राष्ट्र बैंक र सरकारले लिएको नेपाल स्टक एक्स्चेन्जको स्वामित्व बिक्रीका लागि ‘डिडिए’ (विस्तृत लेखा परीक्षण प्रतिवेदन) तयार भएको छ।
तयार भएको डिडिए नेप्सेले केही दिनमै अर्थमन्त्रालय र राष्ट्र बैंकलाई पठाउने छ। नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले केही दिनमै बस्ने संचालन समितिको बैठकमार्फत डिडिए पठाउने निर्णय हुने जानकारी दिए।
डिडिएकै आधारमा नेप्सेको सेयर मूल्य तय हुनेछ। डिडिएमा नेप्सेको पछिल्लो सम्पत्ति तथा दायित्वको विस्तृत मूल्याङ्कन हुने भएकाले त्यसै आधारमा स्वामित्व परिवर्तन हुनेछ।
‘प्रतिस्पर्धात्मक रुपमा बेच्ने अथवा निजी क्षेत्रलाई कुनै सहमतिमार्फत बेच्ने भन्ने कुरा अहिले स्वामित्व भएकाले नै निर्णय गर्ने हो’ उनले भने ‘दुवै पक्षलाई सम्पत्ति तथा दायित्वको विस्तृत प्रतिवेदन जरुरी हुन्छ।’ डिडिएबाट खुद प्रतिसेयर सम्पत्ति मूल्य (नेटवर्थ पर सेयर) निश्चित हुनेछ। त्यही आधारमा सरकार र राष्ट्र बैंकले मूल्य पाउँछन्।
नेपाल राष्ट्र बैंकले नेप्सेको स्वामित्व बिक्रीका लागि प्रक्रिया थाल्न भनेअनुरुप डिडिए तयार गरिएको पराजुलीले बताए। हाल नेप्सेको ३४.६ प्रतिशत स्वामित्व नेपाल राष्ट्र बैंकसँग तथा ५८.६६ प्रतिशत सरकारसँग छ। ६. १२ प्रतिशत राष्ट्रिय वाणिज्य बैंकको तथा ०. ६२ प्रतिशत ब्रोकर संघको छ।
आफ्नो स्वामित्वमा रहेकामध्ये सरकारले राम्रो लाभांश लिइरहेको कम्पनी नेप्से हो। प्रतिसेयर खुद सम्पत्ति मूल्य १५ सयको हाराहारीमा रहेको नेप्सेले जनाएको छ।
नेप्सेले बाँडेको नाफाबाट गत वर्ष सरकारले ८ करोड ७९ लाख तथा राष्ट्र बैंकले ५ करोड १९ लाख लाभांश लिएका थिए। चुक्ता पुँजी ३० करोड मात्रै रहेको कम्पनीले नाफाबाट गत आर्थिक वर्ष त्यसको ५० प्रतिशत अर्थात १५ करोड लाभांश बाँडेको थियो। कम्पनीको वार्षिक नाफा चुक्ता पुँजीभन्दा बढी हुने गरेको छ।
आर्थिक वर्ष २०७३/७४ मा कम्पनीले ४३ करोड खुद नाफा कमाएको थियो। गत आवमा घटेर ३० करोडको हाराहारीमा रहेको प्रवक्ता पराजुलीले बताए।
सरकारले अघि सारेको वित्तीय क्षेत्र विकास रणनीति (२०७७/७८) ले नेप्सेलाई विनिवेश गर्ने उल्लेख गरेको छ। सोही अनुरुप सरकारले स्वामित्व बिक्री गर्ने भएको हो।
त्यस्तै नेपाल राष्ट्र बैंकले लिएको नेप्सेको स्वामित्व ऐनविपरित छ। ऐनअनुसार राष्ट्र बैंकले कुनै पनि संस्थाको १० प्रतिशत बढी सेयर वा ऋण लिन पाउने छैन।
ऐन बन्नुपहिले नै राष्ट्र बैंकसँग नेप्सेको स्वामित्व भएकाले ऐनविपरित देखिएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन्।
निजी क्षेत्र वा विदेशी स्वामित्वका कम्पनीले नेप्से लिइसकेपछि नयाँ नयाँ प्रविधिको विकास हुने र आफूहरुलाई सहजता हुने लगानीकर्ताको विश्वास छ।
सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले निजी क्षेत्रले नेप्सेको स्वामित्व लिँदा धितोपत्र बोर्डका निर्देशनहरु छिटो कार्यान्वयन हुने र अहिलेजस्तो दुवै निकायबीचको टकराव अन्त्य हुने बताउँछन्।
‘अहिले कतिपय काम, कर्तव्य तथा अधिकारहरु दुवै निकायबीच विवाद हुने खालको देखिन्छ, त्यसकारण एउटाले भनेको अर्कोले नटेर्ने अवस्था आएको छ’ उनले भने ‘निजीकरणमा गइसकेपछि त्यस्तो समस्या आउँदैन।’
निजीकरण भएपछि छिटो सहज रुपमा नीतिगत निर्णयहरु कार्यान्वय हुने र नयाँ नयाँ प्रविधिको अवलम्वन हुने उनको दावी छ।