निक्षेप तानातानको प्रतिस्पर्धा चलिरहँदा ११ बैंकले भएको निक्षेप पनि गुमाएका छन्।
तरलताको समस्या देखिरहेका बेला सर्वसाधारण धेरै व्याजदर दिने बैंकमा आकर्षित हुन थालेपछि ११ बैंकले भएको निक्षेप पनि जोगाउन नसकेका हुन्।
साउन र भदौ महिनाको विवरणअनुसार ११ बैंकले कुल ३२ अर्ब १० करोड निक्षेप गुमाएका छन्। गुमाउनेमा सरकारी बैंकहरु सबैभन्दा अगाडि देखिएका छन्।
असारको अन्त्यदेखि भदौको अन्त्यसम्म वाणिज्य बैंकहरुमा ३८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। तर यही अवधिमा नेपाल, राष्ट्रिय वाणिज्य र कृषि विकास बैंकले कुल १८ अर्ब ३४ करोड रुपैयाँ निक्षेप गुमाएका हुन्।
नेपाल बैंकले सबैभन्दा धेरै ६.१७ प्रतिशतले (६ अर्ब १५ करोड) निक्षेप गुमाएको छ। त्यस्तै धेरै निक्षेप गुमाउने दोस्रोमा रहेको राष्ट्रिय वाणिज्य बैंकले ४.९ प्रतिशत (८ अर्ब २९ करोड) तथा कृषि विकास बैंकले ३. ७ प्रतिशत (३ अर्ब ८९ करोड) निक्षेप गुमाएका छन्।
सरकारी बैंकहरुले अस्वच्छ प्रतिस्पर्धा नगर्ने भएकाले पनि निक्षेप सामान्य घटेको देखिएको कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौला बताउँछन्।
‘अरुको जस्तो अस्वच्छ प्रतिस्पर्धा हामीले गर्दैनौं, थपिएको निक्षेपअनुसार नै कर्जा दिन्छौँ’ उनले भने। अर्कोतर्फ सरकारी रकम विभिन्न निर्माण कम्पनीहरुले आर्थिक वर्षको सुरुआतको समयमा झिक्ने भएकाले पनि निक्षेप घटेको उनको भनाइ छ।
‘ठेकेदार कम्पनीलाई दिनुपर्ने सरकारी पैसा आउँदा डिपोजिट धेरै देखिन्छ, आर्थिक वर्षको सुरुआतका समय उनीहरुले झिक्दा घटेको हो’ सिटौलाले भने ‘तर वार्षिक रुपमा हेर्ने हो भने हाम्रो बैंकको निक्षेप घटेको छैन।’
सरकारी बैंकहरुमा मात्रै नभई निजी क्षेत्रका अन्य केही बैंकहरुको निक्षेप समेत घटेको छ। प्राइम कमर्सियल, सिद्धार्थ, एनसिसी, नेपाल बंगलादेश, सिभिल, एनएमबि, लक्ष्मी र प्रभु बैंकको निक्षेप यस अवधिमा घटेको छ।
स्टान्डर्ड चार्टड, एसबिआई तथा एनआइसी एसिया बैंकमा भने उच्च दरले बढेको छ। स्टान्डर्डको निक्षेप १४. ७० प्रतिशत अर्थात ९ अर्ब ९० करोडले बढेको छ।
एसबिआइले १०.५२ तथा एनआइसी एसियाले ९.५७ प्रतिशतले निक्षेप बढाएका छन्। रकमका आधारमा एनआइसी एसियाले सबैभन्दा धेरै १४ अर्ब ४६ करोड निक्षेप थप गरेको छ।
लगानीयोग्य रकमको अभाव भइरहँदा व्याजदरमा हुने अस्वच्छ प्रतिस्पर्धाले निक्षेप मात्रै खोसाखोस हुने भन्दै बैंकर्स संघले बचत तथा मुद्दतीमा दिने व्याजदरको अधिकतम सीमा तोकेको छ। संघले बचतमा ७ तथा मुद्दतीमा १० (व्यक्तिगत) र ९ (संस्थागत) प्रतिशत तोकेको छ।
यद्यपी सरकारीसहित कतिपय बैंक सो सीमासम्म पुगेका छैनन्।
कुन कुन बैंकले कति निक्षेप थपे/गुमाए ?
बैंक | परिवर्तित निक्षेप % | परिवर्तित रकम (दश लाखमा) |
स्टान्डर्ड चार्टड | १४. ७० | ९९०४. ८० |
नेपाल एसबिआइ | १०. ५३ | ८८६०. ५० |
एनआइसी एसिया | ९. ५७ | १४४६८. ०६ |
हिमालयन बैंक | ५. ०३ | ५०२१. ३७ |
सिटिजन्स बैंक | ४. ८५ | २९८३. ७० |
मेगा बैंक | ४. ८२ | ३०३३. ८२ |
सनराइन बैंक | ४. ६२ | ३२०९. ४२ |
एभरेष्ट बैंक | ३. ७५ | ४३०४. ११ |
नेपाल इन्भेष्टमेन्ट | ३. ०६ | ४२८२. ८५ |
सेन्चुरी कमर्सियल | ३. ०३ | १८६०. ०९ |
सानिमा बैंक | ३. ०० | २३७१. ६७ |
माछापुच्छ्रे बैंक | २. ७६ | २००२. ७३ |
ग्लोबल आइएमई | २. २४ | २३८७. ८९ |
नविल बैंक | २. २२ | ३०१८. २७ |
बैंक अफ काठमाण्डु | २. १७ | १६६८. ११ |
कुमारी | १. ०० | ६९७. ९५ |
जनता बैंक | ०. ६२ | ३७५. ३७ |
प्रभु बैंक | –०.१२ | –११९. ०४ |
लक्ष्मी बैंक | –०.७२ | –४८८. ६३ |
एनएमबि बैंक | –१. १९ | –१००८.२४ |
सिभिल बैंक | –१. ६७ | –६६९. २४ |
नेपाल बंगलादेश | –२. ९२ | –१४०१. ०२ |
कृषि विकास | –३. ७१ | –३८९०. ९१ |
सिद्धार्थ बैंक | –३. ८१ | –३८७४. ८९ |
प्राइम कमर्सियल | –४. ६८ | –३८०८. ०९ |
राष्ट्रिय वाणिज्य | –४. ९० | –८२९३. ३९ |
नेपाल बैंक | –६. १७ | –६१५८. १ |
Source: Nepal Bankers Association