मिहिनेत गर्ने बानी र सिप हुँदाहुँदै पनि पैसाका कारण तपाईंको व्यवसाय गर्ने इच्छा रोकिएको छ? यदि त्यस्तो हो भने तपाईंले सहुलियत व्याजदरमा ऋण पाउनुहुन्छ।
यस्तो ऋणमा सरकारले नै ५ प्रतिशत व्याज तिरिदिने व्यवस्था छ। त्यसकारण तपाईंलाई यो ऋणको व्याजदर न्यूनतम ३.३३ देखि ९ प्रतिशतसम्म पर्छ।
यो व्याजदर कति तिर्ने भन्ने कुरा ऋण लिइने बैंकको आधार व्याजदरले तय गर्छ। आधार व्याजदरमा २ जोडेर आउने योगफलमा सरकारले ५ तिरिदिएपछि बाँकी रकम ऋणीले तिर्ने हो।
राष्ट्रिय वाणिज्य बैंकको आधार व्याजदर अहिले ६.३३ प्रतिशत छ। यो सबभन्दा कम दर हो। यसमा २ प्रतिशत जोडेर सरकारले तिरिदिने ५ प्रतिशतको दर घटाउँदा ऋणीलाई ३.३३ प्रतिशत पर्न आउँछ।
यदि आधार व्याजदर १२ प्रतिशत भएका बैंकबाट लिने हो भने २ जोडेर सरकारले तिरिदिने ५ घटाउँदा ९ प्रतिशत व्याज पर्न आउँछ। राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सहुलियत पूर्ण ऋणलाई सही रुपमा परिचालन गर्न सक्ने हो भने जीवनस्तर नै कायापलट हुने बताउँछन्।
बेरोजगार भई समय बर्वादी गर्नुको साटो स्वदेशमा नै व्यवसाय गर्नेगरी योजना बनाई अन्य प्रक्रिया पुर्याएमा सहजै ऋण दिइने श्रेष्ठले बताए।
कसले के व्यवसाय गर्न पाउँछन् यस्तो ऋण?
विभिन्न उद्यम गर्न यस्तो ऋण पाइन्छ। सरकारले यस्तो ऋणलाई ७ किसिमले वर्गीकरण गरेको छ। ऋणको अधिकतम सीमा ३ लाखदेखि ५ करोडसम्मको छ।
कृषि कामलाई अघि बढाउन जो कोहीले ‘व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा’ लिन पाउँछन्।
परियोजनाको आकारअनुसार अधिकतम सीमा ५ करोडसम्म छ। अन्नबाली, फलफूल, तरकारी, पशुपन्छीपालनका लागि यस्तो ऋण पाइन्छ।
सिँचाई तथा सिँचाई उपकरण किन्न, कृषि औजार वा संयन्त्र विकास, वन तथा चरन विकासका लागि ऋण रकम खर्चिन सकिन्छ।
शिक्षित भइकन पनि बेरोजगार भएका अर्थात कम्तीमा स्नातक तह उतीर्ण गरेका युवाले ‘युवा स्वरोजगार कर्जा’ पाउँछन्। यसको अधिकतम सीमा ७ लाख रुपैयाँ छ।
यस्तो ऋणबाट युवाहरुले कम्प्युटर हार्डवेयर, सफ्टवेयरसम्वन्धी व्यवसाय गर्न सक्छन्। मोबाइल तथा अन्य इलेक्ट्रोनिक्स सामानको व्यवसाय गर्न सक्छन्। साइबर, खाजा पसल, होटल तथा अन्य व्यवसाय संचालन गर्न सक्नेछन्।
वैदेशिक रोजगारीबाट फर्केका युवाले १० लाखसम्मको ऋण पाउँछन्। तर विदेशमा कम्तीमा ६ महिना काम गरेको प्रमाण खुल्ने कागजात हुनुपर्छ। यो ऋणलाई वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा भनेर व्याख्या गरिएको छ। उनीहरुले कृषि, व्यवसायिक तथा सेवामूलक जुनसुकै काम गर्न सक्नेछन्।
त्यस्तै महिलाहरुका लागि ‘महिला उद्यमशीलता कर्जा’ छ। १५ लाख रुपैयाँसम्म लिन पाइने यस्तो कर्जाबाट महिलाले सिलाइ-बुनाई, चिया तथा चमेना गृह, ब्युटीपार्लर, होटल, कृषि काम लगायत आफूले गर्न चाहेको जुनसुकै व्यवसायका लागि ऋण पाउने छन्।
त्यस्तै दलित समुदाय व्यवसायिक कर्जाअन्तर्गत १० लाख रुपैयाँसम्म ऋण पाइन्छ। परम्परागत बाजा बनाउन, सुन, चाँदी, फलाम लगायत भाँडाकुँडा उद्योग तथा व्यवसायमा यो ऋण परिचालन गर्न सकिन्छ। जुत्ता, चप्पल तथा कपडा उद्योग लगायत व्यवसाय गर्नका लागि यस्तो ऋण पाइन्छ।
उच्च तथा प्राविधिक व्यवसायिक शिक्षा लिन ५ लाखसम्मको कर्जा सहुलियत व्याजमा पाइन्छ। स्वास्थ्य, चिकित्सा तथा फार्मेसी सम्वन्धी अध्ययन, कृषि तथा पशु विज्ञानसँग सम्वन्धित अध्ययन गर्न यस्तो ऋण पाइन्छ। सिभिल, इलेक्ट्रिोनिक्स, जियोमेट्रिक, कम्प्युटर सम्वन्धि अध्ययनमा पनि यो ऋण परिचालन गर्न सकिन्छ। यस्तो ऋण सम्बद्ध संस्थाले नै दिइने हो।
धितो के राख्ने?
यो ऋण लिन कुनै थप सम्पत्ति धितो राख्नु पर्दैन। अर्थात जुन आयोजना हो, त्यो आयोजना धितो रहन्छ। यदी बाख्रापालन गर्दै हुनुहुन्छ भने ऋणबाट तपाईंले किनेको बाख्रा, अन्य मेसिन सबै स्वतः धितो हुन्छ। ऋण परिचालन गरी किनिएका अन्य सामानहरु समेत धितो हुनेछ।
तर ऋण एकैपटक नभई किस्ताबन्दीमा पाइन्छ। परियोजनाको बिमा अनिवार्य गरिएको छ। बीमा गराउँदा व्यवसायीले २५ प्रतिशत मात्रै प्रिमियम तिरे हुन्छ। बँकी ७५ प्रतिशत प्रिमियम राष्ट्र बैंकको अनुदान शोधभर्ना खाताबाट बीमा समितिमार्फत सम्वद्ध बीमा कम्पनीलाई हुनेछ।
कसरी कहाँबाट लिने ऋण?
तपाईंलाई पायक पर्ने जुनसुकै वाणिज्य बैंकहरुको शाखाबाट यो ऋण पाइन्छ। सकेसम्म आधार व्याज कम भएको बैंक छान्नु उपयुक्त हुन्छ।
बैंकको शाखामा गई कर्जा मागको निवेदन दिनुपर्छ। एउटा बैंक खाता खोल्नुपर्छ, बैंकले दिएअनुरुपको ढाँचामा परियोजनाको प्रस्ताव पेश गर्नुपर्नेछ। फर्म दर्ताको प्रमाणपत्र, आन्तरिक राजश्व कार्यालयमा दर्ता भएको प्यान प्रमाणपत्रको प्रतिलिपी, ऋणी र परिवारको नागरिकता प्रमाणपत्रको प्रतिलिपी लगायत आवश्यक कागजात बुझाउनुपर्छ।
प्रक्रिया पुरा भइसकेपछि निश्चित रकमबाट काम थाल्दै जान सकिन्छ। एकै पटक सम्पूर्ण ऋण नपाइने भएकाले परियोजनाको ढाँचाअनुरुप खर्च हुँदै गएपछि थप रकम पाइँदै गर्छ।