बैंकहरुले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा ३० प्रतिशतले बढेको छ।
बढेको नाफाका आधारहरुमाथि पनि विश्लेषण हुन थालेको छ। बैंकहरुले व्यवसाय बढेपछि नाफा स्वतः बढेको बताउँदै आएका छन्। एक वर्षको अवधिमा ४ खर्ब ४६ अर्ब कर्जा बढ्नुले धेरै हदसम्म बैंकहरुले भनेजस्तो व्यवसायले नाफामा उल्लेख्य टेवा पुर्याएको हो।
तर व्यवसाय मात्रै नभई ऋणीलाई व्याजदर बढाएर पनि बैंकहरुले नाफामा सघाउ पुर्याएको देखिन्छ। किनकि औसत आधार व्याजदर नियन्त्रण हुँदा पनि बैंकहरुको औसत स्प्रेड दर बढेको छ।
निक्षेपकर्तालाई दिने औसत व्याज र ऋणीबाट असुल्ने औसत व्याजको अन्तरलाई स्प्रेड दर भनिन्छ। स्प्रेड दर बढ्दा बैंकहरुको खुद व्याजवापतको आम्दानी (नेट इन्ट्रेस्ट इनकम) बढ्न जान्छ। जसले सीधै बैंकको नाफालाई टेवा पुग्ने हो।
‘स्प्रेड दर बढेको रहेछ भने त्यसले पनि नाफामा योगदान त दिन्छ, तर मैले राम्ररी अध्ययन गर्न भ्याएको छैन’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले भने।
२८ वटा वाणिज्य बैंकहरुको पुस मसान्तसम्म औसत स्प्रेड दर ४. २६ प्रतिशत पुगेको छ। गत वर्षको यस अवधिमा यो दर ४. ० प्रतिशत थियो। गत वर्षको यस अवधिमा कतिपय बैंकहरुको स्प्रेड दर ३ प्रतिशत मुनि थियो। तर यस पटक कुनै पनि बैंकको स्प्रेड दर ३. २३ प्रतिशतभन्दा कम छैन।
अझ सरकारको अग्राधिकार सेयर भएको कृषि विकास बैंकले त ५ प्रतिशतको सीमा समेत नघाएको छ। सीमा नाघेको बैंकलाई कारबाही हुने राष्ट्र बैंक सुपरिवेक्षण विभाग प्रमुख महेश्वरलाल श्रेष्ठ बताउँछन्। ‘स्प्रेड दर बढ्नुको कारणबारे हामीले पहिले जवाफ माग्छौँ, अनि कारबाही हुन्छ’ उनले भने।
सीमा नाघ्ने बैंकलाई शाखा विस्तार तथा लाभांश वितरणमा रोक लगाउने, राष्ट्र बैंकले प्रदान गर्ने सहुलियत कर्जा तथा निक्षेप रोक्ने जस्ता कारबाही हुने व्यवस्था छ।
व्याजका कारण निक्षेपमा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै बैंकहरुले दिने व्याजमा अधिकतम सीमा तोकेर भद्र सहमति गर्दै आएका छन्। जसले गर्दा बैंकहरुको आधार व्याजदर भने नियन्त्रणमा रहेको देखिन्छ। गत वर्षको यस अवधिमा ९. ९० रहेको आधार व्याजदर अहिले ९. ८३ प्रतिशतमा छ। आधार व्याजदर घट्नु, स्प्रेड दर बढ्नुले ऋणीमाथि बैंकहरुले व्याजको भार थपेको पुष्टि गर्छ।
बैंकहरुले भने आफ्नो स्प्रेड दर वित्तीय विवरणबाटै हटाउन थालेका छन्। सीमा नाघेको कृषि विकाससहित धेरैजसो बैंकहरुले स्प्रेड दरलाई आफ्नो वित्तीय विवरणमा देखाएका छैनन्।
आधार व्याजदर र स्प्रेड दर ऋण लिनेका लागि अति महत्वपूर्ण सूचक हुन्। यी दर कम भएको बैंकको व्याज स्वतः कम हुन्छ, ऋणीको रोजाईमा पर्छ। तर सूचक लुकाइँदा ऋण लिनेलाई व्याजदरको सूचना नै प्रभावित हुन्छ।
ऋणीलाई व्याजमा राहत दिने उद्देश्यले नेपाल राष्ट्र बैंकले अहिलेको ५ प्रतिशतको स्प्रेड दरलाई आगामी चैत मसान्तसम्म ४. ७५ र असार मसान्तसम्म ४.५० प्रतिशतमा झार्नुपर्ने व्यवस्था गरेको छ। कुनै बैंकको सीमा नाघ्नु, समग्रमा स्प्रेड दर बढ्नुले नियामकको उद्देश्य र भूमिकाप्रति नै प्रश्नचिन्ह खडा भएको छ।
बैंकहरुले किन लुकाए स्प्रेड दर ?
विगत तीन त्रैमासदेखि एनएफआरएस (नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड) ढाँचा अनुसार बैंकहरुले वित्तीय विवरण सार्वजनिक गर्दै आएका छन्। वित्तीय विवरणमा अन्तर्राष्ट्रिय पद्दतीलाई अवलम्वन गर्नुपर्ने आवश्यकता औंल्याउँदै राष्ट्र बैंकले आइएफआरएस (इन्टरनेसनल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड)लाई पछ्याउँदै एनएफआरएस लागू गरेको हो।
यो ढाँचाअनुसार बैंकहरुले स्प्रेड दर विवरणमा राख्नु जरुरी छैन। राख्नुपर्ने बाध्यात्मक अवस्था नभएकाले नराखिएको एक बैंकरले बताए।
राष्ट्र बैंक सुपरिवेक्षण विभाग प्रमुख श्रेष्ठ भने स्प्रेड दर जरुरी सूचक भएकाले यो हुनुपर्ने बताउँछन्। ‘समयसापेक्ष रुपमा एनएफआरएसको फर्म्याट परिमार्जन गर्न सकिन्छ, तपाईले भनिसकेपछि मैले यसबारेमा बुझ्नेछु’ श्रेष्ठले सेतोपाटीसँग भने। स्प्रेड दर जरुरी सूचक भएकाले वित्तीय विवरणमा समेट्नुपर्नेमा उनले जोड दिए।
विश्लेषक दिलिप मुनकर्मी बैंकहरुले सकेसम्म सबै सूचनाहरु वित्तीय विवरणबाट दिनुपर्ने बताउँछन्। एनएफआरएसले स्प्रेड दरलाई विवरणमा अनिवार्य नगरिए पनि बैंकहरुले दायित्व सम्झनुपर्ने उनको भनाई छ।
‘एनएफआरएस अनुसार विवरण सार्वजनिक गर्दा कतिपय बैंकहरुले आरओई र स्प्रेड दर देखाएका छैनन्’ मुनकर्मीले भने ‘स्प्रेड दर ऋणीका लागि र आरओई लगानीकर्ताका लागि अति जरुरी हुन्छ।’
वित्तीय विवरणमा नदेखिए पनि सम्बद्ध बैंकहरुसँग माग गरेर हामीले सबै बैंकहरुको स्प्रेड दर समेटेका छौँ।
कुन बैंकको स्प्रेड दर कति ?
Bank | Spread Rate Push 075 | Spread Rate Push 074 |
Kumari | 3.38% | 2.80% |
Prime | 3.62% | 3.49% |
Nepal Bangladesh | 3.41% | 3.46% |
Citizens | 3.45% | 3.23% |
Century | 3.63% | 3.73% |
Global IME | 3.81% | 4.12% |
Nepal Credit & Commerce | 4.08% | 2.92% |
Siddhartha | 3.99% | 3.80% |
NMB | 3.99% | 3.70% |
Machapuchre | 4.08% | 2.99% |
Laxmi | 4.08% | 2.95% |
Sanima | 4.23% | 4.18% |
Nepal Investment | 4.24% | 4.05% |
Sunrise | 4.31% | 4.20% |
Everest | 4.38% | 4.96% |
NIC | 4.38% | 4.27% |
Nabil | 4.77% | 4.95% |
Prabhu Bank | 4.87% | 4.10% |
Nepal SBI | 4.87% | 4.78% |
Janata | 4.51% | 3.68% |
Nepal Bank | 4.99% | 4.98% |
Mega | 4.48% | 3.29% |
Rastriya Banijya | 4.78% | 4.99% |
Himalayan | 4.14% | 4.51% |
Agricultural Development | 6.59% | 5.83% |
Standard Chartered | 4.84% | 6.90% |
CIVIL | 3.23% | 3.02% |
BoK | 4.16% | 3.86% |