दसैँले बैंकहरुमा निक्षेप घटेको छ। असोज १९ गतेसम्म वाणिज्य बैंकहरुमा २५ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा असोज २९ गते २५ खर्ब २३ अर्बमा झरेको छ। १० दिनको अवधिमा १४ अर्ब रुपैयाँ पैसा वाणिज्य बैंकहरुबाट झिकिएको छ।
दसैँका कारण विविध उपभोगका लागि रकम झिकिएको र त्यो रकम पुनः बैंकमा आउन केही दिन लाग्ने भएका कारण निक्षेप घटेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले जानकारी दिए। ‘दसैँले बजारमा पैसा सर्कुलरका लागि गयो, त्यो रकम आइसकेपछि निक्षेपको वृद्धि सकारात्मक हुनेछ’ उनले भने।
निक्षेप घटे पनि बैंकहरुले प्रदान गरेको ऋण भने बढेको छ। असोज १९ गतेसम्म वाणिज्य बैंकहरुले २२ खर्ब २६ अर्ब कर्जा दिएकोमा २९ गतेसम्म २२ खर्ब ४६ अर्ब पुगेको छ। १० दिनको अवधिमा २० अर्बले बैंकहरुको कर्जा बढेको छ।
देशमा आयातित बस्तुको उपभोग उच्च छ। जसले गर्दा खर्च भएको रकमको ठूलो हिस्सा आयातित बस्तुका लागि बाहिरिन्छ। यसले निक्षेपमा झन् असहजता थपिन जान्छ।
आयातित बस्तुका लागि बाहिरिने रकम पछिल्ला महिनामा उल्लेख्य मात्रामा बढेकाले आगामी दिनमा पनि निक्षेप संकलन सहज हुने अवस्था देखिँदैन। जसले व्याजदरमा पनि चाप परिनै रहने छ।
‘हाम्रोजस्तो विकाशोन्मुख राष्ट्रमा कर्जाको माग बढी नै हुने गर्छ, त्यसकारण तत्काल व्याजदर घट्छ भनेर कल्पना गर्नु उपयुक्त हुँदैन’ दाहालले भने। अहिले बैंकहरुमा कर्जाको माग उच्च दरमा बढिरहेको छ। तर निक्षेप सोअनुसार बढ्न नसकेको र पछिल्लो साता घटेका कारण कतिपय बैंक ऋण दिन नसक्ने अवस्थामा पुगेका छन्।
‘अहिलेसम्म त ऋण दिएकै छौँ, यही अवस्था रहेमा केही महिनापछि हामी पनि दिन नसक्ने अवस्थामा पुग्छौँ’ उनले भने ‘कतिपयले त अहिले नै ऋण रोकेका छन्।’
निक्षेप बढ्न नसक्दा केही बैंकहरुको सिसिडी रेसियो ८० प्रतिशत नजिक पुगेको छ। यस्तो रेसियो ८० प्रतिशत नाघ्न नपाउने व्यवस्था छ। जसले गर्दा ति बैंकलाई निक्षेप नबढाएसम्म ऋण रोक्न बाध्य पर्दछ।
तरलताको समस्या देखिएका विगतका केही वर्षलाई हेर्ने हो भने मंसिर/पुस महिनामा झनै अभाव हुने गरेको छ। भित्रिने रेमिट्यान्स दसैँअघि नै आउने र विकास खर्च समेत बढ्न नसक्दा यस्तो अवस्था हुने गरेको बैंकर बताउँछन्। चालु आवको तीन महिनामा ७.२ प्रतिशतको मात्रै पुँजीगत खर्च भएको छ।
अहिलेकै अवस्था रहेमा मंसिर पुस महिनामा बैंकहरुमा लगानीयोग्य रकमको चरम अभाव हुने संकेत देखिएको छ। जसले उद्योग व्यवसायलाई प्रत्येक्ष असर पार्दछ भने लक्षित आर्थिक वृद्धिलाई समेत खुम्च्याउन बल पुग्नेछ।
दाहाल भने आगामी दिनमा स्थानीय तहमा जाने पैसा वाणिज्य बैंकहरुमा आउने र त्यसले केही सहजता दिलाउन सक्ने बताउँछन्। ‘स्थानीय तहका लागि छुट्याएको रकम बैंकहरुमा आउँदा त्यसले केही सहजता हुन सक्छ, अर्कोतर्फ दसैँले बजारमा सर्कुलर भएको रकम पनि बैंकिङ प्रणालीमा आउँछ’ उनले भने।
यद्यपी निक्षेप एकदमै सहज अवस्थामा आउँछ भनेर सोच्नु गलत हुने उनको तर्क छ।