हामीले एक, दुई, २५ र २५० रुपैयाँका नोट नदेखेको वर्षौं भयो। यी नोट कसैको संग्रहमा होलान्, बजारमा चलनचल्ती भने छैन।
राष्ट्र बैंकको तथ्यांकले भने यी दरका २५ करोड ६३ लाख ८९ हजार ९ सय ५० वटा नोट चलनचल्तीमा रहेको देखाउँछ। यो तथ्यांकका आधारमा हिसाब गर्ने हो भने यी नोटको मूल्य ४९ करोड ११ लाख रूपैयाँ हुन आउँछ।
तथ्यांकअनुसार एक रूपैयाँका १६ करोड १० लाख वटा नोट 'सर्कुलर'मा छन्। दुई रूपैयाँका ९ करोड २७ लाख वटा छन्। त्यस्तै, पच्चीसका २२ लाख ९१ हजार वटा र ३ लाख ४९ हजार वटा दुई सय पचासका नोट सर्कुलरमा छन्।
पच्चीस र दुई सय पचास रूपैयाँका नोट स्मारिकाका रूपमा बिक्रम सम्वत् २०५२ मा छपाइएको थियो। पच्चीसको नोट भने केही वर्ष बजारमा चलनचल्तीमा रह्यो। राजा वीरेन्द्रको राज्यारोहणको रजत जयन्ती अवसरमा छपाइएका यी नोट राजतन्त्रताका नै छपाइ बन्द भएको हो।
बैंकको तथ्यांकअनुसार हाल बजारमा कुल ४ खर्ब ८१ अर्ब ८१ करोड रुपैयाँ बराबरका नोट चलनचल्तीमा छन्। यसैभित्रै अचेल देख्न छाडिएका एक, दुई, पच्चीस र दुई सय पचासका नोट बराबरको ४९ करोड रुपैयाँ पनि पर्न आउँछ।
यति धेरै संख्याका नोट कहाँ गए भन्नेमा सम्बन्धित निकाय कसैको चासो देखिँदैन।
‘हाम्रो कुल गार्हस्थ्य उत्पादन झन्डै ३० खर्बको छ। यी नोटको रकम एकदमै न्यून भएकाले अर्थतन्त्रमा त्यति असर पर्दैन,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले भने, ‘यसप्रति चिन्ता गर्नुपर्ने जरुरत भइसकेको छैन।’
हामीले यस विषयमा मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मीप्रपन्न निरौलासँग पनि सोध्यौं।
उनका अनुसार राष्ट्र बैंकले सर्कुलरका लागि पठाएको रकम पुनः फिर्ता नहुन्जेल तथ्यांकले सर्कुलरमै देखाउँछ। अर्थात्, बजारमा पठाएका नोट कारोबार भएर फेरि बैंकमै आइपुग्नुपर्छ। यसरी फर्केर नआउन्जेल राष्ट्र बैंकले ती नोट बजारमै भएको मान्छ।
निरौलाका अनुसार यी नोटको छपाइ बन्द भइसकेकाले अब बजारबाट फर्केर आउने सम्भावना कम छ। सर्वसाधारणले यी नोट मूल्यवान र ऐतिहासिक ठानेर सञ्चित गरेको हुनसक्ने उनले बताए। कतिपय नोट भने सर्कुलरमा रहँदा नै नष्ट भएको हुनसक्ने उनको भनाइ छ।
‘यो नोट चलाएकाहरूले नयाँ पुस्तालाई देखाउन भनेरै धेरैले संग्रह गरेका छन्। कतिपय नोट भुइँचालो वा प्राकृतिक घटना क्रममा नोक्सान पनि भए होलान्,’ उनले भने, ‘नोट दुर्लभ भएपछि चलनचल्तीमा आउन छाड्यो। तर, राष्ट्र बैंकमा फिर्ता नभएकाले तथ्यांकमा देखिइरह्यो।’
यी नोट चलनचल्तीबाट हटाउँदै लैजाने उद्देश्यले नै राष्ट्र बैंकले खिचिसकेपछि पुनः सर्कुलरमा नल्याएको निरौलाले बताए। यस्ता दुर्लभ नोट महँगो दाममा किनबेचसमेत हुने गरेको पाइन्छ।
यीबाहेक पाँच, दस, बीस, पचास, एक सय, पाँच सय र हजारका नोट पनि तथ्यांकमा देखिएअनुरुप चलनचल्तीमा नरहेको हुन सक्ने राष्ट्र बैंकका अधिकारी स्वीकार्छन्।
अहिले राजा वीरेन्द्र वा ज्ञानेन्द्र पालाका नोट चल्तीमा देखिँदैनन्। तथ्यांकमा भने यी नोटसमेत जोडिएको अधिकारी बताउँछन्। चलनचल्तीमा नल्याउने उद्देश्यले राष्ट्र बैंकले ती नोट खिच्ने प्रयास गरे पनि सबै फिर्ता आउन सकेनन्।
प्राकृतिक घटनामा धेरै नोट नष्ट हुने, स्रोत नखुलेको धन 'अन्डरग्राउन्ड' गर्ने जस्ता क्रियाकलापले पनि सर्कुलर भएकोमध्ये धेरै रकम निस्क्रिय हुने अर्थविज्ञहरू बताउँछन्।
निस्क्रिय रकम बढ्नु अर्थतन्त्रका निम्ति राम्रो मानिँदैन। चल्तीमा नआउने तर तथ्यांकमा देखिने रकमले कुल मुद्राको क्षमतामा ह्रास आउने राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट बताउँछन्।
‘तथ्यांकमा देखिने तर चल्तीमा नरहेका नोटले तरलता बढी देखिन्छ। यथार्थमा अर्थतन्त्रमा त्यसअनुरुपको पर्चेजिङ पावर देखिँदैन,’ उनले भने, ‘यसले अर्थतन्त्रमा तत्काल केही असर नदेखिए पनि सम्पूर्ण रकमको प्रभावकारिता जति हुनुपर्ने हो त्यसअनुरुप हुँदैन।’
बाहिरी देशमा कुनै नोट चलनचल्तीबाट हटाउँदा निश्चित अवधिसम्मको सटही सुविधा दिइन्छ। अवधि सकिएपछि बजारमा त्यस्ता नोट भए पनि मूल्य दिइँदैन। ती नोट पूर्ण रूपमा मूल्यहीन घोषणा भइसकेपछि सर्कुलरमा गणना गरिँदैन। नागरिकले संग्रह गरेर राख्न भने सक्छन्।
नेपालमा भने चलनचल्तीमा नभएका, स्मारिका रूपमा निकालिएका नोटसमेत सर्कुलरमा रहेको भनी तथ्यांक जोडिँदै आएको छ। यी नोट औपचारिक रूपमा हटाइएको घोषणा पनि गरिएको छैन। यसले अर्थतन्त्रमा असर नपरेको भनिए पनि सर्कुलरमा रहेको रकमको प्रभावकारिताप्रति बेवास्ता हुँदै आएको प्रस्ट देखिन्छ।