनाइदिने गरेको छ। धेरैले यसलाई ‘लोन ग्रिनिङ’ भनेर व्याख्या गर्ने गरेका छन्। त्यही कर्जा तथा ब्याजको चक्रिय प्रभाव बढ्दै गएर अन्तिममा पनि उठ्नै नसक्ने अवस्था आएमा बैंकहरुले बाध्य भई निश्क्रिय कर्जामा लैजाने गरेका छन्।
इन्भेष्टमेन्टको हकमा पनि त्यही भएको कतिपयको विश्लेषण छ। लोन ग्रिनिङ झाँगिदै जाँदा यसले जोखिम पनि बढाउँदै लगेको छ।
राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट लोन ग्रिनिङ पहिलेदेखिकै समस्या रहेको औंल्याउँछन्। ‘लोन ग्रिनिङले गर्दा प्रोभिजनवापत छुट्याउनुपर्ने रकम बढ्न पाएन जसले बैंकको नाफा बढी देखिने भयो, त्यसकारण यो अभ्यास बैंकहरुले गर्दै आएका हुन्’ उनले भने।
यसका लागि राष्ट्र बैंक नै प्रविधिमैत्री भएर प्रभावकारी अनुगमन गर्नुपर्नेमा उनी जोड दिन्छन्। राष्ट्र बैंकको क्षमता नै पछिल्लो समय खस्किएको उनको बुझाई छ। ‘पहिले जसरी राष्ट्र बैंकको भूमिका शसक्त मानिन्थ्यो, त्यो म अहिले देख्दनँ’ उनले भने ‘अन्य पक्षमा पनि अनुगमन फितलो हुँदै गएको देखिन्छ।’ लोन ग्रिनिङले जुनसुकै बेला समस्या निम्त्याउन सक्ने भएकाले दक्ष जनशक्ति बढाएर नियमन गर्नुपर्नेमा उनले जोड दिए।
इन्भेष्टमेन्ट बैंकका कारण पछिल्लो समय अन्य बैंकका लगानीकर्ता समेत झस्किएका छन्। ‘कतिपय बैंकहरुको निश्क्रिय कर्जा नगन्ने देखिन्छ, केहीको उतारचढाव उच्च हुने गरेको छ’ विश्लेषक दिलिप मुनकर्मी भन्छन् ‘ऋणभन्दा धितोको मूल्य नै कम हुनेगरी लोन ग्रिनिङ गरेमा त्यसले जोखिम बढ्छ।’
राष्ट्र बैंकले निश्क्रिय कर्जाको सीमा ५ प्रतिशतसम्म निर्धारण गरेको छ। निश्क्रिय कर्जा एकदमै न्यून देखिए पनि पत्याउने अवस्था नरहेको मुनकर्मी बताउँछन्। मुक्तिनाथ विकास बैंकको निश्क्रिय कर्जा जम्मा ०. ०३ प्रतिशत मात्रै छ। त्यस्तै सानिमाको ०. १२ प्रतिशत छ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले समेत बैंकहरुको निश्क्रिय कर्जा लुकाइने गरेको बताउँदै आएको छ। राष्ट्र बैंकका उच्च अधिकारीहरुसँगको छलफलमा आइएमएफले पटक पटक यो विषयलाई उठाउने गरे पनि चासो देखाएको पाइँदैन।
लोन ग्रिनिङको खेल चलिरहँदा, पछिल्लो ६ महिनामा समग्र बैंकहरुको निश्क्रिय कर्जा बढेको छ। असोज मसान्तसम्म २८ बैंकहरुको निश्क्रिय कर्जा १. ४५ प्रतिशत रहेकोमा चैत मसान्तसम्म १. ६६ प्रतिशत पुगेको छ।
अर्थात सो अवधिसम्म बैंकहरुले प्रदान गरेको १९ खर्ब ६० अर्ब ऋणमध्ये ३२ अर्ब ५४ करोड रुपैयाँ निश्क्रिय कर्जाका रुपमा छ। लोन ग्रिनिङको समेत प्रभावकारी व्यवस्थापन गर्न नसक्ने अवस्था आउँदा निश्क्रिय कर्जा बढेको हो कि भन्ने शंका समेत बढाएको छ। एकातर्फ बैंकहरुको कर्जा नै बढ्दै गएको छ। अर्कोतर्फ निश्क्रिय कर्जाको दर बढ्नुले समग्र नउठेको रकम थुप्रिँदै गएको छ।
के हो निश्क्रिय कर्जा ? किन कम देखाउन चाहन्छन् बैंकहरु ?
राष्ट्र बैंकको निर्देशनले भाखा ननाघेको र भाखा नाघेको एक महिनासम्मको ऋणलाई मात्रै असल कर्जाका रुपमा व्याख्या गरेको छ। भाखा नाघेको १ देखि ३ महिनासम्मको ऋणलाई सुक्ष्म निगरानीका रुपमा व्याख्या गरेको छ।
सुक्ष्म निगरानीमा परेपछि नै बैंकहरुले सो कर्जाको ५ प्रतिशत रकम नोक्सानी व्यवस्थावापत छुट्याउनुपर्दछ। निश्क्रिय कर्जामा कमसल, शंकास्पद र खराब कर्जा पर्दछन्।
भाखा नाघेको ३ महिनादेखि ६ महिनासम्म नतिरेको साँवा तथा व्याजलाई कमसल, ६ महिनादेखि १ वर्ष पुगेमा शंकास्पद र १ वर्ष नाघेमा खराब कर्जा भन्ने गरिएको छ। खराव कर्जामा बैंक तथा वित्तीय संस्थाहरुले शत प्रतिशत नोक्सानी व्यवस्थापन गर्नुपर्ने व्यवस्था छ। तसर्थ निश्क्रिय कर्जा जति बढ्न जान्छ, त्यसवापत व्यवस्था गर्नुपर्ने रकम बढ्दा नाफामा ह्रास आउँछ।
निश्क्रिय कर्जाको सूचकले बैंकको व्यवस्थापकीय क्षमतालाई पनि जनाउँछ। अर्थात निश्क्रिय कर्जा कम हुनुले बैंकको व्यवस्थापकीय क्षमता उच्च रहेको जनाउँछ। यो आफैमा राम्रो संकेत हो। त्यसकारण बैंकहरुले निश्क्रिय कर्जा कम देखाउने अभ्यास गरेका हुन्छन्।
कुन बैंकको निश्क्रिय कर्जा कति ?
बैंक | निश्क्रिय कर्जा (चैत ०७५) | निश्क्रिय कर्जा (असोज ०७५) |
सानिमा | 0.12% | 0.08% |
एभरेष्ट | 0.18% | 0.20% |
एसबिआई | 0.19% | 0.20% |
स्टान्डर्ड चार्टड | 0.20% | 0.20% |
एनआइसी एसिया | 0.45% | 0.26% |
माछापुच्छ्रे | 0.48% | 0.50% |
नविल | 0.64% | 0.58% |
ग्लोबल आइएमई | 0.76% | 1.10% |
एनएमबि | 0.79% | 0.76% |
लक्ष्मी | 1.20% | 1.50% |
हिमालयन | 1.31% | 1.46% |
सिद्धार्थ | 1.36% | 1.40% |
सनराइज | 1.37% | 1.10% |
कुमारी | 1.41% | 1.10% |
मेगा | 1.42% | 1.08% |
सेन्चुरी | 1.53% | 0.82% |
सिटिजन्स | 1.58% | 1.20% |
प्राइम | 1.58% | 1.41% |
नेपाल बंगलादेश | 1.86% | 1.55% |
जनता | 1.21% | 1.54% |
बैंक अफ काठडमाण्डु | 2.12% | 1.61% |
प्रभु | 2.42% | 2.50% |
नेपाल | 2.71% | 2.80% |
इन्भेष्टमेन्ट | 3.04% | 1.21% |
एनसिसी | 3.26% | 3.69% |
सिभिल | 3.96% | 3.10% |
कृषि विकास | 4.22% | 3.90% |
राष्ट्रिय वाणिज्य | 4.28% | 3.80% |